विश्व

पाकिस्तानमा वर्षाजन्य घटनाका कारण एक दिनमा ४५ को मृत्यु, ११३ घाइते

इकागज | भदौ ११, २०७९

इस्लामावाद- पाकिस्तानमा वर्षाजन्य घटनामा परी पछिल्लो एक दिनमा ४५ जनाको मृत्यु भएको छ ।

घटनाका कारण अरु ११३ जना घाइते भएको स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । घाइतेहरूको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

अत्यधिक वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी, पहिरो लगायतका घटना भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ ।  

वर्षाको सबैभन्दा बढी असर सिन्ध प्रान्तमा परेको देखिएको छ । सिन्ध प्रान्तमा मात्रै पछिल्लो एक दिनमा ३३ जनाको मृत्यु भएको छ भने अरु ९८ जना घाइते भएका छन् । पछिल्लो समय पाकिस्तानमा बाढी पहिरोका कारण मृत्यु भएकाहरूको कूल सङ्ख्या नौ सय ८२ पुगेको प्राधिकरणले जनाएको छ । 

पाकिस्तानमा गत मध्य जुनदेखि अत्यधिक बर्सातसँगै बढी पहिरो सुरू भएको हो । यस अवधिमा एक हजार चार सय ५६ जना घाइते भएका छन् । बाढी पहिरोका कारण अरु हजारौँ मानिस विस्थापित र प्रभावित भएका छन् । 

त्यसैगरी छ लाख ८२ हजार एक सय ३९ घर क्षतिग्रस्त भएका छन् भने १४९ पुल भत्किएका छन् । प्राधिकरणका अनुसार १२२ पसल तथा व्यवसायीका प्रतिष्ठानका भवनहरूमा पनि क्षति पुगेको छ । 

लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी पहिरो आएको र मानवीय तथा भौतिक क्षति भएकाले राष्ट्रिय सङ्कट घोषणा गरिएको हो । 

सरकारले बिहीबार राष्ट्रिय सङ्कट घोषणा गर्दै आफ्ना सबै शक्ति तथा कार्यक्रम प्रभावित क्षेत्र र पीडित जनतामा केन्द्रित गरिने जनाएको छ । 

पाकिस्तानमा अहिले अस्वभाविक रुपमा वर्षा भएको र त्यसको असर पनि अस्वभाविक नै रहेको अधिकारीहरूले जनाएका छन् । 

बाढी पहिरोका कारण हजारौँ मानिस घरबारविहीन भएको र उनीहरु मध्ये कतिपय अझै पनि अस्थायी शिविरमै रहेको प्राधिकरणले जनाएको छ । 

बाढी पहिरो गएका ठाउँमा उद्धार तथा राहतका लागि ठूलो मात्रामा जनशक्ति परिचालन गरिएको छ । उनीहरूले घटनास्थलमा दयनीय अवस्था रहेकाले धेरै सहयोग सामग्रीहरूको आवश्यकता रहेको बताएका छन् । सिन्ह्वा

सिरियामा अमेरिकी हमला

इकागज | भदौ ११, २०७९

दमास्कस- अमेरिकाले पूर्वी सिरियामा इरानको इस्लामिक रिभोलुसन गार्ड कोर्प्स (आईआरजीसी)सँग आबद्ध समूहविरुद्ध...

युक्रेनमा आणविक शक्ति युद्धको अस्त्र बन्‍नु हुँदैन : म्याक्रोँ

इकागज | भदौ ११, २०७९

अल्जायर्स- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनमा युद्धको औजारका रूपमा असैनिक आणविक केन्द्रको प्रय...