बेलायतका नयाँ राजाको पहिलो सम्बोधन : जीवनभर सेवामा समर्पित हुने प्रतिबद्धता
लण्डन- बेलायतका नयाँ राजा चार्ल्स तृतीयले राजाको जिम्मेवारी सम्हालेपछि पहिलो सम्बोधन गरेका छन् ।
राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफू पनि आफ्नी आमाले झै आफ्नो जीवन पूरै सेवामा समर्पित गर्ने घोषणा गरेका छन् ।
बेलायतकी महारानी एलिजाबेथ द्वितीयको गत बिहीबार निधन भएपछि उनका जेठा छोरा चार्ल्स तृतीयले राजाको जिम्मेवारी पाएका हुन् । राजाको रूपमा पहिलो सम्बोधन गर्ने क्रममा उनले आफू आफ्नो माताको निधनबाट अत्यन्त दुखी रहेको उल्लेख गरेका छन् ।
उनले आफ्नी आमालाई आफू र आफ्नो परिवारका लागि प्रेरणा र उदाहरणको पात्रका रूपमा चित्रित गर्दै उनको प्रेम, स्नेह, मार्गदर्शन, बुझाइ र उदाहरणका लागि अरू परिवारले आफ्नी आमासँग महसुस गर्ने जस्तै गरी आफू पनि ऋणी रहेको बताए ।
उनले भनेका छन्, 'महारानी एलिजाबेथको जीवन सार्थक रह्यो, उहाँले नियतिका साथ गरेको प्रतिबद्धता पूरा गर्नुभयो र उहाँको निधनमा गहिरो दुःख छ ।'
अहिले आफूहरूसँगै बेलायतका बासिन्दा, उनी राष्ट्रप्रमुख रहेका सबै देशहरू, राष्ट्र मण्डल र विश्वभरका शुभेच्छुकहरू पनि दुखी रहेको राजा चार्ल्सले सबैप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
'मेरी आमाले ७० वर्षभन्दा लामो समयदेखि यति धेरै देशका मानिसको सेवा गरेकोमा हामी उहाँप्रति पनि कृतज्ञता प्रकट गर्न चाहन्छौँ,' उनले भनेका छन् ।
एक शासकका रूपमा महारानी एलिजाबेथ द्वितीयको समर्पण र प्रतिबद्धतामा जीवनभरी कहिल्यै कम नभएको पनि उनले उल्लेख गरेका छन् ।
राजनीतिक तथा पारिवारिक जीवनमा आएका उथलपुथल, खुसी, दुःख, समस्या आदि कुनै पनि बेला उनी विचलित नहुनु भएको राजा चार्ल्सले स्मरण गरेका छन् ।
उनले राजगद्दीको जिम्मेवारी सम्हाले देखिको ७० वर्षको दौरानमा समाज, विविध संस्कृति र विश्वासमा परिवर्तन भएपनि त्यसको सामना गर्नु ठूलो चुनौतीका रूपमा राजा चार्ल्सले उल्लेख गरेका छन् । एएनआई