दल

‘लाल कांग्रेस’ विरुद्ध भरतपुरको जबर्दस्त विद्रोह

बीपीको शालिकमा माल्यार्पण गरी चुनाव प्रचारमा

इकागज |
बैशाख १७, २०७९ शनिबार १६:११ बजे

चितवनका पुराना कांग्रेस नेताहरू (बायाँबाट) ८४ वर्षीय कृष्णलाल सापकोटा, जगन्नाथ पौडेल र भीमबहादुर श्रेष्ठ लगायत

भरतपुर– वाम दलहरूसँग गठबन्धन गरेर स्थानीय निर्वाचनमा होमिएको नेपाली कांग्रेसले स्थानीय नेता तथा कार्यकर्ताको कुरा नसुनी माथिको निर्णय लाद्ने, सभापतिदेखि महामन्त्री सम्मले निर्देशन दिने कम्युनिष्ट शैलीको ‘लाल कांग्रेस’ चरित्र विरुद्ध भरतपुर महानगरबासीले सशक्त विद्रोह गरेका छन् । 

नेपाली कांग्रेसको निर्णय अनुसार वागी तथा विद्रोही उम्मेदवार र तिनका प्रस्ताव र समर्थकको क्रियाशील सदस्यता खोसिएको छ । तर, भरतपुरका कांग्रेसजनले स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको पक्षमा प्रचारप्रसार सुरु गरेका छन् । 


पौडेलको टोलीले भरतपुरमा बीपी कोइरालाको शालिकमा माल्यार्पण गरेर विधिवत चुनाव प्रचार–प्रसार सुरु गरेको छ । निर्वाचन आयोगले आज स्वतन्त्र उम्मेदवार पौडेललाई ‘भुइँकटहर’ चुनाव चिन्ह प्रदान गरेको छ । 

बीपी कोइरालाको शालिकमा माल्यार्पण गर्दै भरतपुर महानगरका मेयरका उम्मेदवार जगन्नाथ पौडेलले कांग्रेस जोगाउन चाहानेहरू विकृतिका विरुद्ध एक भएर नलड्ने हो भने कांग्रेस इतिहासमा सीमित हुने बताए । ‘‘रूखमै मत हाल्न पाउनुपर्छ भन्दा म कारबाहीमा परें, यो प्रवृत्तिविरुद्ध एकजुट भएर लड्नुपर्छ’ उनले भने ।  

चितवन कांग्रेसका पुराना नेता कृष्णलाल सापकोटाले भरतपुर महानगरको मेयरमा सबै कांग्रेसजनले भुँइकटहरमा मतदान गर्ने र अन्य पदमा कांग्रेसका उम्मेदवार भएका ठाउँमा रुख चिन्हमा मतदान गर्ने बताए । ‘यसपालि मेयर पदमा हाम्रो रुख भुइँकटहर परिस्थितिवश हुन पुगेको हो,’ उनले भने, ‘हामीभित्रको कांग्रेस र हाम्रो आस्थाको रुख कसैले खोसेर खोसिदैंन ।’ 

चितवनबासीलाई दश वर्षसम्म रुखमा मतदान गर्न नदिने  निर्णय हामीलाई सह्य छैन । उनले निर्वाचनमा विजय हासिल गर्नेगरी जनउभार देखिएको र अब आफ्ना एजेन्डा सहित निरन्तर घरदैलो कार्यक्रम गर्ने बताए । उनले उम्मेदवार पाएपछि भरतपुरका कांग्रेसजनमा उत्साह थपिएको बताए । 

यो पनि पढ्नुहोस्: 

नेतृत्वले साधारण सदस्यता खोसेका भरतपुरका ‘असाधारण’हरू


Author

थप समाचार
x