समाज

सीप सिकेर स्वदेशमै काम गर्छु भन्‍ने सोच बनाउनुहोला : उपप्रमुख डंगोल

इकागज |
बैशाख २५, २०८१ मंगलबार २१:४७ बजे

काठमाडौँ- सीप सिकेर स्वदेशमा काम गर्छु । नेपालमा रोजगार र स्वरोजगारका धेरै सम्भावना छन् भन्ने सोच विकास गर्न काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, प्रशिक्षार्थीहरूलाई आग्रह गरेकी छन् ।

सीप मेलामा चलेका कक्षाहरूको निरीक्षण गर्ने क्रममा आज उनले प्रशिक्षार्थीहरूसँग अपेक्षासहितको आग्रह गरेकी हुन् । उनले आज बिहान ८ बजे सुरु भएका कक्षा, तालिम सञ्चालन हुने ठाउँ र तालिम व्यवस्थापनको निरीक्षण गरेकी थिइन् । 


त्यस क्रममा उनलाई सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा, रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि कार्यक्रमका फोकल पर्सन शान्ता पहाडी, रोजगार संयोजकहरू देवेन्द्र केसी, अजय पौडेलले तालिमसँग सम्बन्धित व्यवस्थापकीय पक्षमा जानकारी गराएका थिए । 

त्यस क्रममा प्रशिक्षार्थीहरूसँग अन्तरक्रिया गर्दै उपप्रमुखले उनीहरूका अपेक्षाका बारेमा जानकारी लिएकी थिइन् । प्रशिक्षार्थीहरूले सीप विकासका विशिष्ट कक्षाहरूको अवसरको अपेक्षा राखेका थिए । 

सीप मेलामा १० विधाका ३० वटा पेसासँग सम्बन्धित तालिम चलिरहेका छन् । २९ वटा पेसा राखिएकोमा मोबाइल रिपेयरिङको अत्यधिक माग आएपछि यो पेसा थप गरिएको हो । यस्तै टेलरिङ् ( ड्रेस मेकिङ्) मा संख्या धेरै भएपछि कक्षा थप गरिएको छ । 

तालिमहरू ७ दिन, १५ दिन र ३० दिन समयावधिका छन् । रोजगार संयोजक देवेन्द्र केसी भन्छन्, ‘प्रशिक्षक र प्रशिक्षार्थी दुवैलाई समयको पालनामा ध्यान दिन लगाइएको छ । एकै समयमा कक्षा सुरु हुने र एउटै समयमा सकिने भएकोले कसैबाट कसैलाई डिस्टर्व छैन ।’ 

१० वटा विधामध्ये अटो मोबाइल्समा ३ वटा पेसासँग सम्बन्धित तालिम छन् । पहिलो पेसा अटो इलेक्ट्रिक हो । यो १५ दिन अवधिको हो । दोस्रो अटो एअर कन्डिसन हो । यो पनि १५ दिनकै हो । तेस्रो इलेक्ट्रिकल कार रिपेयर (इभी) हो । यसमा ३० दिनको कक्षा हुनेछ । 

निर्माण विधा (दोस्रो) मा डकर्मी (म्यासन), टाइल एण्ड मार्वल फिटर, इलेक्ट्रिसियन र प्लम्बिङ् गरी ४ वटा पेसासँग सम्बन्धित तालिम छन् । यी सबै तालिम ३० दिन अवधिका हुन् । हस्पिटालिटी एण्ड म्यानेजमेन्ट विधा (तेस्रो) मा वारिस्ता, फास्ट फुड एण्ड कुक, वेकरी, वार टेन्डिङ् र वेटर/वेट्रेस तालिम छन् । यीमध्ये फास्ट फुड कुक १५ दिनको हो । अरु ७ दिन अवधिका हुन् । 

सूचना प्रविधि (इन्फरमेसन एण्ड टेक्नोलोजी) विधा (चौथो) मा ४ वटा पेसाका तालिम छन् । डिजिटल मार्केटिङ्, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ्, सीसीटिभी क्यामरा र मोबाइल रिपेयरिङ्का कक्षा चलिरहेका छन् । यीमध्ये सीसीटिभीको कक्षा ७ दिन अवधि र अन्य पेसाका कक्षा १५ दिन चल्नेछन् । 

मेकानिकल विधा (पाँचौँ) मा २ वटा पेसा छन् । वेल्डिङ् पेसाको १५ दिन र  रेफ्रिजेरेटर एण्ड एसी टेक्निसियनको ३० दिन तालिम हुनेछ ।  आर्ट एण्ड कल्चर विधा (छैटौँ) मा आर्ट एण्ड स्कप्चरको तालिम चलेको छ । यसको अवधि १५ दिनको हुनेछ । 

गार्मेन्ट्स विधा (सातौँ) मा टेलरिङ् / ड्रेस मेकर र फेसन डिजाइनिङ् गरी २ वटा पेसासँग सम्बन्धित कक्षा चलेका छन् । यी दुवै १५ दिन अवधिका तालिम हुन् । टेलरिङ् र डेस मेकरमा अत्याधिक माग भएकोले यसलाई हरेक सिफ्टमा २/२ वटा कक्षा चलाइएको छ । 

व्युटिसियन (सौन्दर्य कला) विधा (आठौँ) मा ५ वटा पेसा समेटिएका छन् । यसमा नेल आर्ट, हेयर कट एण्ड स्टायल र सैलुन १५/१५ दिन अवधिका हुन् । मेक अप आर्ट, आइलेस आर्ट ७ दिन अवधिका हुन् । 

डिजाइनिङ् विधा (नवौँ) मा ७ दिन अवधिको स्क्रीन प्रिन्टको कक्षा छ । 

पुरोहित विधा (दशौँ) मा १५ दिन अवधिको पुरोहित र ७ दिन अवधिको ज्योतिष तालिम चलिरहेका छन् । 

तालिमको अन्तिम २ दिन रोजगार मेला हुने र यस दिन रोजगारदाताहरूले सम्बन्धित तालिम प्राप्त व्यक्तिहरू सम्पर्कमा गएर आफ्नो सीपका बारेमा बताउने र धेरै बेरोजगारले रोजगार पाउन सक्ने महानगरले बताएको छ । 

 


Author

थप समाचार
x