कृषि

प्रतिकूल मौसमले दाङमा मह उत्पादन घट्यो

इकागज |
माघ २६, २०७८ बुधबार १६:३९ बजे

फाइल फोटो

देउखुरी : दाङमा यस वर्ष मौरीको मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन् । प्रतिकूल मौसम, शीतलहरका साथै विभिन्न रोगका कारण मह उत्पादनमा कमी आएको बताइएको छ । गत वर्षको तुलनामा यो वर्ष एक सय ६० टन मह उत्पादनमा कमी आएको माहुरी जोन परियोजना दाङले जनाएको छ । परियोजना प्रमुख महेश रेग्मीका अनुसार गत वर्ष जिल्लामा चार सय टन मह उत्पादन भएकोमा यस वर्ष २४० टन मात्र उत्पादन भएको छ । 

घोराही उपमहानगरपालिका –१८ पूर्णचन्द्र भण्डारीले दश घार माहुरीबाट सुरु गरेको व्यवसायमा अहिले ८१ घार भएका छन् । माहुरीलाइ धेरै स्याहार गर्नु नपर्ने भएकाले तीन वर्ष अघिदेखि व्यावसायिक रुपमा माहुरीपालन सुरु गरेको उनले बताए । प्रत्येक सिजनमा रु दुई लाखदेखि तीन लाखसम्मको मह र रु दुई लाख बराबरको माहुरीको गोला बिक्री हुने गरेकोमा यसपाली मह उत्पादनमा कमी आएको उनको भनाइ छ । 


दाङ माहुरीको लागि हावापानी राम्रो छ तर चरनको समस्याले गर्दा सोचेजति उत्पादन हुनसकेको छैन । यसपाली मह उत्पादन घटेको छ । तोरी र चिउरीका फूल माहुरीका लागि मुख्य चरनका रुपमा रहेको छ । यी फूल बाह्रैमहिना उपलब्ध नहँुदा माहुरीलाई चरनका लागि जिल्ला बाहिर चितवन, कपिलबस्तु, कैलाली लैजानुपर्ने बाध्यता रहेको छ । चरणका लागि बाहिरका जिल्लामा लगेको समयमा सोचेजस्तो मह उत्पादन नहुने उनको भनाइ छ । 

“यसवर्ष देउखुरीको टिकुलीगढीमा माहुरी चराउन लगेको छु । तोरी फूलेको छ, चरनका लागि यहाँ ल्याउनु परेको हो”, उनले भने, “गतवर्ष चार पटक मह काटेकोमा यस वर्ष दुई पटक मात्र काटन पाएको छु ।” वर्षा र अत्यधिक चिसोका कारण माहुरी बाहिर निस्कन नसक्ने भएकाले मह उत्पादन कम भएको भण्डारीको भनाइ छ । 

घोराही उपमहानगरपालिका –१८ रझेनाका प्रकाश थापाले दुई वर्ष अघिदेखि माहुरीपालन व्यवसाय सुरु गरेका छन् । अहिले उहाँसंग ३५ घार माहुरी छन् । आधुनिक घारमा व्यवस्थित माहुरीपालन गर्दा मह काट्न सजिलो हुन्छ । “मह र माहुरी बेचेर गतवर्ष रु एक लाख आम्दानी गर्न सफल भएको थिए”, उनले भने, “यसपाली वर्षा र अत्यधिक चिसोले माहुरीलाई पनि असर गरेको छ । फलस्वरुप मह उत्पादन घटेको छ ।” गत वर्ष तीन पटकसम्म मह काटेकोमा यसवर्ष एक पटक मात्र काटेको उनको भनाइ छ । 

चरनको राम्रो व्यवस्था भएको समयमा प्रतिघार २२ किलोग्रामसम्म मह उत्पादन हुने गरेको थापाले बताए । अन्य बालीखेती गरेको तुलनामा माहुरीपालनमा त्यति धेरै मेहनत गर्न नपर्ने, सजिलै आम्दानी हुने र घरखर्च चलाउन सकिने भएकाले यो व्यवसायमा लागेको उनको भनाइ छ । नेपाल माहुरीपालक महासङ्घ दाङका अध्यक्ष विष्णुराज श्रेष्ठले यो वर्ष मह उत्पादन कम भएको बताए ।

मौसमको प्रतिकूलता र जङ्गलमा प्रशस्त मात्रामा माहुरी चरनका लागि फूल नभएकाले मह उत्पादनमा कमी आएको उनको भनाइ छ । यो वर्ष मह उत्पादनमा ४० प्रतिशत कमी आएको छ । एउटा घारबाट १० देखि १२ किलोग्रामसम्म मह उत्पादन हुने गर्दछ । जलवायु परिवर्तन र वनमा प्रशस्त मात्रामा फूल फूल्ने बिरुवा मासिँदा माहुरीपालक किसानलाई असर पुगेको अध्यक्ष श्रेष्ठको भनाइ छ । 

तोरीको मह प्रतिकिलो रु ५०० र चिउरीको मह रु ६५० मा बिक्री हुँदै आएको छ । दाङमा उत्पादन भएको मह अन्य जिल्लामा पनि जाने गरेकामा यसपाली उत्पादनमा कमी आएका कारण बाहिर पनि कम गएको बताइएको छ । माहुरी जोन परियोजना दाङका प्रमुख महेश रेग्मीले  दाङमा मकै र तोरी जोन सफल देखिएपछि माहुरीपालनको सम्भाव्यतालाई अध्ययन गरेर यो कार्यक्रम अगाडि सारिएको बताए ।

उनका अनुसार जिल्लामा ६ हजारभन्दा बढी किसान माहुरीपालनमा लागेका छन् । तोरीमा चरेको माहुरीबाट एक सिजनमा तीन पटकसम्म मह काढ्न सकिन्छ । धेरै वर्षा भएका कारण माहुरीलाई चरनमा समस्या भयो र मह उत्पादनमा कमी आएको उनको भनाइ छ । 


Author

थप समाचार
x