विचार

समुन्‍नत नेपाल

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : किन र केका लागि ?

वीरेन्द्रबहादुर देउजा |
जेठ २२, २०७९ आइतवार ८:१७ बजे

उच्चस्तरीय यातायात पूर्वाधारबाट द्रुततर उच्च आर्थिक विकासका लागि 
देशको अखण्डता र विकासका लागि सम्पूर्ण देश यातायात सञ्जालले जोडिन आवश्यक छ । हालको अवस्थामा देशका सबै जिल्लामा सडक सञ्जाल पुगेको छ र अब सडक तथा विमानस्थलको प्रभाकारिता बढाउन तथा यातायात समय र खर्च उल्लेखनीय रूपमा घटाउन उच्चस्तरका आधुनिक द्रुतमार्ग तथा अन्तर्राष्ट्रिय विमानस्थल पुग्दो मात्रामा बनाउन जरुरी भएको छ । सोको अभावमा विकास सीमान्तीकृत रूपमा मात्र अघि बढ्ने देखिन्छ ।

उच्च आर्थिक वृद्धि हासिल गर्न उच्चस्तरका आधुनिक पूर्वाधारले खेलेको भूमिका विकसित देशहरूमा देख्न र त्यसबाट सिक्न सकिन्छ । बढीभन्दा बढी भारी बोकी उच्च गतिमा ट्रक चल्न सक्ने र लम्बाई छोट्टयाउने द्रुतमार्ग निर्माण तथा सञ्चालनको आवश्यकता नेपाल सरकारले महसुस गरी नेपाली सेनाबाट काठमाडौं–निजगढ दुु्रतमार्ग निर्माण भइरहेको छ । यस द्रुतमार्गले काठमाडौंबाट तराईको यात्रा झण्डै १५० किमि छोट्टयाउँछ र यात्रा समय झण्डै चार घन्टा जोगाउँछ । 


पूर्ण क्षमता भएको अन्तर्राष्ट्रिय विमानस्थलका लागि 
पूर्ण क्षमता भएको अन्तर्राष्ट्रिय विमानस्थल भन्नाले आवश्यकताअनुसार एकभन्दा बढी धावनमार्ग, एकभन्दा बढी टर्मिनल भवन, कार्गो भवन, ठूला ह्यांगर, विमान मर्मत केन्द्र, विमानस्थल होटल, गल्फ कोर्स आदि पूर्वाधार बनाउन सकिने, कुनै अवरोध र सञ्चालन सीमा नभई हवाई सेवा सञ्चालन हुन सक्ने र ट्रान्जिट हबसमेत बन्ने क्षमता भएको विमान स्थल बुझ्नुपर्दछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौगोलिक स्वरूप तथा पूर्वाधार विकासमा सीमा रहेकाले गर्दा यसलाई पूर्ण क्षमता भएको अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास गर्न सकिँदैन । त्रिअविको टर्मिनल, रनवे र एयर स्पेस क्षमता झण्डै उपयोग भइसकेको र अब झण्डै ५ वर्षभन्दा परको खाँचो थेग्न विस्तार गर्न नमिल्ने भएको, एउटाभन्दा बढी रनवे बनाउन नमिल्ने, र नेपालको एयर स्पेसभित्रै हवाई जहाज ओर्लन र उड्न मिल्ने, पूर्व–पश्चिम दिशामा उडान अवतरण गर्न मिल्ने, प्रेसिजन ल्याण्डिङ गर्न मिल्ने, संघीय राजधानी, लुम्बिनी र पोखराको नजिक भई, बढ्दो पर्यटन अनुपातमा विस्तार गर्न सकिने, कार्गो ढुवानी बढाउने, हवाई सुरक्षामा वृद्धि हुने र जग्गा अधिग्रहणबारेका जटिलता कम गर्न सक्ने जस्ता कारणहरूले नेपाल सरकारले पूर्ण क्षमताको भएको अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता देखेको हो । गौतम बुद्ध अ.वि. सञ्चालनमा आइसकेको र पोखरा अ.वि. चाँडै नै सञ्चालनमा आउने भए तापनि यी विमानस्थलहरू पूर्ण क्षमताको विमानस्थल हुने वर्गमा पर्न सक्तैनन् ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल किन ?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यातायातको तलका दुर्घटना तथा समस्या देखापरेका छन् :
- जुलाई १९९२ मा थाई एयरवेज इन्टरनेसनलको एयरबस ३१० विमान अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त ११३ जनाको मृत्यु  । 
- सेप्टेम्बर १९९२ पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको एयरबस ३०० विमान अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त हुँदा १६७ जनाको मृत्यु । 
- जुलाई १९९९ मा लुफ्थान्सा कार्गो विमान उडेको लगत्तै चम्पादेवीको डाँडामा ठोकिई दुर्घटनाग्रस्त भई ५ जना चालकदलका सदस्यको मृत्यु । 
- मार्च २०१५ मा टर्किस एयरलाइन्सको एयरबस ३३० अवतरणको क्रममा दुर्घटनाग्रस्त ।
- उपत्यका र वरिपरिको भौगोलिक स्वरूपका कारण यहाँ वायुयान सञ्चालनका सीमाहरू रहेको ।
- ठूला वायुयान सोझै उड्न नमिल्ने, दक्षिणबाट उत्तरतर्फ उड्न तौलको सीमा र उडान गर्ने जटिल प्रक्रियाले गर्दा क्षमताभन्दा न्यून संख्यामा वायुयान सञ्चालन हुन पर्ने ।
- ठूला जेट विमानहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसक्ने भएकाले हवाई सेवा आर्थिक दृष्टिले फारो (मितव्ययी) हुन नसक्ने ।
- न्यून मात्रामा यान हेर्न सकिने हुँदा उडान गर्ने उपकरणमा आधारित अवतरण प्रणाली (ईन्स्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम, आईएलएस) जडान गर्न नमिल्ने भएकाले प्रतिकूल मौसममा धेरै बेर होल्डिङ गर्नुपर्ने वा अरु इन्टरनेसनल विमानस्थलमा फर्किनुपर्ने । 
- सीमित क्षेत्र भएकाले धावनमार्ग विस्तार, धावनमार्ग थप, टर्मिनल भवन विस्तार तथा थप, एप्रोन विस्तार, वायुयानमर्मत सम्भार कार्यशाला, वायुयान ह्यांगर, विमानस्थल होटल आदि चाहिने पूर्वाधार विकास गर्न नसकिने । 
- उत्तर–दक्षिण धावनमार्ग भएकोले सधैं क्रस विण्ड परेर वायुयान उडान–अवतरणका दृष्टिले आदर्श अवस्था नरहेको ।
- राजधानीको बाक्लो बसोवासवीच रहेको र विमान स्थलको उडान प्रक्रियाको कारणले वायुयान सहरमाथि फन्को लगाई उड्नुपर्ने र विमानस्थल २४ सै घण्टा चलाउँदा राति ध्वनी प्रदूषणको समस्या हुने ।
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा (त्रिअवि) सन् २०१७ मा झण्डै ३९ लाख अन्तर्राष्ट्रिय र २४ लाख आन्तरिक गरी जम्मा ६३ लाख यात्रु आवतजावत गरेका छन् । सन् २००९ देखि २०१८ मा त्रि.अ.वि.मा आन्तरिकतर्फ ११.७५ प्रतिशत अन्तर्राष्ट्रिय तर्फ ९.२ प्रतिशत वार्षिक हवाई यात्रु वृद्धि भएको छ र  अबको १० वर्षमा नेपालमा हवाई यात्रु आउ–जाउ झण्डै १३० लाख र २० वर्षमा झण्डै ३३० लाख यात्रु आउने जाने सम्भावना अनुमान भएकामा कोभिड–१९ जस्ता एक्कासि आएको विश्वव्यापी प्रकोपले गर्दा यी संख्यामा केही समय केही घट्न सक्नेछन् । 

- नेपाल एक भूपरिवेष्ठित मुलुक हो । विश्वसँग सम्पर्कको एक मात्र माध्यम यही हवाई सेवा रहेको छ । कुनै बाधा–बन्देज –रेस्ट्रिक्सन) नरहने र अन्य मुलुक भई ट्रान्जिट भई जानु नपर्ने पूर्ण क्षमताको विमानस्थल एक सार्वभौम मुलुकलाई खट्टै पर्ने आवश्यकता मात्र नभएर यस्तो मुलुकको विशिष्ट चिनारी पनि हो ।  
- विश्वमा हवाई कार्गो ओसारपसार निरन्तर बढिरहेको छ र यसका लागि ४०० टन भन्दा माथिका भीमकाय विमानहरू प्रयोग हुन्छन् । अहिले कार्गो वाहक विमानहरू त्रिभुवन विमानस्थलमा अवतरण गर्न ठूलो भार–वन्देज (लोड रेस्ट्रिक्सन) व्यहोर्नुपर्ने र यसबाट अन्य उडानहरू समेत प्रभावित हुने अवस्था छ । 
नेपाल विश्वमा उच्च पर्यटकीय सम्भावना भएको राष्ट्रमा गनिन्छ । पर्यटन नेपालको सामाजिक आर्थिक विकासको मेरुदण्ड बन्न सक्ने भएकाले दीर्घकालसम्म राष्ट्रको हवाई यातायातको आवश्यकता पूरा गर्न सक्ने विमानस्थल नेपालको आवश्यकता हो ।

निजगढ क्षेत्र नै किन उपयुक्त ?
- निजगढ क्षेत्र काठमाडौंबाट सबैभन्दा नजिकको मध्य तराईको भाग भएको र यो काठमाडौं–तराई दु्रतमार्गबाट जम्मा ७६ किमिको दुरीमा रहेकाले राजधानीबाट एक घण्टा हाराहारीको समयमा पुग्न सक्ने उपयुक्त स्थानमा रहेको ।
- यो स्थान भारततिरको दक्षिणी सीमाबाट २७ किमि र पश्चिमतिर पर्ने सीमाबाट ४५ किमि पर रहेकाले हवाई उडानको दृष्टिले १० नटिकल माइलको नियन्त्रित क्षेत्र (कन्ट्रोल जोन) सम्पूर्णरूपमा नेपाली हवाई क्षेत्रमा पर्ने । 
- वायुयान नेपालको अवरोध नभएको स्थानमा नेपालभित्रै आकाशमा अड्याउन (होल्डिङ) मिल्ने र वायुयान उड्ने र ओर्लने (एस्सेन्टरडिस्सेन्ट) पनि नेपालकै भूभाग भित्रैबाट गर्न मिल्ने भएकाले समेत यो सबभन्दा उपयुक्त रहेको ।
- चुरे डाँडाबाट १५ किमि तथा महाभारत पर्वतबाट ३५ किमि पर रहेकाले विमानस्थलको नजिक कुनै अवरोध नहुँदा उडान सञ्चालनका दृष्टिले सुरक्षित रहेको ।
- पूर्वमा बकाहा खोला र पश्चिममा पसाहा खोलाको बिचमा रहेको विमानस्थल क्षेत्रमा पूर्व र पश्चिमतिर खोलाले आगेटेको ठूलो भूभाग विमान सञ्चालनका दृष्टिले सधैं अवरोध नभएको हुने । 
- विमानस्थल क्षेत्रमा असाध्यै थोरै बस्ती भएकाले यिनको विस्थापन व्यवस्थापनमा गम्भिर समस्या नरहेको । जम्मा १४७९ घरधुरी रहेको उक्त बस्ती वन हेरालुका रूपमा राखिएका सुकुम्बासीको रहेकाले त्यस क्षेत्रमा रहेका सार्वजनिक जग्गामा उनीहरूको पुनर्बास गराउन सकिने स्थानीय नगरपालिकाहरूको आग्रह समेत रहेको ।
- विमानस्थल निर्माण गर्न अत्यन्त न्यूनतम जग्गा अर्थात् ११२ बिगाहा मात्र अधिग्रहण गर्नुपर्नेमा त्यसमध्ये ९० बिगाहा व्यक्तिको भएकाले जग्गा अधिग्रहणको लागत न्यून रहेको ।
- यस विमानस्थलमा निर्माण हुने एउटा धावनमार्गमा हाल त्रिभुवन विमानस्थलमा भन्दा तीन गुना बढी विमान सञ्चालन हुन सक्ने । भविष्यमा आवश्यक परेको खण्डमा थप धावनमार्गहरू, टर्मिनल, कार्गो तथा ह्यांगर आदि आवश्यक पूर्वाधारहरू निर्माण गर्न सकिने हुँदा यसले पूर्ण क्षमतायुक्त ट्रान्जिट विमानस्थलको रूप लिन सक्ने क्षमता राखेको ।
- अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईसीएओ) ले विमानस्थल राष्ट्रिय निकुञ्ज छेउछाउ वा जंगल क्षेत्रमा बनाउन नहुने कुनै मापदण्ड वा मार्गदर्शन नगरेको । 
- वायुयानबाट हुने ध्वनि तथा कार्वन उत्सर्जनलाई न्यूनीकरण गर्न समेत काठमाडौंको वैकल्पिक विमानस्थलको रूपमा निजगढ धेरै आवश्यक भइसकेको ।

वन तथा वातावरण सम्बन्धमा
- नेपाल विश्वका केही भाग्यशाली मुलुकहरूमा पर्ने देश हो जहाँ वन जंगलको मात्रा अपेक्षाकृत धेरै छ । विश्वका विकसित मुलुकहरूले आफ्ना वनक्षेत्रलाई उपयुक्त र चाहिने पूर्वाधार र व्यापारिक प्रयोजनमा उपयोग गरिसकेका छन् । 
- नेपालको कुल भूभागको ४४.७५ प्रतिशत अर्थात् ६४ लाख हेक्टर भूमि वन क्षेत्र रहेको नोभेम्बर २०१७ मा प्रकाशित नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको वन लगानी कार्यक्रममा उल्लेख छ । सोही प्रकाशनले सन् २००० देखि २०१० को बीचमा वनक्षेत्र वार्षिक ०.८ प्रतिशतले बढेको उल्लेख गरेको छ ।
- निजगढ विमानस्थल क्षेत्रले ८ हजार हेक्टर अर्थात् कुल वन क्षेत्रको ०.१२ प्रतिशत क्षेत्र ओगटेको छ । विमानस्थल निर्माण गर्न झण्डै २ हजार हेक्टर अर्थात् कुल वन क्षेत्रको ०.०३ प्रतिशत क्षेत्रको विमानस्थलमा मात्र रुख कटान हुने, बाँकी क्षेत्रले विमानस्थल संरक्षण क्षेत्रको रूपमा कार्य गर्नेछ ।
- जंगलको बीचमा वसेको ६०० हेक्टरमा फैलिएको टाँगिया बस्ती र जंगलको दक्षिणी सिमानामा रही अतिक्रमणमा परेको पातलो जंगल क्षेत्रको बीचमा करिब २००० हेक्टर जग्गा उपयोग गरिने हुँदा यसमा न्यूनतम संख्यामा रुख कटान हुनेछ ।  
- एउटा एयरबस ३३० ले घन्टामा झण्डै १७ टन र एउटा बोइङ ७७७ ले घन्टामा करिब २० टन कार्बन उत्सर्जन गर्ने हुँदा निजगढमा उत्रने प्रत्येक जहाजले ५ मिनेट मात्र समय घटाउँदा झण्डै १५०० केजी कार्बन उत्सर्जन कम हुन्छ । दिनको ३० वटा हवाईजहाज चल्दा दिनभरि झण्डै ४५ टन कार्बन उत्सर्जन घट्न जान्छ । 
हाल आएर प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे उठाइएको भनिएको विवाद कति तथ्य, वास्तविकता, देशको आवश्यकता र मुलुकको निर्णयको स्वतन्त्रतामा आधारित छ भन्ने यथार्थ जवाफदेहितापूर्वक छर्लङ्ग हुनुपर्ने छ नै ।  

{समुन्नत नेपाल गुठी एउटा सार्वजनिक गुठी हो । यस गुठीले क) राष्ट्रिय एकता, सुरक्षा र आत्मनिर्भरता ख) सदाचार स्थापना र भ्रष्टाचार नियन्त्रण ग) साँस्कृतिक तथा प्राकृतिक विविधताको संरक्षण घ) परराष्ट्र सम्बन्ध का क्षेत्रमा अनुसन्धात्मक र विश्लेषण, नीति-निर्माण र कार्यान्वयनमा सहयोग र सल्लाह तथा पैरवी, जागरण र उत्प्रेरणा जस्ता कार्य गर्दछ ।}

प्रतिक्रियाको लागि : [email protected]

 

समुन्‍नत नेपालका यसअघि प्रकाशित लेखहरू 


Author

थप समाचार
x