आमचुनाव २०७९

उम्मेदवार उवाच

भक्तपुर-२ अत्यन्तै भ्रष्टाचार हुने ठाउँ हो

सृजना खड्का |
कात्तिक २९, २०७९ मंगलबार ८:११ बजे

प्रतिनिधि सभाका लागि भक्तपुर–२ मा २६ जनाको उम्मेदवारी छ, यसमध्ये ६ जना महिला छन् । तीमध्येकी एक हुन्, अनुराधा थापा मगर । भक्तपुर सानोठिमीकी थापा मगरले नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को विद्यार्थी संगठनबाट राजनीतिक यात्रा सुरु गरेकी हुन् । उनी ०७० को दोस्रो संविधान सभामा समानुपातिक सभासद् बनेकी थिइन् । मगरले क्षेत्र नम्बर २ बाटै ०७४ को निर्वाचनमा पनि उम्मेदवारी दिएकी थिइन् । त्यसबेला एमालेको तर्फबाट महेश बस्नेत विजयी भएका थिए । यसपटक पुनः बस्नेतसँग प्रतिस्पर्धा गर्न मगर चुनावी मैदानमा उत्रिएकी छिन् । दलहरूको गठबन्धन नै आफ्नो जितको प्रमुख आधार भएको उनी बताउँछिन् । भन्छिन्, ‘यिनीहरूको गठबन्धन केका लागि ? के मिल्छ यिनीहरूको, न विचार, न सिद्धान्त । चुनाव जित्नकै लागि जे पनि गर्ने ? यिनीहरूको यही ठगबन्धन हाम्रोे जित्ने बलियो आधार हो ।’ प्रस्तुत छ, उनै मगरसँग निर्वाचनको तयारीका विषयमा सृजना खड्काले गरेको कुराकानी : 

चुनाव नजिकै आइसक्यो, के–कस्तो तयारी चलिरहेको छ ? 
हामी अहिले भेटघाट, भेला, बैठक र घरदैलोमा व्यस्त छौँ । निर्वाचन आयोगको आचारसंहिताअनुसार हामीसँग प्रचारप्रसारका लागि थोरै समय छ । यसको बाबजुत पनि सबै मतदाताको घरदैलोसम्म पुग्ने प्रयासमा छौँ ।


घरदैलोको दौरानमा आफ्नो क्षेत्रमा के–कस्तो समस्या देख्नुभयो ? उम्मेदवारप्रति मतदाताको अपेक्षा के पाउनुभयो ?
प्रतिनिधि सभाको उम्मेदवारले एउटा क्षेत्र मात्रै होइन, देशकै विषयमा बोल्नुपर्ने हुन्छ । शिक्षा, स्वास्थ्य, बाटो–घाटो, पानी–पधेँरोको देशकै समस्या हुन् । देशघाती सन्धि–सम्झौताहरू जस्तै : एमसीसी, नागरिकता विधेयक, एसपीपी भक्तपुरको मात्रै नभएर देशकै समस्या हुन् । यसका लागि हामी सधैँ संसद्‌मा संघर्ष गर्छौँ । प्रतिनिधि सभामा गएर बनाएको नीतिले एउटा क्षेत्र मात्रै नभएर स्वतः देशकै विकास हुन्छ ।

भक्तपुर–२ अत्यन्तै भ्रष्टाचार हुने ठाउँ हो । यहाँबाट सरकारमा गएका पार्टीहरूले विकासको नाममा सिंहदरबारको ढुकुटी लुट्छन् भन्ने कुरा मतदाताले बुझिसकेका छन् । बाटो, बिजुली, पानी आदिका लागि वैशाखमा त्यत्रो खर्च गरेर स्थानीय चुनाव भयो । यी समस्या समाधानका लागि मेयर वा वडा अध्यक्षलाई समात्ने हो । अहिले उठेका उम्मेदवारको काम त्यो होइन ।

७०–८० लाख युवाहरू विदेशमा छन् । सबैभन्दा पहिला कांग्रेसले युवाहरूलाई विदेश पठाउने नीति ल्यायो । एमालेले युवाहरूलाई सीप सिकाएर विदेश पठाउनुपर्छ भनेर लागिपर्‍यो । युवालाई सीप सिकाएर देशमै रोजगारी दिने नीति कसैले ल्याएन । अहिले गाउँघर सुनसान छ । जमिन बाँझो छ । भारतले चामल नपठाए खान पाइँदैन । ग्यास नपठाए चुलो बल्दैन । यहाँका सबै उद्योग र कलकारखानाहरू ध्वस्त छन् । कति निजीकरण भए, कति भारतलाई बेचिए । भृकुटी कागज कारखाना, बाँसबारी छाला जुत्ता कारखाना, हेटौँडा कपडा उद्योग सबैको अवस्था दयनीय छ ।

पुँजीवादी र शोषक पार्टीहरूको ध्यान मात्र सिंहदरबारको कुर्सीमा छ । भौतिक विकासमै उनीहरू भौतारिइरहेका छन् । बिल्डिङ र बाटोहरू हिजै राणाहरूले बनाइदिएका छन् । जनताको अधिकारलाई बेवास्ता गरेर भौतिक विकासको पछि लाग्नेहरू राजनीतिमा लामो समय टिक्दैनन् । नागरिकता विधेयक र एमसीसीको विरोधमा हाम्रो पार्टीका सांसद प्रेम सुवाल संसद्‌मा एक्लै हुनुहुथ्यो । संसद्‌मा उहाँ एक्लै भएपछि सडकमा हाम्रो शक्ति थियो । 

पार्टीबाट एक जना मात्रै संसद्‌मा पुगेर आवाज उठाउँदा त्यो आवाज कत्तिको सुनिन्छ, त्यसको प्रभाव कत्तिको पर्छ ?
२०७२ सालमा संविधान जारी हुँदै गर्दा ‘यो–यो राख्नू’ भनेर भारतले सात वटा बुँदा पठाएको थियो । हामीले मानेनौँ, उनीहरूले नाकाबन्दी लगाइदिए । त्यो बेला संसद्‌मा नारायणमान बिजुक्छें, प्रेम सुवाल, म र डिल्लीप्रसाद काफ्ले थियौँ । यिनैका चार हात नाकाबन्दीको विरोधमा उठे । भारतले नाकाबन्दी फिर्ता लिनु पर्‍यो । हिजो प्रेम सुवाल एकजना मात्रै संसद्‌मा हुँदा पनि एमसीसीको निरन्तर विरोध भयो । एसपीपी रोकिएको छ । नागरिकता विधेयकमा पनि हामी त्यसरी नै लाग्यौँ । संख्या ठूलो कुरा होइन, विचार र मुद्दा मुख्य हो । संसद्‌ भनेको कानुन निर्माण गर्ने थलो हो । त्यहाँ एकजनाले मात्रै सही विचार दियो भने पनि ठूलो अर्थ लाग्छ । एउटा हात संसद्‌मा हुँदा त देशका लागि यति धेरै काम गर्न सकियो भने अझै धेरै हात हुँदा जनताको आवाज अझै चर्को हुनेछ । 

भक्तपुर–२ वर्गीय, जातीय, पेसागत हिसाबले विविधता भएको क्षेत्र हो । नगरमा जस्तो यहाँ नेमकिपाको खासै प्रभाव पनि छैन । तैपनि, जित्छु नै भन्ने तपाईंको आधार के हो ?
हाम्रो महत्वपूर्ण आधार भनेको देशघाती सन्धि–सम्झौताका लागि हामीले निभाएको भूमिका हो । ०७४ सालमा यसैगरी मत माग्न जाँदा बाटो बनाइदिनुस् भन्ने जनता अहिले संसद्‌ भनेको ‘एमसीसी मुर्दावाद’, ‘नागरिकता विधेयक खारेज गर्’ भन्ने ठाउँ रहेछ भनिरहेका छन् । यो नै हाम्रो बलियो शक्ति हो । भक्तपुर देशभरकै नमुना जिल्ला हो । शासक पार्टीहरूले भक्तपुरले बाहिरी जिल्लालाई हेर्दैन भनेर प्रचार गरिदिएका छन् । किनभने, देशभरि नेमकिपाले जित्यो भने ख्वप विश्वविद्यालय खुल्छ । माफियाहरूले चलाएको मेडिकल कलेज डुब्छ ।

सांसद हुँदा एकपटक मेडिकल कलेजहरूको अनुगमनमा जानुपर्ने भयो । अनुगमन भनेको छड्के तरिकाले जाने हो । तर, त्यहाँ ‘डेट सेल’ हुने रहेछ । उता सेटिङ मिलाउन मिति नै किन्ने रहेछन् । म त छक्क परेँ । अनि यिनीहरूले १५ लाखमा मेडिकल पठाउँछौँ भन्दा हामीलाई दिन्छन् ? अहिले यिनैलाई हार्छु भन्ने डर छ । हिजो प्रचण्ड र बाबुरामको टाउकोको मूल्य तोक्नेले आज गठबन्धन गर्ने ? हिजै मिलेको भए त्यत्रा जनताको ज्यान त जाँदैनथ्यो । यी दुईको गठबन्धन केका लागि ? के मिल्छ यिनीहरूको, न विचार, न सिद्धान्त । चुनाव जित्नकै लागि जे पनि गर्ने ? राजा चाहिन्छ भन्ने राप्रपा गणतन्त्रवादी भनिने एमालेलाई चाहिएको छ । यो कस्तो खालको राजनीति हो ? यिनीहरूको यही ठगबन्धन पनि हाम्रो जित्ने बलियो आधार हो । हामी व्यक्तिको जीवन बचाउन रक्तदान गर्छौँ । देश र जनताको भविष्य बचाउने दान मतदान हो । मतदान भनेको मनदान, बुद्धिदान, विवेकदान पनि हो । 

महिला हुनुको नाताले महिलाका के–कस्ता मुद्दा तपाईंको प्राथमिकतामा छन् ?
नेपालमा महिलाहरू २०१५–०१६ सालदेखि नै मन्त्री भए । सभामुख र राष्ट्रपति भए । तर, ती महिलाहरूले गरिब महिलाहरूको हितमा बोल्छन् ? बोल्दैनन् । कानुन बनाउँछन् ? बनाउँदैनन् । यो महत्वपूर्ण पाटो हो । हाम्रो पार्टीले महिलाहरूको हितका लागि कानुन बनाउनुपर्छ भनेर आवाज उठाइरहेको छ । अहिले महिलाहरूको अवस्था दयनीय छ । हिजो जनयुद्धमा बन्दुक बोकेर हिँड्नेहरू आज घर–घरमा रक्सी पारेर बसिरहेका छन् । त्यही रक्सी खाएर श्रीमान्ले उनीहरूलाई नै कुटिरहेका छन् । राजधानीमा पनि घरका पुरुषले जेमा भोट हाल भन्यो त्यसैमा भोट हाल्न महिलाहरू बाध्य छन् ।

देशभर शिशु स्याहार केन्द्र र बाल उद्यान खोलौँ भनेर हामीले आवाज उठाइरहेका छौँ । यो खोल्दा लाखौँ गृहिणीले रोजगारी पाउँछन् । लाखौँ कामकाजी महिलाले ढुक्कले आफ्ना बच्चालाई त्यहाँ छाडेर जागिरलाई निरन्तरता दिन पाउँछन् । तर, यस्तो मुद्दा उठाउँदा पार्टीको दबाबमा महिला सांसदहरू नै हात उठाउन हिचकिचाउनु हुन्छ । अनि हामीसँग आएर ‘माननीयज्यू तपाईंले उठाएको मुद्दा राम्रो हुँदा हुँदै पनि हात उठाउन सकिएन’ भन्छन् । त्यसरी बाध्य भएर महिलाहरू राजनीति गरिरहेका छन् । हामी आफू अगाडि बढ्ने बाटो आफैँ बन्द गरिरहेका छौँ भने जो महिलालाई भिडाएर ल्याउनुपर्ने छ 
उनीहरूलाई कहाँ हिँडाउने ? 

तपाईंहरूको पार्टी नामैले पनि मजदुर र किसानसँग जोडिएको छ । भक्तपुर प्लटिङले मासिँदै छ, किसान हराउँदैछन् । तरकारी बेच्ने किसान आफैँ महँगोमा तरकारी किनेर खाइरहेका छन्, यस्तो कुराले तपाईंहरूको चित्त दुख्दैन ?
दुख्छ । मेरो घर सानोठिमी हो । पहिला त्यहाँ हराभरा थियो । अहिले त्यहाँको सातपत्रे डाँडा र फ्याउरो पाखा सबै हराए । विकासे माननीयहरूले प्लटिङ बनाएर बाहिरी जिल्लाका आफ्ना भोटरहरू राखिदिन थालेका छन् । हिजो तरकारी फल्ने बारीमा कंक्रिट बन्दा भोलि के खाने भन्ने चिन्ता उहाँहरूलाई छैन । आफ्ना आवश्यकता पूरा गर्न किसानहरू जग्गा बेचिरहेका छन् । ठेकदारहरूले त्यही जग्गालाई सस्तोमा किनेर महँगोमा प्लटिङ गरेर बेचिरहेका छन् । यसले देशलाई परनिर्भर बनाउँछ । खेतीयोग्य जमिन संरक्षण गर्नुपर्छ, स्थानीय बालीलाई संवद्र्धन गर्नुपर्छ र कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याउनुपर्छ भनेर हामी आवाज उठाइरहेका छौँ । 

किसानहरू मध्यरातमा मलको लाइन बस्नुपर्छ । यहाँको किसानको मात्रै के कुरा गर्नु, तराईका किसानको अवस्था पनि उस्तै छ । आफ्नै उखुको मूल्य माग्न माइतीघरको चिसोमा धर्ना बस्नुपर्छ । किसानहरूको जीवनस्तर उकास्न उनीहरूलाई पेन्सनको व्यवस्था गर्नुपर्छ भनेर पनि हामी लागिपरेका छौँ ।


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x