राजनीति

उम्मेदवार उवाच

'जनतालाई विकासको नाममा बाटो, विद्यालय, बिजुली र अस्पताल मात्रै थाहा छ'

अहिलेको अवस्थाप्रति दलका नेताहरू चिन्तित छैनन्

इकागज |
कात्तिक २५, २०७९ शुक्रबार १२:३० बजे

काठमाडौँ- आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यका उम्मेदवार घरदैलोमा छन् । यसपटक धेरै जसो नयाँ अनुहारहरू चुनावी मैदानमा छन् । काठमाडौँका सबै निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरूले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

काठमाडौँ-७ सत्ता गठबन्धनको तर्फबाट मानुषी यमी भट्टराई र  एमालेबाट श्यामकुमार घिमिरेलगायत चुनावी मैदानमा छन् । सोही क्षेत्रमा गठबन्धन र एमाले उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवार किरण  पनि केसी पनि चुनावी मैदानमा छन् । क्रस खुकुरी चिह्न लिएर उनी मतदाताको घरदैलोमा पुगिरिरहेका छन् ।


केसी पेशाले इन्जिनियर हुन् । उनले अष्ट्रेलियामा करिब एक दशक बिताए । अस्ट्रेलियाबाट फर्केर उनी अहिले चुनावी मैदानमा होमिएका छन् । अष्ट्रेलियामा मास्टर्स अध्ययन गरेका उनले आफ्नो कम्पनी सञ्चालन गरेका छन् । जसले उनलाई आर्थिक रुपमा स्वतन्त्र बन्न सहयोग पुर्‍यायो । त्यसपछि उनले विदेशको सुख-सयल छोडेर राजनितमा होमिने निधो गरे ।

विदेश भ्रमणमा नेपाली नेता जाने तर, विकास निर्माणमा देखिएका संरचनाहरू लागू नगर्ने बानीले राजनीतिमा आकर्षण गरेको केसी तर्क गर्छन् । विदेशको नीति नियमले आकर्षित गरे पनि नेपालको व्यवस्थाले उनलाई सधै निराश बनाउथ्यो ।

देखेको विकास र नीति नियम लागू गर्ने हुटहुटी जागेकाले संसदीय निर्वाचनमा भाग लिन इच्छुक रहेको केसीको भनाइ छ ।

नेपालमा युग बुझ्न नसकेका र 'फेजआउट' भैसकेका नेताले शासन गरेको केसी बताउँछन्। ।‘ नेताहरू युवाकालमा क्रान्तिकारी उमेर बित्दै गएपछि लोभी पापी बन्दै गए,’ उनी भन्छन्,’ विचार बोक्न सजिलो भए पनि व्यवहारमा लागू गर्न कठिन छ । विगतमा राजनीति गरे वापत् जेल जानुपर्ने , सम्पति जफत हुने र परिवारले दु:ख पाउने अध्यारो युगसँग आजको नेतृत्व लडेर आए पनि उनीहरूले विगत बिर्ससकेका छन् ।‘

उनले नेपालमा कामदारको न्यूनतम तलब १५ बाट अबदेखि २० हजार पुर्‍याउने एजेण्डा राखेका छन् । मासिक तलब दिने व्यवस्थालाई हटाएर सातामा दिने व्यवस्था लागू गर्नुपर्ने उनको माग छ । विदेशमा बसेका नेपालीलाई स्वदेश फर्काएर ५० प्रतिशत छुट दिँदै व्यवसाय गराउन प्रोत्साहन गर्नुपर्ने उनको एजेण्डा छ। मन्टेश्वरी गार्डेनलाई सरकारी विद्यालयमा गाभ्ने र विद्यालयमा प्राविधिक शिक्षा लागू गर्ने उनका एजेण्डा छन् ।

उपभोग गरिरहेको उन्नत लोकतन्त्र पुराना नेताको योगदान रहेको उनको ठहर छ । ‘विरासत राजनीति काठमाडौँ ७ मा यसपटक देखिएको छ,’ उनले थपे,’ बाबुरामको छोरी भएकैले मानुषी मेरो प्रतिस्पर्धी बनेकी छन् ।‘ विद्यालय व्यवस्थापन, सहकारी, विश्वविद्यालय, अस्पताल, राजनीति, जहाँ-जहाँ समिति बन्छन् त्यहाँ राजनीति हाबी भएको उनले बताए ।

दलका नेतालाई नयाँ र युवाका सोच स्वीकार्न गाह्रो भइरहेको केसीले बताए । निर्वाचित भएर अहिलेका नेतालाई युवा शक्तिको आवाज र नयाँ विचार सुनाउन चाहेको उनले सुनाए । उनीहरूलाई विकासको नाममा बाटो, स्कुल, हस्पिटल र बिजुली मात्रै थाहा भएको दाबी गरे । दलका नेताहरू अहिलेको अवस्थाप्रति चिन्तित छैनन् ।

राजनीतिकर्मीको उद्धमशीलता नभएकाले नेताहरू भ्रष्टाचार गर्न लालायित छन् । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा राजनीतिज्ञहरू भ्रष्टाचारमा मुस्सिएको उनले दाबी गरे । ‘व्यापार, व्यवसाय, उद्योग, उत्पादन नगर्ने नेताले देशको उज्ज्वल भविष्यको कल्पना मात्रै गर्न सक्छ तर त्यसलाई चाहिने वास्तविक योजना बनाउन सक्दैन,’ उत्साहित हुँदै उनले थपे,’ राजनीतिज्ञले योजना नबनाउँदा एउटा उद्यमशीलन युवाहरू निराश भएका छन् । नेपाल पछि परेको सबै नेता पूर्णकालीन राजनीति गर्नाले हो । होला कुनै समय त्यो आवस्यक थियो होला तर अब आवश्यक छैन ।‘

उद्यम नगर्ने नेताहरू भएकाले उनीहरूलाई पाठ सिकाउन राजनीतिमा आउनु परेको २८ वर्षीय केसी दाबी गर्छन् ।  देशको आर्थिक प्रणाली नबुझ्नेले देशलाई सम्मान नगर्ने उनले बताए । नेपालमा राजनीतिज्ञले चन्दा उठाउनुलाई उद्यम मानेको उनको आरोप छ ।

युवालाई अवसरबाट वञ्चित गर्न नहुने उनले बताए । युवामा विश्व हाक्ने क्षमता रहेकाले संसारको जुनसुकै ठाउँमा गएर प्रतिस्पर्धा गर्ने क्षमता राख्‍न सक्ने उनको दाबी छ ।  ज्ञान, सीप, सूचना र प्रविधिले गर्दा युवा पुस्ताहरू अगाडि बढिरहेको उनलाई लागेको छ ।

युवाको जोशलाई नेताहरूले प्रयोग गरिरहेको उनले आरोप लगाए । युवालाई लुकाएर नभइ बाहिर देखाउनु पर्ने उनको ठहर छ ।


Author

थप समाचार
x