सिनेमा

मन्त्री-सांसदले हेरे ‘परदेशी २’

इकागज |
कात्तिक १६, २०८० बिहीबार १२:४० बजे

काठमाडौँ-  तेस्रो हप्तामा प्रदर्शन भइरहेको चलचित्र ‘परदेशी २’को विशेष शो आयोजना गरिएको छ । बुधवार बेलुका बानेश्वरस्थित आईएनआई सिनेमाजमा आयोजित विशेष शोमा मन्त्री, सांसददेखि चलचित्रकर्मी, संगीतकर्मी एवं विभिन्न क्षेत्रका व्यक्तिहरु सहभागी रहे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम, नेकपा एमालेका सांसद ठाकुर गैरेलगायतले हलमा पुगेर २ घण्टा २० मिनेट लामो चलचित्र ध्यानपूर्वक हेरे ।

हलबाट निस्किँदै गर्दा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किराँतीले चलचित्रले मन छोएको बताए । ‘चलचित्र नेपाली समाज र नेपाली संस्कृतिको बेजोड प्रस्तुति भएको अनुभूति गरेँ’ उनले भने । उनले चलचित्र सन्देशमूलक रहेको भन्दै दर्शकलाई पनि हेर्न आग्रह गरे ।

एकीकृत समाजवादीकी नेतृ झाँक्रीले आफूले देखेका कुरालाई नै चलचित्रले उठान गरेकाले आफूलाई छोएको बताइन् । ‘मलाई कथाले एकदमै छोयो । कथावस्तु, प्रस्तुति, अभिनय सबै राम्रो छ’ उनले भनिन् ‘चलचित्रमार्फत धेरै ठूलो सन्देश समेत दिनुभएको छ ।’ उनले चलचित्रको सिंगो टिमलाई बधाई एवं धन्यवाद समेत दिइन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद गौतमले चलचित्र अत्यन्तै राम्रो बनेको भन्दै खुसी लागेको बताइन् । ‘समग्रमा चलचित्र अत्यन्तै राम्रो बनेको रहेछ । यसले नेपाली समाजको विशेष गरी लोक संस्कृतिको पनि राम्रो जागरण गरेको रहेछ । मलाई अत्यन्तै धेरै खुशी लाग्यो’ – गौतमले भनिन् । उनले चलचित्र हेरिरहँदा खुसी खोज्ने चाहानाले विदेसिएका आफ्ना साथीहरुलाई धेरै सम्झिएको समेत बताइन् ।

एमालेका सांसद गैरेले चलचित्रले आमाबुवाको देशप्रतिको आशा के हो ? आफ्नो समाजप्रतिको अपेक्षा के हो ? बुवाआमाप्रति छोराछोरीको दायित्व के हो भन्ने कुरालाई चलचित्रले जिवन्त ढंगले उजागर गरेको बताए । ‘बुवाआमा र सन्तानबीचको माया, विदेशमा बस्नेहरुले कस्तो जिन्दगी भोगिरहेका छन् भन्ने कुरालाई समेत चलचित्रले देखाएको छ’ उनले भने, ‘हाम्रो नेपाली समाज, संस्कृति, मूल्यमान्यतादेखि देश विकासको जनअपेक्षा समेत चलचित्रले व्यक्त गरेको छ ।’

विशेष शोमा निर्देशक नारायण रायमाझी, निर्माता राजेश वंशल, अभिनेत्री केकी अधिकारी लगायत चलचित्रको टिम उपस्थित थिए । निर्देशक रायमाझीले प्राप्त प्रतिक्रियाले एकदमै खुसी लागेको बताए ।

‘चलचित्र समाजको दर्पण हो भनेर हामीले सधैँ भन्ने गरेका छौं । यो हामीले बनाएको भन्दा पनि हाम्रो समाजको यथार्थ कथा हो । सम्पूर्ण टिमको संयुक्त प्रयासले चलचित्र राम्रो भएको हो’ रायमाझीले भने, ‘चलचित्रलाई मन पराउनुहुने सम्पूर्णलाई धन्यवाद भन्न चाहान्छौं ।’  अभिनेत्री अधिकारीले यसपटक आफूलाई दुईवटा दसैँ आएको आभास भएको बताइन् ।

‘एउटा दसैँ त छँदै थियो । परदेशीले अर्को दसैँ पनि थपिदियो’ उनले भनिन् । निर्माता वंशलले दर्शकबाट पाएको माया आफूहरुको लागि सबैभन्दा ठूलो सम्पत्ति भएको बताए । माउथ पब्लिसिटी राम्रो भएका कारण चलचित्र अझै लामो समय जाने विश्वास उनले व्यक्त गरे ।

असोज २६ गतेबाट प्रदर्शनमा आएको चलचित्र शुक्रवारबाट चौथो सातामा प्रवेश गर्दैछ । चलचित्रमा प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, रमा थपलिया, प्रशान्त तामाङ, दिलिप रायमाझीलगायतको अभिनय छ । रमेश बिजीको कथा एवं पटकथा लेखन रहेको चलचित्रले विदेशमा समेत आफ्नो प्रदर्शन आरम्भ गर्दैछ ।



Author

थप समाचार
x