सिनेमा

पूजा र विभूषणको ‘घनटाउके..’ आम्सटर्डम फिल्म फेस्टिभलमा छनोट

सामीप्यराज तिमल्सेना |
कात्तिक ५, २०७७ बुधबार १०:५८ बजे

काठमाडौं : पूजा गुरुङ र विभूषण बस्नेतले संयुक्त रुपमा निर्देशन गरेको फिल्म  ‘घनटाउके, धामी र सामुराई’ (दि बिग हिडेड ब्वाय, सामन्स एन्ड सामुराइज) नेदरल्यान्डको इन्टरनेसनल आम्सटडर्म डकुमेन्ट्री फिल्म फेस्टिभलमा छनोट भएको छ । 

फ्रान्ससँगको सहकार्यमा मिडिया पोर्टले निर्माण गरेको फिल्म ‘सर्ट फिल्म कम्पिटिसिन’विधामा छनोट भएको हो । फेस्टिभल नोभेम्बर १६ देखि सुरु भएर डिसेम्बर ६ सम्म आम्सर्टडममा चल्नेछ । 


३८ मिनेट अवधिको फिल्ममा पूजा र विभूषणले कलाकार खोज्न गरेको यात्रालाई प्रस्तुत गरिएको छ । निर्माता प्रविन टकी कार्कीले पूजा र विभूषणले निर्देशन गर्न लागेको फिचर फिल्म ‘ह्वेल टाइमर्स’काल कलाकार खोज्ने क्रममा अछाम, रुकुम, रोल्पा आदि जिल्लामा गरेको यात्रालाई फिल्मको स्वरुप दिएको जानकारी गराए ।
‘कलाकार खोज्ने क्रममा हामी पश्चिमको केही जिल्ला पुगेर कलाकार खोज्ने काम गरेका थियौं । यो क्रममा भेटिने पात्र र घटनालाई फिल्ममा समावेश गरिएको छ,’ प्रविनले भने । 

‘खोज्दै जाँदा खोजे जस्तै कलाकार पनि पाइन्छ तर गाउँलेले उसलाई धामीले सुटिङका लागि टाढा लैजाने अनुमति दिँदैनन्,’प्रविनले थप प्रस्ट पार्दै भने,‘किनकि गाउँलेहरु त्यो केटा नै आफूहरुको रक्षक रहेको विश्वास छ । 

निर्देशक विभूषण बस्नेतले फिल्ममा डकुमेन्ट्री र फिक्सनको मिश्रण रहेको बताए । ‘हामीले ‘होल टाइमर्स’ पनि लगभग यही शैलीमा खिचिरहेका छौं । त्यसैले यो फिल्म पनि त्यही शैलीमा खिचेका छौं । यसलाई के भन्ने थाहा छैन तर यसलाई डकुमेन्ट्री र फिक्सनको हाइब्रिड भन्दा हुन्छ,’ विभूषणले भने । 

फिल्मलाई सेल्युलाइड फर्माटमा खिचिएको छ । विभूषणले आफूहरुलाई पहिलादेखि नै सेल्युलाइडमा काम गर्ने रहर भएकाले त्यो रहर यो फिल्ममा पूरा गरेको बताए ।
‘हामी फिल्ममा आउँदा डिजिटल युग सुरु भइसकेको थियो । सेल्युलाइडमा कसरी काम हुन्छ अनुभव गर्नै पाएनौं । यही अनुभवका लागि सेल्युलाइड रोजेका हौं,’उनले भने । उनले ‘होल टाइमर्स’ भने मिनी डिभी फम्र्याटमा खिचिरहेको बताए । 

फ्रान्सेली कम्पनी लेस फिल्मस् डु टमबोरले निर्माणमा सघाएको फिल्मलाई चन्द्र खप्तडी र चिन्तन राजभण्डारीले खिचेका हुन् । फिल्ममा लेखन पूजा र विभूषणको रहेको छ ।  फेस्टिभलमा पूजा र विभूषणले  यसअघि ‘डम्बरे डे«न्डाइट’ र ‘दद्या’ बनाएका थिए । नेपालका केही फेस्टिभलमा पुरस्कृत दुवै फिल्म  विश्वका थुप्रै प्रतिष्ठित फिल्म फेस्टिभलमा छानिएका थिए ।  

पूजा र विभूषणले बनाइरहेको पहिलो फिचर फिल्म ‘होल टाइमर्स’ भने कोभिड १९ कारण आधा सुटिङ गरेर रोकिएको छ । जेरुसलेमको इन्टरनेसनल फिल्म ल्याबको सहकार्यमा लेखिएको फिल्म कान्सको सिनेफाउन्डेसन, लोकार्ना ओपन डोर्स, फिल्म बजार आदिमा पनि छनोट भएको थियो । ‘होल टाइमर्स’को स्क्रिप्टले प्रोजेक्ट डेभलपमेन्ट अवार्ड, हुबेर्ट बल्स फन्ड, सिनेमा एमर्जिङ ट्यालेन्ट प्राइज आदि  ग्रान्ट जितेको थियो ।


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x