क्रिकेट

भारतीय टिम बरोडासँग नेपाली राष्ट्रिय क्रिकेट टिम पराजित

इकागज |
चैत २३, २०८० शुक्रबार १७:२९ बजे

काठमाडौँ- भारतीय टिम बरोडासँग नेपाली राष्ट्रिय क्रिकेट टिमले पराजय भोगेको छ ।

भारतको वापीमा जारी एसएमएस फ्रेन्ड्सिप कपअन्तर्गत शुक्रबार भएको खेलमा नेपालले बरोडासँग ३७ रनको पराजय भोगेको हो ।


पराजित भएपनि अघिल्ला तीन खेलमा जित हात पारेको नेपालले भने आइतबार गुजरातविरुद्ध फाइनल खेल्ने छ ।

नेपालले लिग चरणमा गुजरातलाई दुवै खेलमा पराजित गर्दा बरोडासँगको पहिलो खेलमा जित हात पारेको थियो ।

शुक्रबार जितका लागि १ सय ५७ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय १९ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि सन्दीप जोराले ४३ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५६ रन जोडे । ओपनर कुशल भुर्तेल १६ रन तथा विवेक यादवले १७ रन बनाए ।

बरोडाका ध्रुव पटेलले ४ विकेट तथा लक्षित तोक्सियाले ३ विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङ गरेको बरोडाले ८ विकेटको क्षतिमा १५६ रन जोड्यो । बरोडाका लागि शास्वत रावतले ३१ रन, ध्रुव पटेलले २९ रन र अमित पासीले २६ रन बनाए ।

नेपालका लागि करण केसी र गुल्सन झाले समान २-२ तथा आकाश चन्द, ललित राजवंशी र प्रतिश जिसीले १-१ विकेट हात पारे ।


Author

थप समाचार
x