अपराध

लागुऔषधको बढ्दो कारोबार, ६ महिनामा १६ सय पक्राउ

सृजना खड्का |
माघ २०, २०७७ मंगलबार ७:० बजे

काठमाडौँ : पछिल्लो ६ महिनायता लागुऔषध कारोबारमा वृद्धि आएको छ । प्रहरीले ६ महिनामा एक हजार ६ सय हाराहारी लागुऔषधसम्बन्धी अपराधमा संलग्‍नलाई पक्राउ गरेको छ । 

प्रहरी प्रधान कार्यालय नक्सालको तथ्यांकअनुसार साउनदेखि पुससम्म १५ सय ९० जना लागुऔषध कारोबारी पक्राउ परेका छन् । पक्राउ परेकामध्ये १४ सय ८४ पुरुष, ५६ महिला र ५० विदेशी नागरिक रहेका छन् । तीमध्ये अदालतमा एक ११ सय ११ मुद्दा दर्ता भएका छन् । 


प्रहरीको गत चैतदेखि असारसम्मको तंथ्याकअनुसार लागुऔषधसम्बन्धी अपराधमा संलग्न आठ सय ४१ जना पक्राउ परेका थिए । पक्राउ पर्नेमा सात सय ८१ पुरुष, ३३ महिला र २७ विदेशी नागरिक थिए । त्यस अवधिमा अदालतमा पाँच सय १० मुद्दा दर्ता भएका थिए ।

पछिल्लो साउनदेखि पुससम्म प्रदेश-१ बाट तीन सय ३०, प्रदेश-२ बाट चार सय तीन, बाग्मती प्रदेशबाट एक सय १७, गण्डकी प्रदेशबाट एक सय ७९, लुम्बिनी प्रदेशबाट दुई सय ५४, कर्णाली प्रदेशबाट ४७ र सुदुरपश्चिम प्रदेशबाट ९० जना पक्राउ परेका छन् । उपत्यकाबाट यो अवधिमा एक सय २० जना लागुऔषध कारोबारी पक्राउ परेका छन् ।

उनीहरू गाँजा, चरेस, हेरोइन, अफिम र कोकिनको सेवन र ओसारपसारमा संलग्‍न पाएपछि प्रहरीले पक्राउ गरेको हो । उनीहरूबाट दुई हजार सात सय ५३ किलो गाँजा, दुई सय ४९ किलो चरेस, एक किलो हेरोइन र एक सय ९० किलो अफिम बरामद भएको प्रहरीले जानकारी दिएको छ। 

यो अवधिमा प्रदेश-२ बाट सबैभन्दा धेरै अर्थात् १३ सय १३ किलो गाँजा बरामद भएको छ । 
 
सबैभन्दा धेरै चरेस भने भने लुम्बिनी प्रदेशबाट बरामद भएको छ । त्यहाँबाट ९१ किलो चरेस बरामद गरिएको छ । 

त्यस्तै, सबैभन्दा बढी हिरोइन प्रदेश-१ बाट बरामद भएको छ । त्यहाँबाट एक किलो हिरोइन बरामद भएको छ ।

अफिम भने लुम्बिनी प्रदेशबाट सबैभन्दा धेरै बरामद भएको छ । त्यहाँबाट एक सय ३० किलो अफिम बरामद गरिएको छ ।

लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता डीएसपी फणिन्द्र प्रसाईँ केही समयता लागुऔषध प्रयोगकर्ता र कारोबारीको संख्या बढेको बताउँछन् । ‘कोभिडले गर्दा वितगमा लागूऔषध कारोबार कम भएको थियो,’ उनी भन्छन्, ‘तर, हाल लागुऔषध कारोबार र प्रयोगमा वृद्धि आएको छ ।’ लागुऔषध कारोबार कम गर्नका लागि बोर्डर एरियामा अपरेसन बढाएको उनी बताउँछन् ।

कारोबारमा २० देखि ३५ वर्ष उमेरका व्यक्तिहरूको सबैभन्दा बढी संलग्‍नता देखिएको डीएसपी प्रसाईँ बताउँछन् । ‘यसमा एकथरी प्रयोगकर्ता र अर्कोथरी कारोबारी हुन्छन्,’ उनी भन्छन्, ‘प्रयोगकर्ता २० देखि ३५/४० वर्षका रहेका छन् भने कारोबारीको उमेर २५ देखि ४०/४५ वर्षभित्र रहेको छ ।’ 


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x