कूटनीति

नेपाल–चीन संयुक्त सीमा अनुगमन गरिने

इकागज |
साउन ४, २०७९ बुधबार १८:४९ बजे

फाइल फोटो

काठमाडौँ - नेपाल–चीनबीच संयुक्त सीमा अनुगमन हुने भएको छ । दुई देशको सीमा मामिला सम्बन्धका अधिकारीबीच सीमा अनुगमन गर्ने विषयमा सहमति भएको छ । 

सीमा मामिलासम्बन्धी भएको भर्चुअल बैठकले यही जुलाई १४ मा परराष्ट्र मन्त्रालयका उत्तर पूर्वी एसिया महाशाखा प्रमुख र चीनको परराष्ट्र मन्त्रालयको सीमा तथा सामुद्रिक मामिला विभागका प्रमुखको नेतृत्वमा सीमा अनुगमन गर्ने सहमति गरेको हो । लामो समयदेखि नेपाल–चीनबीच संयुक्त सीमा निरीक्षण नभएकाले आपसी परामर्शद्वारा उक्त कार्य अघि बढाउने सहमति भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । 


अनुगमन गर्ने र देखिएका विषयलाई संयुक्तरुपमा प्रतिवेदन तयार हुने उनले जनकारी दिइन् । `अनुगमनका लागि एउटा मोडालिटी तयार गर्न बाँकी नै रहेको र त्यसपछि मात्रै कहाँ जाने, कसरी जाने, कहाँबाट अनुगमन गर्ने, भनेर एकीकृत फ्रेमवर्क तयार भएर जानेछ`, लम्सालले भनिन् ।  

नेपाल र चीनबीच सन् १९६३ मा अन्तिमरुप दिइएको सम्झौतामा हरेक १०–१० वर्षमा सीमा अनुगमन गरी अध्यावधिक गर्ने उल्लेख छ तर नियमित अनुगमन हुन सकेको छैन । परराष्ट्र मन्त्रालयमा आज भएको नियमित पत्रकार भेटघाटका क्रममा प्रवक्ता लम्सालले कोभिड–१९ सङ्क्रमणका महामारीसम्बन्धी आवश्यक स्वास्थ्य मापदण्ड अपनाइ नेपाल–चीन सीमा केरुङ–रसुवागढी नाकालाई व्यापारका लागि दुईतर्फी खुला गर्ने र हिल्सा नाका एकतर्फीरुपमा खुला गर्ने विषयमा पनि सहमति भएको जानकारी दिइन् । 

यस्तै नेपाल र चीनको तिब्बतस्थित स्थापित व्यापार सहजीकरण समितिको १०औँ बैठक जुलाई १८ मा सम्पन्न भएको र उक्त बैठकमा सीमा नाकामा भौतिक पूर्वाधार निर्माण, दुई पक्षीय व्यापारमा सहजीकरण, वैदेशिक लगानी, व्यापार पूर्वाधारको विकास, पारवहन सुविधाका साथै भन्सार प्रक्रियामा सरलीकरण र चिनियाँ सहयोगमा निर्माणाधीन रसुवाको टिमुरे सुक्खा बन्दरगाह यथासक्य छिटो सम्पन्न गर्ने विषयमा पनि छलफल भएको उनले जानकारी दिइन् । 

उनले हालैमात्र मित्रराष्ट्र जनवादी गणतन्त्र चीनबाट चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियानचाओले असार (२६–२९) सम्म नेपालको भ्रमण गरेको र भ्रमणका क्रममा राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायत राजनीतिक दलका नेतृत्वसँग भेटघाट गरेको जानकारी दिइन् । 

उनले श्रीलंकामा पछिल्लो समयमा घटिरहेको घटनाक्रमप्रति दुःख व्यक्त गर्दै अन्य मित्रराष्ट्रका रुपमा रहेको मुलुक अफ्ठेरोस्थितिमा रहेका बेला त्यसप्रति नेपाल संवेदनशील रहेको र त्यसबाट सिकेर सतर्कता अपनाउनुपर्ने आवश्यकतामा जोड दिइन् ।  


Author

थप समाचार
x