कूटनीति

परराष्ट्रको सामान्य अन्तर्क्रिया पाँचतारे होटल र रिसोर्टमै किन ?

विकिपेडीयामा आधारित 'पावर पोइन्ट' होइन अध्ययन-अनुसन्धानमा आधारित चुस्त बहसको खाँचो

इकागज |
भदौ २५, २०७८ शुक्रबार १८:१४ बजे

काठमाडौँ - नेपालको पाँचतारे होटलमा अफागानिस्तानबारे बहस र छलफल गराउने काममा परराष्ट्र मन्त्रालय अन्तरगतको थिंक ट्यांक लागि परेको छ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको अगुवाईमा काठमाडौँको मेरियट होटलमा अफगानिस्तानको इतिहास भनौँ या ‘विकिपेडिया’ प्रस्तुत भइरहेको थियो ।

त्यही होटलबाट केही किलोमिटर पर पार्क भिलेज रिसोर्टमा परराष्ट्र मन्त्रालय अन्तरगतको कन्सुलर विभागले स्थानीय तहसँग सहकार्य गर्ने विषयमा अन्तरक्रिया अघि बढाएका थिए । कोभिड त्रास कम भएसँगै गुम्सेका सरकारी अधिकारीहरु आफ्नै हलमा हुने कार्यक्रम लम्यतन्य पार्दै रिसोर्ट र पाँचतारेमा लैजान लागि परेका हुन् । 


सरकारले मितव्ययी हुनपर्ने भनिरहेको अवस्थामा यसरी सामान्य बहस र छलफलमा पनि पाँचतारे होटल र रिसोर्ट खोजिनुलाई नेपाली उखान 'खान्की भन्दा बान्की ठूलो' भने जस्तो भन्दा पनि फरक नपर्ला ।

त्यही कन्सुलर विभागकै परिसरमा रहेको राहदानी विभागको काम साँच्चै लोभलाग्दो छ । काममा चुस्तता दिन राहदानी विभागले हुलाक सेवा विभागसँग सामान्य छलफलपछि राहदानी बोक्ने जिम्माको सम्झौता गरेको छ । यस्तो होटल धाउने अनावश्यक भाषण ठोक्ने काम गरेर मात्र देखिनेछु भन्ने सोंच राख्नु पपुलिस्ट कार्य बाहेक अरु केही होइन । 

त्यही राहादानी विभागको जत्तिको चुस्तता पनि कन्सुलर विभागमा छैन तर कुरा भने रिसोर्टमा पुगेर दिइएको छ । स्थानीय तहसँग सहकार्य गर्नुछ त त्यसका प्रतिनिधिसँग छलफल गरे पनि हुन्छ । अनि स्पष्टता नभए कुनै विज्ञको राय लिए हुन्छ । यसरी भाषणले त्यसमा सुधार आउँदैन । पाँच तारे र रिसोर्टमा गरिने गफ संस्कृतिलाई कार्यावन्यन संस्कृतिमा लैजान आवश्यक छ । 

पाँचतारेमा आईएफएको अफगान बहस 

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले अफगानिस्तानको अवस्थाबारेमा बहस मेरियटमा गर्नुको के तुक छ । अधिकांश भाषण सञ्चार माध्यममा आएका पुराना विषयमा केन्द्रित थिए । विषय एकातिर गफ अर्कैतिर थियो । ‘अफगानिस्तानमा विकसित घटनाक्रमबाट नेपाल र दक्षिण एसियामा पर्न सक्ने प्रभाव’विषयमा एक दिने कार्यशालामा सबै जसोले अफगानिस्तानको विगत र अमेरिकाको त्यहाँको बसाईको विफलता भन्नेमा लक्षित नै थियो । 

तर तालिबान कुन तवरले आए ? अब कसरी अघि बढ्छन् ? त्यसमा सार्कको वेटिङ अध्यक्ष पाकिस्तानले कुन भूमिका खेल्छ ? जस्ता विषय ओझेलमा थिए । त्यहाँ अमेरिकाको विफलता र अन्य शक्तिको उदयको कुरा गरियो तर के कारणले कसरी विफल भन्ने कुरा आउनै सकेन । अमेरिकाले अफगानिस्तान छोड्नुको कारण मानव अधिकार र लोकतन्त्र नै हो भन्ने विषयसमेत भनियो । 

अनि त्यहाँ भएको यो पछिल्लो कारणले यस क्षेत्रमा पार्ने सुरक्षाको विषय पनि उठाइयो तर त्यसमा पनि सहमत हुने तर्क न प्रस्तुतकर्ताले दिन सके न कमेन्टेटरले नै समाउन सके । त्यसको असर सार्क क्षेत्रमा पर्ने भनियो तर त्यो कुन कारणले कसरी प्रभाव राख्छ भन्नेमा उनीहरुको ध्यान गएन । नेपालमा डरलाग्दो अवस्था हुन सक्नेसमेत भनियो । तर, नेपाल र अफगानिस्तानको अवस्था त्यहाँ भएको त्रिपक्षीय हुँदै चौपक्षीय द्वन्द्वका विषय कुनै कुरा कसैबाट आएको देखिएन ।

रिसोर्टमा कन्सुलर विभागको कार्यक्रम 

मानवताको विषय उठाइयो । नेपालले त्यहाँबाट उद्धार गरेको विषयमा सरकारको प्रशंसा गरियो तर उद्धारमा भएको ढिलाइ र त्यहाँ सरकारले भन्दा पनि त्यहाँ काम गरेको कम्पनीहरुले नै नेपालीलाई फिर्ता पठाउन भएका पहललाई भुले । अन्य मुलुकमा कामदार पठाउने शैली झै सोचेर बोलेको समेत देखियो । त्यहाँको विकासको विषयमा समेत आफ्ना मत राखे तर अधिकांशको मत समाचारमा आएका विषयभन्दा फरक थिएन । 

कतिपयले नेपालको परराष्ट्र सम्बन्धलाई बलियो बनाउने गरी साझा धारणा तय गर्न सरकार र राजनीतिक दलहरुलाई आग्रह गर्न भ्याए । जुन आग्रह संविधान अनुरुप हरेक दलकाे नीति छ कि छैन भनेर हेरे हुनेछ । उनीहरुले राष्ट्रिय सुरक्षाको चिन्ता पनि गरे ।  

उक्त छलफलमा अफगानिस्तानको वर्तमान अवस्था र आगामी दिनमा के होला भन्ने भन्दा पनि यसअघिका घटना राख्ने कार्य प्रध्यापक र कूटनीतिकमा चासो राख्ने व्यक्तिहरुले गरेका थिए । कार्यक्रममा पूर्वराजदूतहरूको उपस्थिती रहेको भए पनि सञ्चार माध्यममा आएका विषय जतिमा पनि बहस त्यहाँ भएको थिएन । रिसर्चमा काम गर्न पर्ने निकायले तारे होटलमा लगेर सरकारी बजेट खर्च गराउने कामलाई परराष्ट्र मन्त्रालयले गम्भीरताका साथ नियाल्न आवश्यक छ ।

मुलुकप्रति चिन्ता गर्नु पर्ने र अधिकतम अनुसन्धान गराउने निकायले यो प्रकारको ज्याम्बोरी जस्तो कार्यक्रम गरेर बजेट सक्नुको कुनै तुक छैन । विषय गत बहस गराउने र रिसर्च गराउने नै हो । यसो समाचार हेरेर विकिपेडिया पढेर पावरपोइन्ट बनाउने कार्यले कूटनीतिक आधार बलियो बनाउन कुनै सहयोग गर्दैन । 


Author

थप समाचार
x