कूटनीति

एमसीसी टेबल:

संसद्मा नाराबाजी, सडकमा लाठी र गोली, सरकारमा छेपारे प्रवृत्ति !

विष्णु विवेक |
फागुन ९, २०७८ सोमबार ०:४६ बजे

ग्राफिक्स : यमन मानन्धर

काठमाडौँ : सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा एउटा भिडियो भाइरल छ । जहाँ एक निर्दोष र साधारण युवामाथि प्रहरीले दर्जनौ लाठी बर्साएको छ । प्रहरीले कुट्दै कुट्दै लगिरहेका ती युवकलाई एक प्रहरी जोगाउन खोजिरहेको पनि दृश्यमा देखिन्छ । तर पनि अरु प्रहरीले पछाडिबाट लाठीले हिर्काउन छाड्दैनन् । मानवअधिकारका सबै शब्दको घाँटी निमोठेर सरकार (प्रहरी)ले एमसीसीको विरोधमा उत्रिएका नागरिकमाथि चरम दमन गरेका फोटो भिडियो सामाजिक सञ्जालमा प्रशस्तै भाइरल भइरहेका छन् ।

सञ्चालकै अर्को फोटोमा केही प्रहरी सुरक्षाका सबै साधन हुँदा पनि टाउको जोगाउन एक पसलभित्र घुस्न संघर्ष गरिरहेका छन् । बाहिरबाट प्रदर्शनकारीले ढुंगामुढा गरिरहदा उनीहरु हार खाएर ज्यान जोगाउन सिसा भएको पसलभित्र छिर्छन । तर व्यापार गरेर गर्जो टार्ने साहुनीको पसलको सिसा भने टुक्रैटुक्रा बन्छन् । प्रहरीलाई हानिएका ढुंगाले पसलका सिसा फुटेका छन् । एमसीसीको विरोधमा चकिएको प्रदर्शनकारी र प्रहरीको झडपले ती साहुनीका सपना टुटेका छन् ।


फोटो : अनुज बज्राचार्य । ग्राफिक्स : यमन मानन्धर ।

आइतबारदेखि यस्ता कैयौँ दृश्य सामाजिक सञ्जालमा भाइरल बनेका छन् । युवाहरुले नयाँ बानेश्वरमा प्रहरीबाट लाठी र रबरको गोली खाएका बेला नेता भने संसद् भवनमा एमसीसीविरुद्ध कोही नाराबाजी गर्दै थिए, कोही टेबल ठोक्दै थिए ।

संसद्मा नेताहरु एउटै मञ्चमा हुँदा सडकमा भने फरक फरक दृश्य मञ्चन भएको पनि देखियो । खासगरी सडकमा कार्यकर्ता उतारेका नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी संसद्मा भने चुपचाप देखिन्थे । जुन एक अनौठो दृश्यका रुपमा चित्रित थियो ।

सम्झौतामा हस्ताक्षर गर्ने र टेबल गर्ने मन्त्री कार्की 

एमसीसीको चर्को विरोध गर्ने सभामुख अग्नि सापकोटा अन्ततः एमसीसी टेबुल गर्न बाध्य भए । तत्कालीन केपी शर्मा ओली सरकारको पालामा त्यतिबेलाकै अर्थमन्त्री युवराज खतिवडाले संसद्मा दर्ता गराएको एमसीसी आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेबल गरेका हुन् ।

माओवादीबाटै अर्थमन्त्री रहेका जनार्दन शर्मा एमसीसी टेबल गर्ने दिन अनुपस्थित रहेपछि अर्थमन्त्रीका तर्फबाट मन्त्री कार्कीले संसदमा एमसीसी टेबल गरेका थिए ।

अर्थमन्त्री शर्माको  अनुपस्थितीले अमेरिकासँग सम्झौता गर्ने मन्त्री कार्की नै संसदमा टेबल गर्ने मन्त्रीका रुपमा दोहोरिए । यो उनका लागि संयोगको विषय हो ।

यसअघि उनी अर्थमन्त्री रहेका बेला अमेरिकासँग एमसीसी सम्झौता भएको थियो । सम्झौतामा उनैले हस्ताक्षर पनि गरेका थिए । अहिले त्यो सम्झौता आफैले टेबल गर्न पाउनु उनका लागि भाग्य र भरोसाको कुरा पनि थियो ।

प्रचण्ड र देव गुरुङले हास्दै कानेखुशी गरेको फोटो 

सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले संसदमा एमसीसी टेबल गर्दा प्रतिपक्षी एमालेले चर्को नाराबाजी गरिरहेको थियो । कांग्रेस टेबल ठोकिरहेको थियो । माओवादी आधा विरोधमा थियो भने आधा समर्थनमा देखिन्थ्यो । यस्तै नेकपा एकिकृत समाजवादी पनि आधा विरोध र आधा समर्थनमा देखियो । मधेसकेन्द्रित दल पनि समर्थनमा देखिए । तर उनीहरु चुपचाप बसे । 

सबैभन्दा रोचक त माओवादीका केही नेताले चर्कोसँग औला ठड्याएर विरोध जनाउँदा अध्यक्ष प्रचण्ड भने मौन रहे । संसद्मा समय लिएर नाराबाजीबीच बोलेका देव गुरुङले एमसीसी सम्झौतादेखि संसद् टेबल गर्ने प्रक्रियाका विषयमा पनि विरोध जनाए । 

तर केही समयपछि उनी र अध्यक्ष प्रचण्डबीच खुशी मुन्द्रामा कानेखुशी गरिरहेको फोटो बाहिरियो । जतिबेला माओवादी निकट युवा, नेता, कार्यकर्ता र एमसीसीको विरोधमा उत्रिएका सर्र्वसाधारण नयाँ बानेश्वरमा प्रहरीबाट निर्मम रुपमा कुटिएका थिए ।

संसद्मा बोल्दा पनि देव गुरुङ आक्रोशित थिए । तर प्रचण्ड मौनतामा रहे । नाराबाजीबीच संंसद्मा एमसीसी टेबल भएपछि प्रचण्ड र देव गुरुङ हाँस्दै कानेखुशी गरेको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ । 

जहाँ उनीहरुलाई सडकमा कार्यकर्ता र निर्दोष सर्वसाधारण उतारेर प्रहरीको लाठी र कुटाई खुवाएर आफू संसद्मा रमाएको भन्दै आरोप लगाइएको छ । एक हदसम्म सदन र सरकारमा एमसीसीको विरोध जनाइरहेको माओवादी पार्टी सडकमा कार्यकर्ता उतारेर ‘छेपारे प्रवृत्ति देखाएर रमिता’ गरिरहेको आरोप लाग्नु अस्वभाविक होइन ।

जो सरकार पनि छाड्न सक्दैन । सदनमा रोक्न पनि सक्दैन । सडकमा आन्दोलन गर्न पनि छाड्दैन । राष्ट्रिय राजनीतिमा सँधै द्धैध चरित्रले चर्चामा आइरहने प्र्रचण्डको यसपटक असली अनुहार प्रष्टसँग देखिएपनि कार्यकर्ता भने भ्रममै आन्दोलन गरिरहेका देखिए । 

सत्ता गठबन्धन बैठकमा पनि अन्तिमसम्म रोक्ने प्रयास सम्भव नभएपछि प्रचण्ड एमसीसी टेबल गर्ने विषयमा देउवासँग झुकेका थिए । जबकी एमसीसी संसद्बाट पारित गर्ने विषयमा उनले देउवासँगै हस्ताक्षर धस्काएर यसअघि नै अमेरिकालाई प्रतिबद्धता पत्र पठाइसकेको विषय बाहिरिसकेको थियो ।

भीम रावल र झलनाथ खनालको विरोध कायमै 

आइतबारको संसद् बैठकमा एमाले नाराबाजीमा उत्रिदा पनि संसद्मा बोली फुटाएको थिएन । तर एमालेको त्यो सन्नाटालाई चिर्दै भीम रावलले आइतबार नाराबाजीका बीच सभामुख अग्नि सापकोटाबाट समय लिएर एमसीसी राष्ट्रघाती सम्झौता भएको टिप्पणी गरे ।

उनले संसद्मा एमसीसी सम्झौता गरेर जबर्जस्ती टेबल गर्नु राष्ट्रघाती भएको, विदेशीको इशारामा देश चलाएको र अमेरिकाको धम्कीका अगाडि झुकेको आरोप लगाए । भीम रावलले त्यसरी संसद्मा बोलेको विषयमा एमालेले आपत्ति जनाएको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले पार्टीको निर्णयविरुद्ध रावलले संसद्मा आफ्नो भनाइ राखेको भन्दै सभामुखसँग भेटेरै आपत्ति जनाएका हुन् । जुन अनौठो दृश्य हो ।

एमालेको १० औँ महाधिवेशनमा अध्यक्षमा ओलीसँग पराजित भएका रावल पार्टीभित्रैबाट चर्को आलोचनामा परिरहने नेता हुन् । आइतबारको संसद् बैठकमा रावलको भनाईलाई लिएर औपचारिक रुपमै आपत्ति जनाउनु त्यसैको निरन्तरता भएको टिप्पणी एमालेवृत्तमा छ । 

संसद्मा नाराबाजीका बीच एमसीसी टेबल भएपछि नेकपा एकिकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले पनि चर्को असन्तुष्टि जनाएका छन् । अध्यक्ष माधव नेपाल चुपचाप संसद् बैठकको पहिलो लाइनमा बसेर मौन समर्थन गरेपछि वरिष्ठ नेता खनाल भने आक्रोशित भएका हुन् ।

तत्कालीन नेकपामा हुँदा खनालकै नेतृत्वमा एमसीसी सम्झौतालाई संशोधनका लागि कार्यदल बनाइएको थियो । भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको कार्यदलको प्रतिवेदनमा टेकेर खनाल पनि एमसीसीको विरोधमा छन् । रावल त्यसैका सदस्य भएपछि झन् चर्कोसँग विरोध गर्छन् । जुन रुप उनले संसद्मा पनि देखाए । 

खनालले भने आइतबार संसद्मा टेबल भएको एमसीसीका विषयमा एक टेलिभिजनसँग अन्तर्वार्ता दिँदै आफ्नो असन्तुष्टि पोखिरहेका थिए ।

संसद्मा मौन बसेका माओवादी र नेकपा एकिकृत समाजवादीले पनि आइतबार अबेर विज्ञप्ति निकालेर विरोध कायमै राखेका छन् । माओवादी केन्द्रका तर्फबाट प्रवक्ता कृष्णबहादुर महराले नाराबाजीबीच संसद्मा एमसीसी टेबल हुनु आपत्तिजनक भएको भन्दै पार्टीको तर्फबाट समर्थन नरहेको प्रमाण पेश गरेका छन् ।

यस्तै माधव नेपाल आफैले पनि आइतबार अबेर एमसीसीको विरोधमा रहेको जनाउँदै टेबल गर्न समर्थन दिएपनि पारित गर्न नसक्ने संकेत देखाइरहेका छन् । सडकमा कार्यकर्ता उतारेर चर्को ‘राष्ट्रवादी’ देखिरहेका माओवादी र नेकपा एकिकृत समाजवादीको द्धैध चरित्रले स्वयंम उनकै नेता कार्यकर्ता दोधारमा छन् ।

सरकारमा स्वार्थ र छेपारे प्रवृत्ति

आफ्नो हस्ताक्षरसहितको पत्र सार्वजनिक भएपछि पनि माओवादी अध्यक्ष प्रचण्ड एमसीसीप्रति ‘छेपारे’ प्रवृत्ति देखाइरहेका थिए । आफू एमसीसीको विरोधमै रहेको देखाउन उनले सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्मको चेतावनीसमेत दिए ।

चुनावभन्दा पछाडि मात्रै एमसीसी संसद्मा टेबल गर्न सकिने जनाउँदै उनले आफूले भनेको नमाने गठबन्धन टुट्ने धम्की पनि दिँदै आएका थिए । माधव नेपालको साथ समर्थनले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई निरन्तर दबाब दिइरहेका प्रचण्ड अन्ततः गलेनन् मात्रै एमसीसी संसद्मा टेबल गराउनैपर्नै बाध्यताबाट उम्किन सकेनन् ।

पटक पटक सभामुख अग्नि सापकोटालाई निर्देशन दिएरै संसद् बैठक सार्नेदेखि एमसीसी टेबल गर्न रोकिरहेका प्रचण्ड अन्ततः माधव नेपालको समेत साथ पाउन नसक्ने देखिएपछि आफ्नो द्धैध चरित्रलाई पुष्टि गर्दै संसदमा मौनव्रतमा बसे । देउवा प्रचण्डलाई हुत्याएर एमालेलाई सरकारमा ल्याउन सबै तयारीमा लागेको सुइँको पाएपछि अन्ततः माओवादी आफ्नो अडान कायम राख्दै टेबल गर्न राजी देखिएको हो । 

एमसीसीकै कारण गठबन्धन टुट््ने, प्रधानन्यायाधीशविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव अलपत्र पर्ने, सभामुखविरुद्ध महाअभियोग लाग्नेदेखि नजिकिदो चुनावमा एक्लै लड्दा लज्जास्पद हार व्यहोेर्ने अवस्था आउने भएपछि प्रचण्ड बाध्य भएर संसद्मा ‘डबल स्ट्यान्डर्ड’का साथमा प्रस्तुत भएका हुन् । यद्यपी, यसको दीर्घकालीन असर कायमै छ । 

सुरुमा एमसीसी मान्दैनौँ, संसद््मा पेस गर्दैनौँ भन्दै राष्ट्रवाद उचालिरहेका नेताहरुले अब फेरि एमसीसी संसद््बाट पास गर्दैनौँ भन्दै नारा उराल्न बेर छैन । जसको मारमा जनता त परेकै छन् । चीन र अमेरिकाको भूराजनीतिक लडाई पनि सतहमा आएको छ । 

यसले दुवै देशसँग सम्बन्ध चिसिने चिन्ता मात्रै होइन, एमसीसीलाई प्रक्रियामै लिएर टुंग्याउने विषयमा माओवादी र नेकपा एकिकृत समाजवादीको राष्ट्रवादको ‘बार्गेनिङ’ राजनीति थप चर्काएर चुनावसम्मै ‘सेन्टीमेन्ट क्यास’ गर्ने छेपारे प्रवृत्ति प्रष्टसँग देखाएको छ । जुन नेताका लागि स्वार्थको रोटी सेक्ने काम भएपनि देश र जनताका लागि भने घातक हुन सक्छ । 


Author

विष्णु विवेक

राजनीति, समाज, शिक्षा, पर्यटन लगायत समसामयिक विषयमा कलम चलाउने विवेक करेस्पोन्डेन्ट हुन् ।


थप समाचार
x