रोग र उपचार

‘विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या’

इकागज |
असोज ८, २०८० सोमबार १५:२२ बजे

सांकेतिक तस्विर

लण्डन - स्वास्थ्य विज्ञहरुले  गैरआवासीय नेपालीहरुमा आत्महत्या र डिप्रेसनको डरलाग्दो समस्या रहेको बताएका छन् । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिको आयोजना र गैरआवासीय नेपाली संघ बेल्जियमको सहकार्यमा आइतबार आयोजित एक भर्चुअल मानसिक स्वास्थ्यसम्बन्धी जनजागरण कार्यक्रममा बोल्ने चिकित्सकहरुले विदेशमा मानसिक स्वास्थ्य बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे ।

कार्यक्रममा स्वास्थ्य समितिका अध्यक्ष डा. सन्जिव सापकोटामा विश्वव्यापी नेपाली समुदायमा डिप्रेसनको समस्या रहेको बताए । उनले साइप्रस, साउदी अरेबिया, इजरायल, यूएई, अष्ट्रेलिया लगायतका देशमा रहेका नेपाली समुदायमाझ मानसिक स्वास्थ्य समस्या बढ्दै गएको बताए । स्वास्थ्य समितिका अनुसार  हालसम्म साइप्रसमा ८ जना, यूएईमा ८८ जना र  मलेसियामा २ सय जना भन्दा बढी नेपालीले आत्महत्या गरेका छन् ।​


गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक  डा. संजीव सापकोटाले विश्वव्यापी रुपमा बढ्दै गएको आत्महत्या रोक्नको लागि विशेष जागरण कार्यक्रम ल्याउन जरुरी भएको बताए ।

कार्यक्रममा डा. सुरज थापाले आधुनिकीकरणसंगै आत्महत्या बढेको संसारमा प्रत्येक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्ने गरेको जानकारी  दिए। उनले मानिसहरुमा हुने एक्लोपनका कारण पनि  युवाहरुमा आत्महत्या बढेको बताए । उनले गरिब मुलुकमा बढि आत्महत्या हुने गरेको बताउँदै नेपालमा वार्षिक ७ हजार भन्दा बढी मानिसहरूले आत्महत्या गर्ने गरेको तथ्यांक प्रस्तुत गरे । उनले नेपालमा पुरुष भन्दा बढी महिलाहरूले आत्महत्या गर्ने गरेको बताए । उनले आर्थिक संकट, गरिबी, बेरोजार, व्यक्तिगत असफलता, पारिवारिक हिंसा, कुलतमा परेको व्यक्तिहरूले बढी आत्महत्या गर्ने गरेको बताए ।​

एनआरएनए बेल्जियमकी महासचिव रुविना शर्माले संचालन गरेको कार्यक्रममा डा. संजय यादवले  मानसिक स्वास्थ्य सम्बन्धी आधारभूत जानकारी दिएका थिए  । डा. यादवले आत्मग्लानि हुने, आफैंलाई बोझ लाग्ने, एक्लै बस्दा टोलाउने, भान्सामा चक्कु देख्दा पनि डर लाग्ने जस्ता समस्याहरु मानसिक  रोगको लक्षण भएको बताए ।​

एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटाले स्वागत मन्तव्य दिएको सो कार्यक्रममा डा. निसिता पाठकले मानसिक स्वास्थ्यको समस्या बाल्यकालसंग पनि जोडिएको बताइन् । उनले बाल्यकालमा कुन अवस्थामा हुर्किएको हो त्यसले मानसिक स्वास्थ्यमा प्रभाव पार्ने बताइन् । उनले मानसिक रोगको लक्षण देखिए पछि साथीभाइ परिवारभित्र खुलेर कुरा राख्न र मानसिक स्वास्थ्य चिकित्सकसँग परामर्श गर्न आग्रह गरिन् । उनले डिप्रेसन भैहाले पनि निको पार्न सकिने बताउँदै  मानसिक स्वास्थ्य समस्या रहेका व्यक्तिहरूलाई समाज र परिवारको सहयोगको ठूलो महत्व हुने बताइन् ।

कार्यक्रममा डा. बोधराज सुवेदीले सहभागीहरूलाई धन्यवाद दिंदै एनआरएनए स्वास्थ्य समितिले विदेशमा रहेका नेपालीहरूको स्वास्थ्यको बारेमा विभिन्न देशमा स्वास्थ्य जनजागरण सम्बन्धी कार्यक्रम आयोजना गर्दै आएको बताए । कार्यक्रममा सहभागीहरूले मानसिक स्वास्थ्य, डिप्रेसन लगायतका  स्वास्थ्य समस्याका बारेमा विज्ञ चिकित्सकहरुसंग आफ्ना जिज्ञासाहरू राखेका थिए ।


Author

थप समाचार
x