सम्पादकीय

साह र साम्पाङको ‘राणाशाही रुप’

इकागज |
भदौ २४, २०८० आइतबार १७:५९ बजे

राजनीतिक दलका नेताहरुका कुकर्म र तिनले उठाउने पात्रहरु ‘जनविरोधी’ भएको ‘अनुभूत’ गरेकै कारण यसपालि काठमाडौं र धरान महानगरपालिकाहरुको मेयरमा मतदाताहरुले स्वतन्त्र उम्मेदवारहरुलाई जिताए । यी स्वतन्त्रहरुको विजय दलहरुप्रति तीव्र नैराश्यता र घृणाको रुप थियो । लोकतन्त्रको सौन्दर्य पक्ष भनेकै जनताले जसलाई चुन्छन्, उही जनप्रतिनिधि हो ।धेरै मतले जितेका काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र धरानका हर्क साम्पाङले आफ्नो कार्यकाल एक वर्ष ब्यतीत गर्दै गर्दा उनीहरुमा एक प्रकारको दम्भ पलाउन थालेको छ ।

अघिल्लो साता काठमाडौंका मेयरले सिंहदरबार आगो लगाइदिने धम्की सामाजिक सञ्जालबाटै दिए । मेयर साहको यो गैरराजनीतिक, गैरचरित्र र गैरकानुनी अभिव्यक्ति थियो । आफ्नी श्रीमती चढेको महानगरको गाडी चेक गरेकै कारण मेयर साहको पारो तात्यो । मानौं मेयर साह कानुनभन्दा माथि छन् । पञ्चायतकालमा राजा र उनका परिवारको कुनै चेकजाँच हुँदैनथ्यो । उनीहरुले भन्सारबाट जति सुन ल्याए पनि मजाले दरबार पुग्थ्यो । त्यही राजतन्त्रकालीन सुन ओसार्ने क्रमलाई अहिलेका राजनीतिक दलका केही नेताहरुले निरन्तरता दिइरहेका छन् । अझ मन्त्रीहरुले सिंगो गाडी नै आयात गर्ने, गाडीभित्र सयौं किलो सुनै सुन ल्याउने । राजतन्त्र जनतालाई मन परेन, जनआन्दोलनमार्फत मिल्काए । नयाँ व्यवस्थापछि कानुन सबैलाई लाग्ने भनियो । त्यही अनुसारको संविधान आयो र फौजदारी अपराध संहितालगायत अन्य कानुन आए ।


सार्वजनिक बिदाका दिन सरकारी गाडीको दुरुपयोग बढेका कारण सरकारले निर्णय नै गरेर रोक लगाएको छ । त्यसको निगरानी गर्नु प्रहरीको धर्म हो । कानुन परिपालना गर्ने, गराउने काम प्रहरीको सामान्य दायित्व नै हो । आफ्नो दायित्व निर्वाह गर्दा प्रहरी अपमानित हुनुपर्ने र सिंहदरबार नै जलाउने धम्की दिने कार्य भए, त्यो दम्भ हो । 

धरानका मेयर साम्पाङले आफूलाई प्रश्न गर्ने वडावासीलाई थुनाए । मेयरलाई प्रश्न नै गर्न नपाउने ? जनताले प्रश्न सोध्ने, मेयरका घर घेर्ने, प्रदर्शन गर्ने कानुनसम्मत सबै गर्न पाउँछन् । अझ साम्पाङले व्यक्तिकाे निजी जग्गामा तालेबानी शैलीमा वृक्षराेपण गराए । आफ्नाे जग्गामा वृक्षराेपण नगर्ने गरेकाे अनुनय विनयलाई साम्पाङले राणाशाही शैलीमा उल्टाे कारबाही गर्ने धम्की दिए । अदालतले आदेश दिंदा पनि मानेनन् । अदालतले दाेहाेर्याएर आदेश दिनुपर्याे । याे अर्को अराजकता थियाे । फेरि यिनका बाेली सुन्दा र यिनले सामाजिक सञ्ञालमा प्रेषण गरेकाे हेर्दा यिनी पनि मेयर हुन् र भन्ने प्रश्न उठाउन थालेका छन् उनकै मतदाताहरुले । 

जनताले गर्न पाउने कुरो मेयरले गर्न पाउँदैनन् । किनभने सार्वजनिक पदमा बसेकाहरुले कानुनमा तोकिएकोभन्दा बाहेकको काम गर्न पाउँदैनन् भने सर्वसाधारणलाई कानुनले गर्न नहुने भनेकोबाहेक अरु सबै गर्न पाउँछन् ।

साह र साम्पाङको दम्भ र घमण्डले उनीहरु मध्ययुगमा फर्कन खोजेको देखिन्छ । राजाको पालाभन्दा पनि अगाडि राणा शासनको झझल्को दिन्छ । हिजो राणाका अगाडि कसले प्रश्न गर्ने ? शीर निहुराएर, पाउ परेर, बिरुदावली गाएर बिन्ती चढाउनु पथ्र्याे । के साह र साम्पाङ के राणाशाही हुन खोजेका हुन् ? कुनै नागरिकको वडामा खानेपानी आएन, संक्रामक रोग फैलियो, कुनै आपत्ति आइलाग्यो भने हारगुहार गर्न जाने जनप्रतिनिधिकोमा नै हो । फेरि अहिलेको फौजदारी अपराध संहिताले अदालतको आदेश बिना पक्राउ गर्न पाइँदैन । साम्पाङले त्यो कानुन पनि तोडेका छन् । अनि साम्पाङको आदेशमा पक्राउ गर्ने प्रहरीले अर्काे भूल गरेको छ । यसले विधिको शासनको धज्जी उडाएको छ ।

हिजो तिनै जनताको मतले साह र साम्पाङहरु मेयर बनेका हुन् । आज यी साह र साम्पाङ जनसेवा गर्नभन्दा पनि शासन गर्न आएको प्रतीत हुँदैछ । नेपाली जनताले धेरै यस्ता शासकहरु झेले । अन्तमा आफै सेलाएर गए । पौराणिक कथाअन्तर्गत महाभारत र रामायणकालीन स्मरण गर्ने हो रावण घमण्डले सकियो भने दुर्याेधन पनि घमण्डले नै सकिएका थिए । कलियुगमा आफूले गरेको कुकर्मको फल आगामी जन्ममा होइन, ठाउँको ठाउँ मिल्छ ।  हिजो केपी ओलीको यस्तै दम्भले दुई तिहाईको सरकार गयो । शेरबहादुर देउवाले घमण्ड गर्दा पुष्पकमल दाहाल ओलीतिर लागे, पछि देउवा पछुताए । राजा ज्ञानेन्द्रले घमण्ड गर्दा २३४ वर्षको विरासत बोकेको राजसंस्था नै ढल्यो । तसर्थ साह र साम्पाङले आफ्नो घमण्ड त्याग्नुपर्छ । उनीहरुले यो पनि याद गर्नुपर्छ कि शासकभन्दा माथि जहिल्यै जनता हुन्छन् । 
 


Author

थप समाचार
x