अर्थ / बाणिज्य

इकागज स्कुल

काठमाडौँका लागि मेलम्चीको ३० वर्षे यात्रा, यी १५ प्रश्‍नोत्तरमा

इकागज |
फागुन २८, २०७७ शुक्रबार १४:५१ बजे

- मेलम्ची आयो आयो भन्छन् त सबै, आएकै हो र ?

मेलम्चीमा यही फागुन ११ गते साढे २६ किलोमिटर सुरुङमा पानी भर्न सुरु भयो । अस्ति २२ फागुनमा त्यो सुरुङको पानी बागमती नदीमा खसाइयो । अब सुरुङ पनि सफा भइसक्यो र पानी प्रशोधन केन्द्रमा जम्मा गरिँदै छ । यही मध्य चैतदेखि उपत्यकाका धारामा मेलम्चीको पानी चुहिने छ ।  


- मेलम्चीबाट काठमाडौँमा पानी ल्याउन सोच्‍ने, पहिलोचोटि अध्ययन गर्ने-गराउने को हो ? कहिले गरियो ?

सन् १९९२ मा अस्ट्रेलियन कम्पनी स्नोई माउन्टेन इन्जिनियरिङ कर्पाेरेसन (स्मेक) ले मेलम्चीको पानी (दैनिक १७ करोड लिटर) काठमाडौं ल्याउन सकिने अध्ययन गरेको थियो । उक्त अध्ययनमा सिन्धुपाल्चोककै याङ्ग्री र लार्केबाट १७/१७ करोड लिटर गरी दैनिक ५१ करोड ल्याउन सकिने निष्कर्ष निकालेको थियो । स्मेकको यो अध्ययनलाई पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले राजनीतिक रूपमा अघि बढाएका थिए । 

- यो परियोजना पूरा हुन कति वर्ष लाग्यो ? बीचबीचमा निरन्तर काम भइरह्यो कि ठप्प पनि भयो ?

२०५५ मा मेलम्ची खानेपानी विकास समिति गठन भई यो आयोजना निर्माण सुरु गरिएको हो । ठेक्कापट्टा भएर पनि विभिन्‍न कारणले काम बीच-बीचमा रोकिइरह्यो । मेलम्चीको प्रवेश मार्ग (१७ किलोमिटर) बनाउनै दुईपटक ठेक्का भयो । साढे २६ किलोमिटर सुरुङ खन्‍न तीनवटा ठेक्का गरियो ।

 - आयोजना निम्ति कति खर्च लाग्यो ? यो पैसा कहाँ-कहाँबाट कसरी जुट्यो ?

तथ्यांकअनुसार मेलम्चीमा हालसम्म २९ अर्ब ५० करोड रुपैयाँ खर्च भइसकेको छ । सबैभन्दा बढी एडीबीले १२ करोड अमेरिकी डलर, जापान बैंक अफ इन्टरनेसनलले ५ करोड २० लाख, नोराडले २ करोड ८० लाख डलर, क्यानेडियन सहयोग नियोग (सीडा) ले २ करोड ५० लाख डलर, नर्डिक डेभलपमेन्ट फन्डले १० लाख डलर उपलब्ध गराउन सहमत भएका थिए । नेपालले बाँकी ११ करोड ८० लाख अमेरिकी डलर खर्च गर्ने कार्यक्रम थियो । 

- मेलम्चीको काम फटाफट हुनुपर्छ भन्‍ने शासक-प्रशासक को-को हुन् ? अनि जिम्मा पाएका तर उल्टै भाँजो हाल्ने को-को हुन् नि ?

मेलम्चीमा अधिकांश शासक फटाफट काम गर्नुपर्छ भन्‍ने पक्षमा थिए । तर तीमध्ये केहीले यसलाई दुहुनो गाई पनि बनाए । पछिल्लो समय काम सकिनै लाग्दा मेलम्चीमा भाँजो हाल्नेमा अघिल्ला खानेपानी मन्त्री बीना मगर र तत्कालीन सचिव गजेन्द्र ठाकुर लगायत थिए । यी दुई ठेकेदारलाई दिनैपर्ने भुक्तानी रोकेर भगाएका थिए, जसले गर्दा मेलम्ची अढाई वर्ष पर धकेलियो, यो जगजाहेरै छ । 

- मेलम्ची ढिलो हुनुमा खास कारण के हो त ?

पहिलो त यो एकदमै जटिल संरचना हो । दोस्रो, यसखाले आयोजना नेपालमा बनेकै थिएन र छैन । साढे २६ किलोमिटर सुरुङ, दैनिक ५१ करोड लिटर पानी अट्ने प्रशोधन केन्द्र निर्माण आफैँमा जटिल थिए । त्यसमाथि नेपालमा निरन्तर सरकार परिवर्तनको रोग, अस्थिरता, ठेक्का तोडातोड, नयाँ ठेक्का दिलाउने लालसा आदिले मेलम्ची ढिलाइ हुन पुग्यो । सुरुमा केही गैरसरकारी संस्थाहरूले स्थानीय बासिन्दा उचालेर कामै गर्न दिएनन् । पछि स्थानीय बासिन्दाले कुरो बुझेपछि उनीहरूको पनि सहयोग रह्यो ।

- यसमा जे-जस्तो प्रविधि (मानवीय र यान्त्रिक) प्रयोग भयो ? त्यो कति सक्षम, कति अत्याधुनिक ?

मेलम्चीको सुरुङ परम्परागत प्रविधिबाट खनिएकाले निकै ढिलो हुन पुगेको हो । अहिलेको जस्तो टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग हुन पाएन । टीबीएमले निकै छिटो सुरुङ खन्छ, यस्तो प्रविधि नेपालमा पहिलोपटक भेरी-बबई डाइभर्सनमा प्रयोग भएको थियो ।

- यसको ठेक्कापट्टाको पाटो सुरुदेखि अन्तिमसम्म कस्तो रह्यो ? ठेक्कापट्टाको राजनीतिबारे पनि अलिकति स्पष्ट पारिदिनुस् न  ।

मेलम्चीको ठेक्कामा शासकहरूले आँखा लगाए । उनीहरूको ध्येय कसरी ठेक्का तोड्ने र नयाँ गर्नेमा बढी केन्द्रित देखिन्थ्यो । ४६ करोड रुपैयाँको सडकको ठेक्का तोडेर ९६ करोड रुपैयाँमा अर्काे ठेक्का लगाइएको थियो । ठेकेदारलाई भुक्तानी दिँदा कमिसन माग्‍ने मन्त्री र सचिव पनि सार्वजनिक हुनुले नेताहरूको नजर यो आयोजनामा कमाउ अड्डामा सीमित भएको पुष्टि हुन्छ । 

- अनि जहाँबाट पानी ल्याइयो, त्यहाँका बासिन्दाले सुरुमा के भने, के भन्छन्, पानी दिएबापत उनीहरूले के पाए त ?

पानी ल्याइएको सिन्धुपाल्चोकको अम्बाथान, हेलम्बु लगायत साबिकका करिब एक दर्जन गाविसलाई ‘प्रभावित क्षेत्र’ मानिएको छ । त्यहाँ विशेष गरेर सडक सुविधा पुग्यो । सामाजिक उत्थान कार्यक्रमअन्तर्गत विभिन्‍न पूर्वाधार र सामाजिक क्षेत्रमा रकम खर्च भए । त्यसबाहेक स्थायी रूपले पानी लगेबापत सिन्धुपाल्चोकले उल्लेखनीय रुपमा लेबी प्राप्त गर्दैछ, कति प्राप्त गर्छ भन्‍ने अन्तिम तयारीमा सरकार लागेको छ । 

- अब उता मेलम्ची नै सुक्छ त ? कति पानीबाट यता कति ल्याइयो ?

अहिलेको वातावरण संरक्षण नियमावलीअनुसार कुल वहावको १० प्रतिशत मेलम्ची खोलामा छाडिने प्रावधान छ । त्यहीअनुसार छाडिने भनिएको छ ।

- अनि त्यो पानी काठमाडौँको मागअनुसार हात्तीको मुखमा जिरा हुन्छ कि छेलोखेलो हुन्छ ? 

काकाकुल उपत्यकावासीका लागि मेलम्चीको पानी अमृतसमान हुनेछ । अहिले दैनिक १७ करोड लिटर पानी थप आउँदा उपत्यकावासीका लागि ठूलो राहत हुनेछ । पछि याङ्ग्री र लार्के नदी पनि ल्याउने योजना छ । त्यसपछि उपत्यकामा पानी पर्याप्त हुने अध्ययनले देखाएको छ ।

- अब आम मान्छेको धारामा यसको पानी कहिले आउँछ ? ग्राहकका लागि यो कति महँगो छ, शुल्क कति छ ? धारा जडान गर्न के गर्नुपर्छ ?

यही मध्य चैतदेखि उपत्यकाका पाइप जडिजडाउ (नयाँ) भएका ठाउँमा पानी आपूर्ति गरिने कार्यक्रम छ । अन्य ठाउँमा पनि पाइप, चुहावट आदि परीक्षण गर्दै पानी छाडिने भनिएको छ । कतिपय ठाउँमा पाइप गाड्ने, नयाँ जडान गर्ने आदि काम सँगसँगै गर्ने भएकाले एकदेखि डेढ वर्षभित्र पानी पुर्‍याउने लक्ष्य छ । ट्यांकर र जारको पानी खरिद गरेको सापेक्षमा मेलम्चीको पानी खासै महँगो पर्दैन । काठमाडौं उपत्यकाको विद्यमान धारा प्रणाली र मेलम्ची उपआयोजनाले कार्यान्वयन गरिरहेको थप क्षेत्रमा पानी जान्छ । केयूकेएलको वितरण क्षेत्रमा पर्ने घरधुरीका लागि नयाँ लाइन लिन केयूकेएलमा निवेदन दिनुपर्छ ।

- काठमाडौँ उपत्यकाका कुन-कुन ठाउँमा यो पानी आउँछ ? कहाँ आउँदैन ?

विशेष गरेर चक्रपथभित्र पानी आउँछ । चक्रपथबाहिर भक्तपुर पनि मेलम्चीको पानी वितरण हुनेछ । उपत्यकाका तीनवटै जिल्लाका हरेक ठाउँमा भने मेलम्चीको पानी जाँदैन, पुर्‍याइँदैन ।

- नेपालको विकासको गति, तरिका, लगानी, बर्कत, क्षमता, राजनीति, स्वार्थ हेर्ने यो एउटा आँखीझ्याल हुन सक्छ, हामीले यो परियोजनाबाट सिक्ने पाठ के हो ?

मेलम्ची आयोजनाले नेपालको विकास निर्माणमा ठूलो सन्देश दिएको छ । यसखाले बृहत् आयोजना कार्यान्वयन गर्दा विगतमा ठूला-ठूला संरचना नबनाएका अनुभवहीन व्यक्तिहरूलाई आयोजना प्रमुख, आयोजनाको जिम्मेवार पदमा राखिनु यसको गति ढिलो हुनु हो । त्यसबाहेक मेलम्चीलाई राजनीतिक दलहरूले कमाउने भाँडो बनाउँदा पनि यसको ठेक्का व्यवस्थापनमा जटिलता उत्पन्न हुन पुग्यो । मेलम्चीबाट नेपालले सिक्नुपर्ने अर्काे पाठ भनेको अब यसखाले बृहत् आयोजना नेपालले सजिलै बनाउन सक्छ । 

- अब अन्त्यमा एउटा जिज्ञासा, मैले गर्दा मेलम्ची आयो भन्‍ने जस लिने होडबाजी छ, के हो यो ?

स्थानीय तह वा नगरपालिकाले गरेको काम त संघीय सरकारले जस लिने गर्दै गर्दा मेलम्चीजस्तो विशाल आयोजनाको जस लिने होडबाजी चल्नु नैतिकता नभएको मानसिकताको उपज हो । यसको प्रारम्भिक जस पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, तत्कालीन अन्तरिम सरकारका अर्थमन्त्री डा. देवेन्द्रराज पाण्डे लगायतलाई जान्छ । मेलम्ची निर्माणको यति लामो कालखण्डमा जसअपजसको भारी बोक्ने पात्रहरूको सूची लामै छ । अन्तरिम  आयोजनाको आखिरी घडीमा अन्यौल र अनिश्चय बढिरहेका बेला वर्तमान खानेपानी सचिव माधव बेल्बासेको सकारात्मक भूमिका निर्णायक बन्‍न पुग्यो । भलै यसअघिका कर्मचारीले यहाँसम्म ल्याइपुर्‍याए पनि अन्तिम गोल हान्ने व्यक्ति उनी देखिए, सबका सामु । एकीकृत रूपमा समन्वय नगरेको भए मेलम्ची कहिले आउँथ्यो भन्‍न सकिन्नथ्यो । 


 

इकागजका यी पुराना स्कुलमा पनि भर्ना हुनुहोस् :

- कोभिसिल्ड : दोस्रो डोज लिँदा लक्षण देखिन्‍छ कि देखिँदैन ? 

- यो राजनीति बुझ्‍नुभएको छैन ? पढ्नुहोस्, १२ प्रश्‍नोत्तर

- इकागज–स्कुल : बजेटबारे १८ प्रश्न, १८ उत्तर

- यी १२ प्रश्नोत्तर जसले तपाईंलाई कोभिड खोपबारे छर्लंग बनाउनेछ

‘दिव्य-उपदेश’ के हो ? पढ्नुहोस् १० उपदेश

अदालती प्रक्रियाबारे अलमल छ ? पठनीय छन् यी सात प्रश्‍नोत्तर

प्रतिनिधि सभा विघटनपछि विधेयक निष्क्रिय भए, अब बस्‍ने राष्ट्रिय सभा बैठकले के गर्छ ?


Author

थप समाचार
x