फुटबल

पाकिस्तानविरुद्ध प्रशिक्षक कटुवालको परीक्षण

के तीन वर्षपछि मैदानमा उत्रन लागेको पाकिस्तानलाई नेपालले पराजित गर्ला ?

सञ्जीव शाह |
कात्तिक २९, २०७९ मंगलबार १७:० बजे

काठमाडौँ- नेपालविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्दा फिफाको प्रतिबन्ध फुकुवा भएको पाकिस्तान फुटबल टिम तीन वर्षपछि मैदानमा उत्रनेछ । नेपाल र पाकिस्तानबीचको खेल बुधबार मैत्रीपूर्ण खेल हुँदैछ ।

नेपाल र पाकिस्तानबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाली समयअनुसार साँझ ५:३० बजेबाट सुरु हुनेछ । फिफाको निलम्बनबाट फुकुवा भएपछि पाकिस्तानको टिमले पहिलो पटक अन्तर्राष्ट्रिय खेल नेपालविरुद्ध खेल्न लागेको हो ।


त्यसैगरी, पाकिस्तानविरुद्ध दशरथ रंगशालामा खेल्दा नेपालको यो ५० औं खेल हुनेछ । त्यसैले नेपालले पाहुना टोलीलाई पराजित गर्ने लक्ष्यसहित मैदानमा उत्रनेछ ।

पहिलो पटक नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका प्रवेश कटुवालले पाकिस्तानलाई पराजित गर्ने लक्ष्य रहेको बताए ।

‘पाकिस्तानका खेलाडीहरूले लामो समयदेखि एउटै टिमका रूपमा खेलेका छैनन् । हामीले त्यसैको फाइदा उठाउने छौं,’ खेलअघि मंगलबार आयोजित प्रि-म्याच कन्फ्रेन्समा मुख्य प्रशिक्षक कटुवालले भने ।

कटुवालले विगतमा पाकिस्तानले नेपालविरुद्ध राम्रो नतिजा ल्याएपनि अहिले नेपालको तयारी राम्रो भएकोले जित्ने विश्वास व्यक्त गरे ।

'विगतमा पाकिस्तानले ७ खेल जितेको छ भने नेपालले ५ खेलमा जित हात पारेको छ । तर, पाकिस्तानका खेलाडीहरूले ३ वर्ष सँगै खेलेका छैनन् । त्यसैगरी, बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा जितेका कारण नेपाली खेलाडीको मनोबल उच्च छ,' प्रशिक्षक कटुवालले थपे ।

यता पहिलो पटक नेपाली टिमको कप्तानी गर्ने मौका पाएका रोहित चन्दले पाकिस्तानविरुद्धको खेल प्रतिष्पर्धात्मक हुने बताए ।

'हामीले उच्च मनोबलसहित तयारी गरेका छौं । पाकिस्तान बलियो प्रतिद्वन्द्वी भएका कारण खेल प्रतिष्पर्धात्मक हुनेछ,' रोहितले भने ।

नेपालले पछिल्लो पटक पाकिस्तानसँग २०१८ मा खेलेको थियो । साफ च्याम्पियनसीप अन्तर्गत ढाकामा भएको खेलमा पाकिस्तानले नेपाललाई २-१ ले पराजित गरेको थियो ।

पाकिस्तानका मुख्य प्रशिक्षक सहजाद अनवरले पाकिस्तानको फुटबलले विगतमा कठिनाइ भोगेपनि त्यसलाई बिर्सेर नेपालविरुद्ध जित निकाल्ने लक्ष्य रहेको बताए ।

'हामीले समग्रमा दुई महिनाको तयारीमा नेपाल आएका छौं । तर, स्थानीय स्तरमा खेल्दै आएका कारण खेलाडीहरूको तयारी राम्रो छ । हाम्रो लागि यो खेलाडीलाई चिन्ने मौका पनि हो,' अनवरले भने ।

पाकिस्तानका कप्तान हसन बसिरले विगतमा पाकिस्तानले नेपालमाथि राम्रो नतिजा ल्याएका कारण यसपटक पनि सुखद नतिजा ल्याउने विश्वास व्यक्त गरे ।

'हाम्रो अपेक्षा उच्च छ । नेपालविरुद्ध हाम्रो राम्रो इतिहास छ । नेपालविरुद्ध मैले यसभन्दा अघि चार पटक खेलेको छु । जसमध्ये हामीले तीन खेल जितेका छौं,’ उनले भने ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x