फुटबल

साफ फुटबल :

घरेलु मैदानमा भारतलाई हराएर नेपाललाई इतिहास रच्ने अवसर

कीर्तिमाननजिक पुगेका अन्जन विष्टकाे चामत्कारिक खेल भारतविरुद्ध आवश्यक

इकागज |
असार ९, २०८० शनिबार ९:२२ बजे

काठमाडौँ- भारतमा जारी साफ च्याम्पियनसीप फुटबलअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले आज (शनिबार) आयोजक भारतको सामना गर्दैछ । नेपाल र साविक विजेता भारतबीचको खेल नेपाली समयअनुसार साँझ ७:४५ बजेबाट सुरु हुनेछ ।

समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा कुवेतविरुद्ध ३-१ को पराजय भोगेको थियो । नेपालका लागि एक मात्र गोल अन्जन विष्टले गरेका थिए । यता कप्तान सुनिल क्षेत्रीको ह्याट्रिकको मद्धतमा  भारतले भने पहिलो खेलमा पाकिस्तानलाई ४-० ले पराजित गरेको थियो ।


गत सिजनको उपविजेता नेपालले सेमिफाइनलको सम्भावना कायमै राख्न शनिबारको खेलमा भारतलाई पराजित गर्नुपर्ने हुन्छ । नेपालले समूह चरणको अन्तिम खेलमा पाकिस्तानको सामना गर्ने तालिका रहेको छ ।

इतिहास हेर्ने हो भने भारत नेपालमाथि हावी हुँदै आएको छ । नेपाल र भारतबीच समग्रमा अहिलेसम्म २४ पटक खेल भए पनि भारतले १७ खेलमा जित हात पारेको छ भने नेपालले केवल ३ खेलमात्र आफ्नो पक्षमा पार्न सफल भएको छ । नेपाल र भारतबीच भने ४ खेल बराबरीमा टुंगिएको इतिहास छ । साफमै ८ मध्ये नेपालले केवल एक खेल जित्दा भारतले ७ खेल आफ्नो पक्षमा पारेको छ । अर्कोतर्फ नेपालले भारतसँग उसैको घरेलु मैदानमा जितेको रेकर्ड छैन ।

यसरी हेर्दा नेपालले भारतलाई उसैको घरेलु मैदानमा पराजित गर्न त्यति सजिलो छैन । अझ पछिल्लो समय भारत लयमा देखिन्छ । उसले खेलका पछिल्ला सात खेलमा जित हात पार्दा कुनै पनि खेलमा गोल खाएको छ ।

तर नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमाननजिक पुगेका अन्जन विष्टले भारतको पोष्टमा गोल गर्ने अपेक्षा गर्न सकिन्छ । अन्जन अहिले नेपाली टिमका भरपर्दा खेलाडी हुन् र उनको चमत्कार भारतविरुद्ध आवश्यक पनि छ ।

अन्जनले नेपालका लागि १२ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् भने हरि खड्का र नीराजन रायमाझीले समान १३-१३ गोल गरेका छन् ।

आजको खेलमा भारतलाई पराजित गर्न सके कीर्तिमानको ओइरो लाग्न छ, अर्थात नेपालले भारतलाई उसैको घरेलु मैदान तथा साफमा पहिलो पटक पराजित गर्नेछ । अझ अन्जनले गोल गर्न सके अर्को कीर्तिमान पनि बन्ने पक्का छ ।

त्यसैले नेपालका लागि भारतविरुद्धको खेल निकै महत्वपूर्ण छ ।

यता नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अलबर्टो एनेसले भने भारतविरुद्धको खेल नेपालका लागि फाइनलसरह नै हुने बताएका छन् ।

‘भारतविरुद्धको खेल हाम्रा लागि फाइनलसरह नै हुनेछ । नेपाल-भारतबीचको खेल जहिल्यै पनि प्रतिस्पर्धात्मक हुन्छ र मैले भारतमा पनि समय विताएको तथा खेलाडीलाई चिनेको हुनाले सो खेल मेरा लागि सम्झनलायक हुनेछ,’ भारतविरुद्धको खेलअघि एनेसले थपे ।

भिन्सेन्जोले पहिलो खेलमा कुवेतविरुद्ध हार बेहोर्नुमा खेलाडीको अनुभवको कमीका कारण भएको बताउँदै नेपालले कुवेतविरुद्ध दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको बताए ।


Author

थप समाचार
x