फुटबल

१० खेलाडीमा सिमित सिटीले जित हात पार्दा युनाइटेड पनि विजयी

इकागज |
असोज ७, २०८० आइतबार १०:१३ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत साविक विजेता म्यानचेस्टर सिटीले लगातार छैटौं जित हात पारेको छ । १० खेलाडीमा सिमित भएपनि सिटीले नटिङ्घम परेस्टलाई २-० ले पराजित गरेको हो ।

सिटीको जितमा फिल फोडेन र अर्लिङ हालान्डले एक-एक गोल गरे । फिलले ७ औँ मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाए भने हालान्डले १४ औँ मिनेटमा अग्रता दोब्बर पारे ।


४६ औँ मिनेटमा रोड्रीले रातो कार्ड खाँदै मैदान बाहिरिएपछि सिटी १० खेलाडीमा सिमित भएको थियो । तर फरेस्टले त्यसको फाइदा उठाउन सकेन ।

यससँगै शीर्ष स्थानको सिटीले ६ खेलबाट १८ अंक जोडेको छ । ७ अंक हात पारेको फरेस्ट भने ११ औँ स्थानमा छ ।

यता म्यानचेस्टर युनाइटेडले भने बर्नलीमाथि १-० को जित हात पार्‍यो । युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेजले ४५ औँ मिनेटमा गरेको गोल नै पर्याप्त रह्यो ।

६ खेलबाट ९ अंक जोडेको युनाइटेड अंक तालिकाको आठौं स्थानमा उक्लिएको छ । बर्नलीले भने ५ खेलबाट केवल एक अंक जोडेको छ ।

अन्य खेलमा एभर्टनले ब्रेन्टफोर्डलाई ३-१ ले हराउँदा फुलह्यामले क्रिस्टल प्यालेससँग गोलरहित बराबरी तथा लुटोनले उल्भ्ससँग १-१ को बराबरी खेलेका छन् ।


Author

थप समाचार
x