फुटबल

कोपा इटालियाको सेमिफाइनल समीकरण पूरा

इकागज |
पुस २८, २०८० शनिबार ८:५८ बजे

काठमाडौँ- कोपा इटालियाको सेमिफाइनलको समीकरण पूरा भएको छ ।

कोपा इटालियाको सेमिफाइनलमा फियोरेन्टिना, एटलान्टा, युभेन्टस्‌ र लाजियो पुगेका छन् ।


क्वाटरफाइनलमा फियोरेन्टिनाले बोलोग्नालाई हराएको थियो भने लाजियोले रोमालाई पराजित गरेको थियो । एटलान्टाले एसी मिलानलाई र युभेन्टस्‌ले फ्रोसिनोनेलाई पराजित गर्दै सेमिफाइनलमा पुगेका थिए ।

अब सेमिफाइनलमा फियोरेन्टिनाले एटलान्टासँग र युभेन्टस्‌ले लाजियोसँग खेल्ने भएका छन् । सेमिफाइनल खेल होम एण्ड अवे गरी दुई लिग खेल हुनेछन् । सेमिफाइनलको पहिलो लिग अप्रिल ३ मा र दोस्रो लिग अप्रिल २४ मा खेलिने भएको छ ।

युभेन्टस्‌ अहिलेसम्म सबैभन्दा बढी पटक कोपा इटालिया जित्ने क्लब हो । युभेन्टस्‌ले अहिलेसम्म १४ पटक यो उपाधि जितेको छ । युभेन्टस्‌ले पछिल्लो पटक २०२१ मा कोपा इटालियाको उपाधि जितेको थियो ।

त्यस्तै एएस रोमा र इन्टर मिलानले कोपा इटालियाको उपाधि ९-९ पटक जितेका छन् । इन्टर मिलान कोपा इटालियाको डिफेन्डिङ च्याम्पियन भएपनि यस वर्ष भने राउण्ड १६ बाटै बाहिरिएको थियो ।

त्यस्तै लाजियोले ७ पटक, फियोरेन्टिना र नापोलीले ६-६ पटक यो उपाधि जितेका छन् ।
 


Author

थप समाचार
x