फुटबल

रुसी फुटबलको नयाँ शक्ति एफसी सोची, जसलाई भ्लादिमिर पुटिनको साथ छ

इकागज |
कात्तिक ५, २०७८ शुक्रबार ६:४४ बजे

काठमाडौँ- विश्वकप २०१८ का लागि रुसले कुल १२ रंगशाला प्रयोग गर्‍यो । तीमध्ये फिस्ट ओलम्पिक रंगशाला पनि एक थियो । सोची सहरमा विन्टर ओलम्पिक गरिने भएपछि यो रंगशाला तयार पारिएको थियो । पछि सानोतिनो परिवर्तन गरेर यो फिस्टलाई विश्वकपमा पनि प्रयोग गरियो । यही फिस्टलाई घरेलु मैदान बनाएको एफसी सोची अहिले रुसी फुटबलको नयाँ शक्तिका रुपमा उदाउने क्रममा छ । 

सोची सहर रुसको पर्यटकिय सहर हो । यो सहरलाई रुसी फुटबलको पहिलो श्रेणीमा प्रतिनिधित्व गर्ने क्लब हो, एफसी सोची । यो क्लब जारी रुसी प्रिमियर लिगको दोस्रो स्थानमा छ । ‘ब्लाक सी’को तटमा रहेको सोची सहरको यो क्लब यसपटक रुसी च्याम्पियन बन्‍न सक्छ । गत सिजन उसले पाँचौँ स्थानमा रही समापन गरेको थियो । तर यसपटक सोची बलियो देखिएको छ । र, च्याम्पियन बन्‍ने दौडमा पारम्पारिक शक्ति जेनिट सेन्ट पिटर्सबर्गलाई आच्छु आच्छु बनाउने अनुमान गरिँदैछ । 


सोची सन् २०१८ मा मात्रै स्थापना भएको क्लब हो । स्थापना भएको केही वर्षमै सोची रुसी फुटबलको बलियो शक्ति बन्‍ने क्रममा छ । उसको उदय छोटो समयमै भयो । यो अफैँमा आश्चर्यजनक छ । हुन त सोचीको स्थापनाको कारण पनि कम रोचक छैन । 

सोची कसरी स्थापना भयो भनेर जान्‍न सन् २०१८ को विश्वकपतर्फ नै फर्कनु पर्ने हुन्छ । सोचीको स्थापना फिस्ट रंगशालासँगै जोडिएको छ । ४७ हजार भन्दा धेरै दर्शक अट्ने यो रंगशालामा विश्वकपका ६ खेल भएका थिए । क्रिस्टियानो रोनाल्डो सम्मिलित पोर्चुगलले स्पेनको सामना पनि यही रंगशालामै गरेको थियो । 

सन् २०१४ को विन्टर ओलम्पिकका लागि तयार पारिएको फिस्टको स्वरुप सन् २०१७ को कन्फेडेरेसन कपका लागि परिवर्तन गरियो । अनि विश्वकपका केही खेल पनि यो मैदानमा खेलाईने भयो । यी दुवै इभेन्ट सकिएपछि फिस्टको प्रयोग नहुने भयो । तर करौडौँ युरो खर्च गरिएको रंगशाला प्रयोगविहिन बन्‍न नदिने सोचमा पुग्यो रुसी सरकार । यी सोचले जन्मायो एफसी सोची । 

कुनै पनि देशको घरेलु फुटबल संरचनामा कुनै पनि क्लब त्यत्तिकै घुस्न सक्दैन । कि त तल्लो श्रेणी हुँदै कुनै क्लबले दोस्रो वा पहिलो श्रेणीको यात्रा तय गर्नु पर्‍यो । यस्तोमा एउटा उपाय अपनाइयो । त्यो उपाय बन्यो, सेन्ट पिटर्सबर्गको क्लब डिनामो सेन्ट पिटर्सबर्ग । जो रुसको दोस्रो डिभिजन खेलिरहेको थियो । सेन्ट पिटर्सबर्ग सहरमै जेनिट जस्तो ठूलो क्लब रहेकाले डिनामोले पर्याप्त समर्थक पाउन सकिरहेको थियो । 

यसैकारण डिनामोको लाइसेन्स सोचीलाई दिइयो । यो निर्णयका कारण सोची सहरले फुटबल क्लब पायो । अनि फिस्ट रंगशाला प्रयोग हुने अवस्था पनि सिर्जना भयो । नभए फिस्ट सेतो हात्ती हुने सम्भावाना बढेको थियो । उता डिनामोसँग भने आफ्नै मैदान थिएन । 

सोची सहरले क्लब त पायो तर यो क्लबको स्वामित्व लिने कसले ? यसका लागि तयार भए, रुसकै सर्वाधिक धनी व्यापारी बोरिस रोटेनबर्ग । जो रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका नजिकका मित्र पनि हुन् । कुनैबेला सेन्ट पिटर्सबर्ग सहरमा पुटिनसँगै जुडो सिक्ने रोटेनबर्ग रुसी सरकारले तयार गरेको रंगशालालाई सेतो हात्ती बन्‍न नदिन प्रतिबद्ध भए । 

रोटेनबर्गको नेतृत्वमा सोची रुसी फुटबलको शिखरतर्फ लम्किरहेको छ । पहिलो सिजननै पहिलो श्रेणीमा बढुवा भएको सोचीले सुरुवातबाटै बलियो टिम निर्माण गर्न सक्यो । यसमा जेनिटको सहयोग महत्वपूर्ण रह्यो । जेनिटबाट आठ खेलाडी सोचीसँग आबद्ध भए । ती खेलाडीमध्ये कतिपय ऋण सम्झौतामा सोची पुगेका थिए । त्यसबेला सोचीलाई गाजप्रोमको पनि सहयोग रहेको बताइन्थ्यो । रुसी सरकारको मातहतमा रहेको उर्जा कम्पनी गाजप्रोम जेनिटको मुख्य प्रायोजक हो । यसका बाबजुद पनि उसले रुसकै अर्को फुटबल क्लबलाई पनि सहयोग गरेको बताइन्छ । 

रुसी फुटबल समर्थकले लामो समय एउटा आरोप लगाइरहे, जेनिट र सोची आपसमा मिल्ने टिम हुन् । र, यो पनि हुनसक्छ, यी दुई टिम भिड्दा म्याच फिक्सिङ हुनसक्छ । तर यस्तो आरोप प्रमाणित हुने अवस्था छैन । यो सिजन यी दुई क्लब रुसी लिग जित्ने भरमग्दुर प्रयासमा छन् । जेनिटलाई कुनै टिमबाट बलियो चुनौती छ भने त्यो सोचीबाटै छ । जारी सिजन जेनिटले सोचीसँग आफ्नै मैदानमा पराजय पनि भोगिसकेको छ । 

जेनिटलाई हराएपछि सोची हौसिएको छ । लिग जित्ने लक्ष्य सफल नभए च्याम्पियन्स लिगमा छनौट हुने ध्येयमा छ, सोची । च्याम्पियन्स लिग र युरोपा लिग पछाडिको युरोपेली प्रतियोगिता कन्फ्रेन्स लिग छनौटको स्वाद सोचीले चाखिसकेको छ । यसै पटक सुरु भएको युरोपेली प्रतियोगिताको समूह चरणमा भने सोचीले स्थान बनाउन सकेन । 

युरोपेली क्लब फुटबलको सर्वोच्च प्रतियोगितामा छनौट हुन सोचीले सकेको तयारी गरेको छ । गत सिजन लिगमा पाँचौँ स्थानमा पुर्‍याउने भ्लादिमिर फेडोटोभलाई नै टिमको प्रशिक्षकमा निरन्तरता दिइएको छ । जसले सोचीलाई यो सिजन रुसी च्याम्पियन बनाउने विश्वास क्लब प्रशासनले लिएको छ । क्लबभित्र सकारात्मक वातावरण रहेको पनि भनिएको छ ।

तर यति हुँदाहुँदै सोची निराश हुनुपर्ने केही कारण छन् । किनभने सोची यस्तो सहरमा अवस्थित छ जहाँ फुटबल सर्वाधिक लोकप्रिय खेल होइन । यो सहरबाट यसअघि एउटा क्लबले मात्रै रुसी पहिलो डिभिजनमा भाग लिएको थियो । सन् १९९२ र २००० मा रुसी प्रिमियर लिग खेलेको जेमचुजिना सोची सन् २००३ मा भने बन्द भयो । फेरि फिस्ट पनि सोची सहरको सहरी भागभन्दा निकै पर छ । यसकारण सहरका फुटबल प्रेमी लामो यात्रा तय गरी फिस्ट पुग्ने सम्भावना कम रहन्छ ।   

सहरी भागभन्दा पर रहेकाले पनि सोचीमा जेनिटबाट आएका धेरै खेलाडीहरु टिकेनन् । जेनिटबाट आएका चार खेलाडी मात्र हाल सोचीमा छन् । तीमध्ये एक हुन्, ३६ वर्षिय क्रिस्टियन नोबोआ । इक्वेडरका मिडफिल्डर नोबोआ सोचीका सर्वाधिक अनुभवी खेलाडी हुन् । सन् २००७ यता रुसी लिग खेलिरहेका उनले रुबिन काजानबाट दुई पटक लिग पनि जितेका छन् । रुबिन काजानले सन् २००९ मा बार्सिलोनालाई हराउँदा नोबोआ टिमका प्रभावशाली खेलाडी थिए । 

सोचीमा अर्का दक्षिण अमेरिकी पनि छन् । ती हुन्, माटियो कासिएरा । कोलम्बियाका यी २४ वर्षिय स्ट्राइकर आयाक्सबाट सोची पुगेका हुन् । जम्मा १० लाख युरो स्थान्तरण रकम तिरेर सोचीले कासिएरालाई आफ्नो बनाएको हो । थोरै रकम तिरेर अनुबन्धन गरिएका कासिएरा सोचीमा प्रभावशाली सावित भएका छन् । उनले यस सिजन पाँच लिग खेलमा तीन गोल गरिसकेका छन् । त्यो पनि जेनिट र रोस्टोभ जस्ता बलिया टिमविरुद्ध । सोचीको स्काउटिङ कति सफल छ भन्‍ने उदाहरण हुन्, कासिएरा । 

फुटबल क्लबका रुपमा सफल हुँदै गइरहेको सोचीलाई रुसी फुटबल समर्थकको ठूलो संख्या अझैँ पनि राजनीतिक औजार मान्छ । यस्ता समर्थक सोचीलाई ‘प्लास्टिक’ क्लब मान्छन् । उनीहरुको आरोप छ, सोचीको न त ‘फ्यान बेस’ छ न त इतिहास नै । तर यस्ता आरोपले सोचीको उदयलाई रोक्न सक्ने सम्भावना न्यून छ । बरु आरोप लगाउनेहरु तयार रहनु पर्छ, च्याम्पियन्स लिगमा सोचीले ठूला टिमहरुसँग भिडेको हेर्न । 

सोची त्यसै पनि सामुन्द्रिक तटका लागि युरोपभर प्रख्यात छ । अब पालो एफसी सोचीका नामबाट थप प्रसिद्धी कमाउने । अबका केही वर्षमा युरोपका अन्य देशका फुटबल समर्थकले सोचीको भ्रमण सामुन्द्रिक तटका लागि मात्र गर्ने छैनन्, च्याम्पियन्स लिगका खेलहरु हेर्न पनि गर्नेछन् । (गोलडटकमबाट)


Author

थप समाचार
x