फुटबल

लिभरपुलमा रहने वा नरहनेबारे अहिल्यै भन्‍न सक्दिनः मोहम्मद सलाह

इकागज |
कात्तिक ६, २०७८ शनिबार १४:५५ बजे

काठमाडौँ- मोहम्मद सलाह निर्विवाद रुपमा लिभरपुलका सबैभन्दा ठूला स्टार हुन् । उनको वर्तमान लय, गोल संख्या, उनले राखेका रेकर्ड लगायतले इजिप्टका फरवार्डलाई लिभरपुलको सर्वाधिक महत्वपूर्ण खेलाडी बनाउँछ नै । यतिबेला यिनै सलाहको लिभरपुलसँगको भविष्यबारे चर्चा सुरु भएको छ । 

सलाह र लिभरपुलबीचको सम्झौता जुन, २०२३ मा सकिँदैछ । सम्झौता नवीकरणका विषयमा दुई पक्षबीच छलफल जारी छ । तर निकास निस्किएको छैन । यस्तोमा सलाहले आउँदो ‘समर ट्रान्सफर विन्डो’मा लिभरपुल छाड्ने हल्ला पनि चलिरहेको छ । 


तर सलाहले आफू लिभरपुलमै रहेर चाहेको बताएका छन् । २९ वर्षिय फरवार्डले लिभरपुलबाटै सन्यास लिन चाहेको पनि बताएका छन् । तर लिभरपुलसँगको भविष्य आफ्नो हातमा नरहेको सलाहको भनाइ छ । 

‘करियरको अन्तिम दिनसम्म पनि म लिभरपुलमै रहन चाहन्छु । यहीबाट सन्यास लिन चाहन्छु । तर यो क्लबमा म कहिलेसम्म रहन्छु, भन्न सक्ने अवस्थामा छैन । भविष्यमा के हुन्छ भनेर लिभरपुलले मात्र भन्‍न सक्छ । यो मेरो बसको कुरा होइन,’ सलाहले बेलायतको टेलिभिजन च्यानल स्काईसँग भनेका छन् । 

उनले भविष्यमा आफू लिभरपुलविरुद्ध खेल्न नसक्ने पनि बताए । ‘म लिभरपुलविरुद्ध मैदान उत्रन सक्छु जस्तो लाग्दैन । फरक क्लबको जर्सी लगाएर लिभरपुलविरुद्ध भिडेको दृश्य मलाई सोच्न मन छैन । तर भविष्यमा के हुन्छ, थाहा छैन । सबैकुरा लिभरपुलले लिने कदममा भर पर्छ,’ सलाहले भने । 

सलाहको यस्तो अभिव्यक्तिपछि लिभरपुलमाथि दबाब सिर्जना हुने निश्चित छ । खेलाडी आफैँले आफू एनफिल्डमा रहन चाहेको बताइसकेपछि अब लिभरपुलले सलाहलाई सन्तुष्ट बनाउने किसिमको सम्झौता प्रस्ताव गर्छ वा गर्दैन, हेर्न बाँकी छ । लिभरपुल समर्थक भने जसरी हुन्छ सलाहलाई क्लबमा राख्नु पर्ने बताउँदै आइरहेका छन् । यसकारण लिभरपुलको अभिभावक कम्पनी फेनवे स्पोर्ट्स गु्रप पहिल्यैबाट दबाबमा छ । 

वर्तमान सम्झौता अनुसार सलाह अझैँ १८ महिना लिभरपुलमा रहने छन् । तर सम्झौता नवीकरण नहुने हो भने अर्को १२ महिनापछि उनले अर्को क्लबसँग स्थान्तरणका लागि छलफल गर्न पाउनेछन् ।

यस्तो स्थिती आउन नदिन लिभरपुल सचेत छ । सलाहलाई नयाँ सम्झौतामा राजी गराउन लिभरपुलले उनलाई क्लबको इतिहासकै सर्वाधिक कमाइ गर्ने खेलाडी बनाउनु पर्नेछ । यो बेलायती अखबारहरूको दाबी हो । र, सलाह यसका लागि योग्य पनि छन् । जारी सिजन ११ खेलमा १२ गोल गरेर सलाहले यसको जनाउ पनि दिइसकेका छन् । 


 


Author

थप समाचार
x