फुटबल

एन्फा एकेडेमी पहिलो ब्याचका प्रलयको फुटबल खुसी :

डेब्यु खेलको जर्सी बुबालाई उपहार

प्रविणबिक्रम कट्‍वाल |
मंसिर १८, २०७८ १३:३ बजे

काठमाडौँ- सन् १९९७ मा दक्षिण एसियाली फुटबल फेडेरसन गोल्डकप (हालको साफ च्याम्पियनसिप) आयोजना गरेपछि नेपालको ध्यान एकेडेमी सञ्चालन गर्नेतर्फ मोडियो । यसका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले सन् १९९९ मा नेपालभरिबाट ४० किशोर खेलाडी छनौट गर्‍यो । एन्फा एकेडेमीको नामबाट सञ्चालन हुँदै गरेको एकेडेमीको पहिलो ब्याचका लागि खोजिएका खेलाडीमध्येका एक थिए, प्रलयराज भण्डारी । 

सप्तरीको राजविराजबाट प्रलय काठमाडौँ आइपुगेका थिए फुटबल सिक्ने र पढ्ने उद्देश्यसहित । तर सुरुवात सकसपूर्ण रह्यो । त्यसबेला एन्फा एकेडेमीका प्रशिक्षक रहेका एक विदेशीले भनिदिए, ‘प्रलय फुटबलका लागि योग्य छैनन् ।’ यो लिस्टमा प्रलयसँगै अन्य ६ जना किशोर पनि थिए । तर ती प्रशिक्षकको भनाइसँग एन्फाका तत्कालीन अध्यक्ष गणेश थापा राजी भएनन् । ‘अहिले राम्रो खेल्ने भविष्यमा बिग्रन सक्छन्, अनि अहिले नराम्रो खेल्ने भविष्यमा राम्रो खेलाडी बन्‍न सक्छन्’, गणेशको भनाइ थियो । 


कालान्तरमा ती विदेशी प्रशिक्षक र गणेश दुवै सही सावित भए । प्रलयले नेपाली फुटबलमा नाम बनाए । तर अरु ६ खेलाडीले फुटबललाई करियर बनाउन सकेनन् । हुन त प्रलय आफैँ पनि केही वर्ष एन्फा एकेडेमीको पहिलो टिममा पर्न सकेनन् । सन् २००१ भने उनका लागि सुखद रह्यो । भारतको नयाँ दिल्लीमा आयोजित सुब्रोतो मुखर्जी कप खेल्न जाने एन्फा एकेडेमीको टिममा उनी पनि परे ।   

सुब्रोतो कपका लागि एन्फा एकडेमीका २० खेलाडी दिल्ली लगिएको थियो । तर त्यहाँ एन्फा एकेडेमीको टिममा १६ खेलाडी मात्रै राख्‍न भनिएपछि प्रलय टिमबाट बाहिरिने अवस्था आयो । ठ्याक्कै यही बेला टिमका ६ खेलाडी ‘ओभरएज’का कारण फालिए । अनि टिममा भित्रिए, प्रलय । उनी स्ट्राइकर बनेर खेले र पाँच गोल पनि गरे । एन्फा एकेडेमी फाइनलसम्म पुग्यो । प्रलयले आफ्नो डेब्यु प्रतियोगिता जितेनन् तर धेरैको मन जिते ।

फाइनल खेलका लागि तोकिएका भारतीय रेफ्रीले पक्षपात गरेको भन्दै एन्फा एकेडेमीका विदेशी प्रशिक्षकले  आफ्नो टिमलाई मैदान बाहिर बोलाए । खेलमा आधा घण्टा पनि बितेको थिएन तर एन्फा एकेडेमी एक गोलले पछि परिसकेको थियो । यद्यपि त्यो उपाधि भिडन्तमा एन्फा एकेडेमी हाबी भइरहेको थियो । तर प्रलय र उनका साथीहरूले मैदान नछाडी धर पाएनन् । 

दिल्लीको अनुभव पूर्णरुपमा सकारात्मक नभएपनि प्रलयको करियरले भने गति लियो । तर पोजिसनबारे उनको अन्योल भने कायम थियो । एन्फा एकेडेमीमा विदेशी प्रशिक्षक हुँदा प्रलयको भूमिका स्ट्राइकरको हुन्थ्यो भने नेपाली प्रशिक्षकले उनलाई सेन्ट्रल हाफमा खेलाउँथे । विदेशी प्रशिक्षक आउने जाने भइरहने हँदा, प्रलयको स्थान डिफेन्समै रह्यो । प्रलयलाई ढुक्कैसँग डिफेन्समा खेल्न प्रेरित गर्ने प्रशिक्षक थिए, राजुकाजी शाक्य । 

खुकुरी कप खेल्न पोखरा जानुपर्ने एन्फा एकेडेमी टिमका रक्षक सुनिल लामा घाइते बनेपछि राजुका लागि एउटै विकल्प प्रलय थिए । फेरि शारीरिक बनोट र खेल शैलीका कारण पनि प्रलयका लागि डिफेन्समा खेल्न खासै चुनौती थिएन । ‘त्यसअघि मैले कुनै पनि प्रतियोगिता पहिलो एघारमा परेर खेल्न पाएको थिइँन । खुकुरी कप मेरा लागि मौका थियो । त्यसकारण म डिफेन्समा खेल्न राजी भएँ,’ प्रलय सम्झिन्छन् ।

प्रलयले सन् २००३ को खुकुरी कप र अन्डर-१९ एएफसी युथ च्याम्पियनसिप छनौटमा डिफेन्सबाटै खेले । बंगलादेशमा भएको छनौटमा नेपाल समूह विजेता बन्यो । त्यहाँबाट फर्केको भोलिपल्टै प्रलयले एन्फा एकेडेमीको टिमबाट खुकुरी कपको फाइनल खेल्नु थियो । फाइनलमा मनाङ मस्र्याङ्दी क्लबले एन्फा एकेडेमीलाई पराजित गर्‍यो । त्यो पनि गोल्डन बलमा । सो खेल एन्फा एकेडेमीले गुमायो नै, सोहि खेलामा एक प्रतिभावान् खेलाडी पनि घाइते भए । 

जो थिए, प्रशान्त गिरी । नेपालको अन्डर-१९ तथा एन्फा एकेडेमीका कप्तान प्रशान्त मनाङका गोलरक्षक विनोद डंगोलसँग बलका लागि जुध्दा घाइते बन्‍न पुगेका थिए । त्यसपछि प्रशान्त कहिले पनि स्वाभाविक लयमा फर्किएनन् । अहिले पनि अग्रज फुटबल पत्रकारहरू प्रशान्तको प्रतिभाबारे चर्चा गरिरहन्छन् । 

एन्फाले पहिलो एकडेमीका सबै खेलाडीलाई रिलिज गर्ने भयो । एकेडेमीका पहिलो ब्याचका यी खेलाडीको भविष्य के होला भन्‍ने भय थियो । त्यतिकैमा यी खेलाडीलाई सहिद स्मारक ‘ए’ डिभिजन लिगका दुई क्लब, फ्रेन्ड्स र ब्वाइज स्पोर्ट्सले लिने भए । पहिलो रोजाइका १० खेलाडीलाई फ्रेन्ड्सले अनुबन्ध गर्‍यो  बाँकी ब्वाइज स्पोटर्ससँग आबद्ध भए । प्रलय भने प्रदीप महर्जन, विकास मल्ल, विजय गुरुङ, लोकबन्धु गुरुङ, गौरव थापा लगायतसँगै फ्रेन्ड्सतर्फ लागे ।

एन्फा एकेडेमीमा खारिएका यी खेलाडीको साथमा फ्रेन्ड्स २०६० को लिगमा चौथो भयो । आफ्नो डेब्यु सिजनमा प्रलयको कमाइ थियो, २५ सय रुपैयाँ । अर्को सिजन प्रलय न्युरोड टिम (एनआरटी)तर्फ लागे । त्यहाँ उनको पारिश्रामिकमा वृद्वि भयो । फ्रेन्ड्समा पूरै सिजनका लागि २५ सय रुपैयाँ पाएका उनले एनआरटीमा महिनाकै पाँच हजार रुपैयाँ पाउने भए । पारिश्रामिकमा वृद्वि भएपनि उनको खेलस्तर भने उक्सेन । 

लिगको समाप्तिसँगै मोफसलका प्रतियोगिताका लागि उनी थ्रीस्टारसँग आबद्ध भए । एन्फा एकेडेमीका ग्राजुएट विजय, लोकबन्धु र प्रदीपको प्रेरणामा लिग च्याम्पियन बनेको थ्रीस्टारले प्रलय थप्यो । अनि मोफसलका बुढासुब्बा गोल्डकप र आहा गोल्डकप जित्यो । त्यसपछि प्रलय लिगका लागि थ्रीस्टारमै रहे । थ्रीस्टारको जर्सीमा खेल्न सुरु गरेपछि प्रलयको पोजिसन परिवर्तन भयो । सँगसँगै उनको लोकप्रिता पनि ह्वात्तै बढ्यो । 

‘मेरो भूमिका कन्स्ट्रक्टिभ होइन डिस्ट्रक्टिभ मिडफिल्डरको थियो । विपक्षीको मुभ बिगार्ने र बक्स टु बक्स दौडेर खेल्ने गर्थेँ । थ्रीस्टारबाट खेल्दा म घरेलु फुटबलमा चिनिएँ,’ प्रलय भन्छन् । थ्रीस्टार पुग्दा उनको कमाइसमेत बढ्यो । पूरै सिजनका लागि २५ सय रुपैयाँ लिएका प्रलय थ्रीस्टारमा पुग्दा महिनाको १७ हजार लिने भए । घरेलु फुटबलमा लोकप्रियता कमाउँदै गर्दा प्रलयले गम्भीर चोट बोक्न पुगे । 

२०६३ को लिग उत्तर्राद्धमा पुग्दै गर्दा थ्रीस्टार र नेपाल पुलिस क्लबबीचको खेल थियो । बलियो विपक्षीविरुद्ध खेल्दा प्रलयलाई सेन्ट्रल डिफेन्डरकै भूमिका दिइने भएकाले यो खेलमा उनका लागि मुख्य जिम्मेवारी थियो, पुलिसका हरि खड्कालाई मार्क गर्नु । खेल सकिएको थिएन । थ्रीस्टारले कर्नर पायो । थ्रीस्टारको फितलो कर्नरका कारण पुलिसले बल नियन्त्रणमा लिँदै कायन्टर अट्याक गर्ने स्थिति भएपछि प्रलयले बल बाहिर पठाउन चाहे । यसका लागि उनले पुलिसका रक्षक सुमन सुवेदीलाई पछि पार्नु पर्ने थियो । तर सुमनसँग आमनेसामने हुँदा प्रलय घाइते भए । उनको बायाँ खुट्टामा एसीएल (एन्टेरियर क्रुसेट लिगामेन्ट)को चोट भएको पुष्टि भयो । 

२१ वर्षीय प्रलय लामै समय मैदान बाहिर रहने भए । किनभने एसीएलको समस्या आफैँमा घातक हुन्छ । कयौँ विदेशी स्टारको करियर एसीएलले अन्त्य गरिदिएको छ । फुटबलबाट ‘फोर्सफुल ब्रेक’ लिनुपरेपछि प्रलयले अध्ययन भिसामा अमेरिका जाने निर्णय लिए । हुन त देश छाड्ने निर्णय लिनुका पछाडि चोट मात्रै कारण थिएन । प्रेमिका अमेरिका लागिसकेकाले पनि प्रलय दबाबमा थिए । फेरि एन्फा एकेडेमीका केही साथी अमेरिका पुगिसकेका थिए । यसरी प्रतिभाशाली युवा खेलाडी विदेसिएपछि नेपालका तत्कालीन प्रशिक्षक श्याम थापा निराश भए । ‘अरु खेलाडीको विकल्प छन्, तर प्रलयलाई प्रतिस्थापन गर्ने अर्को खेलाडी छैनन्’ श्याम भन्थे । 

सन् २००६ मा अमेरिका हानिएका प्रलय अहिले नेपालमा छन् । तीनै प्रेमिकासँग विवाह बन्धनमा बाँधिन प्रलय नेपाल आएका हुन् । विवाहका लागि मातुभूमि फर्किएका प्रलय नेपाली फुटबलको स्थिति देखेर चिन्तित छन् । ‘नेपाली फुटबल लथालिङ छ । त्यस बेलाभन्दा अहिलेको नेपाली फुटबल झनै बिग्रेको महसुस भइरहेको छ । फुटबलमा सकारात्मक परिवर्तन भएको देखिएन । फ्रेन्चाइज लिग थपिएको छ । तर यसले नेपाली फुटबलको विकास गर्छ कि विनास, अहिल्यै केही भन्‍न सकिँदैन,’ प्रलयले भने । 

नेपाली फुटबलको भविष्य राम्रो रहेको तर जिम्मेवार निकायमा बसेकाहरू गम्भीर नदेखिएको प्रलयको ठम्याइ छ । हुन त फुटबल नबुझेकाहरु एन्फाको नेतृत्वमा पुगेकाले नेपाली फुटबलले सोचे अनुरुपको फड्को मार्न नसकेको आरोप लगाउनेको कमी छैन । तर नेपाली फुटबल बुझेका वा यस खेलका लागि आफ्नो जीवनको कयौँ वर्ष दिएकाहरूले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने मत पनि बेलाबेला उठ्ने गरेकै छ । फेरि यो प्रश्न प्रलय वा एन्फा एकेडेमी पहिलो ब्याचका अन्य पूर्वखेलाडीहरूका लागि पनि हो । किनभने प्रतिफलको आशासहित देशले प्रलयजस्ता खेलाडीमाथि लगानी गरेको हो । 

‘हामीमाथि निकै लगानी गरिएको छ । तसर्थ नेपाली फुटबललाई हामीले ऋण त तिर्नु नै छ । पहिलो ब्याचका हामी सबै नेपाली फुटबलका विषयमा चिन्तित छौँ । देशको फुटबल सुधार्न हामीले अभियान चलाउन जरुरी छ । यसबाट हामी पछि हट्दैनौँ । निर्वाचन नै लड्न पनि हामी तयार छौँ । हामी निर्णायक ओहोदा वा स्थानमा पुग्ने नै छौँ । तर केही समय लाग्ला,’ प्रलयको भनाइ छ । 

नेपाली फुटबलको भविष्यलाई सुदृढ बनाउने कुरा गरिरहँदा प्रलय आफ्नो विगतलाई सम्झेर गौरव महसुस गर्छन् । राष्ट्रिय टिमबाट खेलेर आफ्नो मात्र होइन बुबाको पनि सपना पूरा गर्न सकेकोमा प्रलयलाई गर्व छ । प्रलयका पिता कुनै समय जनकपुर चुरोट कारखानाको फुटबल टिमबाट खेल्थे । नेपाली फुटबलमा परिचित राजुकाजीसँगै खेलेका प्रलयका पिताको सपना थियो, नेपालको राष्ट्रिय टिमबाट खेल्ने । दुर्भाग्यवश प्रलयका पिताले नेपालको प्रतिनिधित्व गर्न पाएनन् । यद्यपि प्रलय भने यसमा सफल भए । सन् २००५ मा पाकिस्तानमा भएको साफ गोल्डकपबाट प्रलयले नेपालका लागि डेब्यु गरे । उनीसँगै अन्य आठ जना नयाँ अनुहारले पनि नेपालको जर्सी लगाउन पाए । डेब्यु खेलमा लगाएको जर्सी प्रलयले आफ्ना पितालाई उपहारस्वरुप दिएका थिए । 

कुनै समय देशका लागि योगदान गरेँ भन्ठान्‍ने प्रलयलाई नेपाल र नेपाली फुटबल चाँडै छाडेकोमा पछुतो हुन्छ कि हुन्‍न त ? उनले फुटबल छाड्नु आफ्नो बाध्यता रहेको बताए । ‘आफूभन्दा जुनियर खेलाडीले ५०-६० क्याप जितेको सुन्दा चाहिँ आफूले पनि त्यस्तो सफलता हासिल गर्न सकिन्थ्यो भनेर खिन्‍न लाग्छ । तर फेरि आर्थिक सुरक्षाको कुरा पनि आउँछ । म अमेरिका नगएको भए मेरो आर्थिक स्थिति के हुन्थ्यो भनेर अनुमान लगाउँछु । आज पनि पहिलो श्रेणीको लिग खेल्ने धेरै खेलाडी बसमा झुन्डिएर टे«निङमा जान्छन् । थोरै खेलाडीको मात्रै जीवनस्तर सन्तोषजनक छ,’ प्रलय भन्छन् । 

नेपालको फुटबल विकासका लागि बलियो लिग र सक्षम क्लब अनिवार्य रहेको उनको बुझाइ छ । एन्फाले एकेडेमी सञ्चालन गर्नुपर्ने अवस्था आउन नदिन क्लबहरू आफैँ खेलाडी उत्पादन गर्न लाग्नपर्ने प्रलयको सुझाव छ । एन्फा एकेडेमी वा अन्य क्लबका लागि खेलाडी सेलेक्सन होइन स्काउटिङ गर्नुपर्ने तर्क अघि सार्छन्, प्रलय । ‘सेलेक्सनमा बोलाएर एक दिन खेलाएर खेलाडीको प्रतिभा पहिचान हुँदैन । प्रशिक्षकहरू आफैँ स्काउटिङमा निस्कनु पर्छ । त्यसपछि आफूलाई मन परेको खेलाडीलाई ट्रायलमा बोलाए भयो,’ प्रलयको भनाइ छ । 

क्लब लाइसेन्सिङका कारण सहिद स्मारक ‘ए’ डिभिजन लिगका सबै क्लबलाई एकेडेमी सञ्चालन अनिवार्य गरिएको छ । तर क्लबहरूले विभिन्‍न विद्यालय र तीनका मैदानलाई आफ्नो कागजी एकेडेमीका रुपमा प्रस्तुत गरेका छन् । ‘क्लबहरुले साँच्चैको एकेडेमी चलाउनु पर्छ । फरक फरक उमेर समूहको टिम निर्माण गर्नुपर्छ । रिजर्भ टिम पनि बनाउनु पर्छ । अनि न कुनै पनि क्लबको सिनियर टिममा प्रवेश पाउन प्रतिस्पर्धा हुन्छ,’ प्रलय भन्छन् । 

अमेरिका पलायन भएपनि प्रलयले नेपालको राष्ट्रिय टिमको प्रदर्शनललाई नियाल्न छाडेका छैनन् । हालका प्रशिक्षक अब्बदुल्लाह अल्मुताइरीले नेपाली खेलाडीहरूको मनोबल बढाउने काम गरेको निष्कर्ष छ, प्रलयको । ‘उनले नेपाली खेलाडीहरूलाई खुलेर खेल्न प्रेरित गरेका छन् । गोलरक्षकबाट बल सिधैँ स्ट्राइकरसम्म पुर्‍याउनु भन्दा बल पोसेसन राख्‍ने र नडराई खेल्ने प्रयास गर्छ अहिलेको टिमले । तर यसो भनिरहँदा पहिलेको नेपाली टिमले पनि सशक्त फुटबल खेल्ने गरेको तथ्य भुल्न मिल्दैन,’ प्रलय भन्छन् । 

१३ औँ संस्करणमा आएर मात्रै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुग्यो । अन्य नेपाली फुटबल समर्थक जस्तै प्रलय पनि नेपालले यो सफलता अत्यन्तै ढिलो प्राप्त गरेको ठान्छन् । ‘हाम्रो पहिलो ब्याचलाई थप पाँच वर्ष राखेर अन्डर-२३ खेल्ने भएपछि मात्रै रिलिज गरेको भए हामी त्यसबेलै साफ च्याम्पियनसिप जित्न सक्ने थियौँ । कमसेकम फाइनल त पुगिन्थ्यो होला । तर हतार गरेर हामीलाई रिलिज गरियो,’ प्रलयको गुनासो छ । 

खेलाडीहरूलाई निश्चित समयसम्म एकेडेमीमै राखेर ‘ग्रुम’ गर्ने, बढीभन्दा बढी एकेडेमी सञ्चालन गर्ने, उमेर समूहका लिग गराउने, घरेलु लिग बलियो बनाउने जस्ता कार्यहरु गरे मात्रै कुनै पनि देशको फुटबल बलियो हुने हो । यो सामान्य तथ्य हो । एन्फाको नेतृत्व गर्नेहरू यस्ता तथ्यबाट बेखबर छन् भनेर कसैले दाबी गर्न सक्दैनन् । न त नेपाली फुटबलको संरचनागत सुधारका लागि दत्तचित्त भएर लाग्नेको खडेरी छैन भनेर नै कसैले दाबी गर्नसक्ने स्थिति छ । यसैकारण फुटबल पढेर र खेलेर हुर्किएकाहरूले नेपाली फुटबलको मुहान सफा गरुन् भन्‍ने माग आम फुटबल प्रेमीको हो । यसमा प्रलय पनि सहमत देखिए । यद्यपि प्रलय र उनका पूर्व खेलाडी साथीहरू पुन: एकपटक मैदानमा कहिले ओर्लन्छन् भन्‍ने प्रश्नको सार्थक जवाफ आउन बाँकी नै छ ।



Author

प्रविणबिक्रम कट्‍वाल

समसामायिक विषयमा कलम चलाउने कटवाल खेलकुद ब्यूरो चिफ हुन्।


थप समाचार
ad
x