स्वास्थ्य

पर्याप्त भण्डारण कक्ष नहुँदा खोप राख्‍नै समस्या

भण्‍डारण कक्ष खाली भएपछि मात्र निर्यात गर्न सम्बन्धित मुलुकलाई आग्रह गर्दै सरकार

अतिन आचार्य |
पुस ६, २०७८ मंगलबार ८:३० बजे

काठमाडौँ - नेपालमा पछिल्लो समय कोभिड-१९ विरुद्धको खोप दिनदिनै आइरहेको छ। हालसम्म विभिन्‍न मुलुकबाटगरी कूल ३ करोड ८५ लाख ३९ हजार २८० कोभिडविरुद्धको खोप ल्याइसकिएको छ । भेरोसेल, कोभिशिल्ड, फाईजर, मोर्डना जोन्सन एण्ड जोन्सन र अष्‍ट्राजेनिका खोप नेपाल भित्रिएको हो। 

सोमबार मात्र भारत र चीनबाट दुवै मुलुकबाट कूल ३० लाख ७२ हजार तीन खोप ल्याइएको थियो। चीनबाट एशियाली बैंक र भारतबाट कोभ्याक्स सुविधाअन्तर्गत खोप प्राप्‍त भएको हो । 


नेपालमा गत वर्षको माघको पहिलो सातादेखि कोभिडविरुद्धको खोप लगाउन थालिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार २ करोड १७ लाख ५६ हजार ७६३ जनाले कोभिडविरुद्धको खोप लगाइसकेका छन् । ज्येष्‍ठ नागरिकदेखि १२ देखि १७ वर्षसम्मका बालबालिकाले समेत खोप लगाउन थालेका छन् । दीर्घ रोगी,गर्भवतीदेखि अन्य उमेर समूहका मानिसले कोभिडविरुद्धको खोप पाइसकेका छन् ।

विभिन्‍न मुलुकबाट अनुदान स्वरुप प्राप्‍त खोप भण्डारण केन्द्रको क्षमता कम भएकाले भण्डारमा समस्या हुन थालेको छ । खोप आयात हुन थालेको झण्डै एक वर्षमा पनि सरकारले पर्याप्‍त मात्रामा भण्डार केन्द्र बनाउन सकेको छैन । मुलुकको पश्‍चिमी भागमा भण्डार केन्द्र स्थापना गर्न नसक्दा जिल्ला-जिल्लाका भण्डारमा खोप राख्‍न थालिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

सातामा दुई-तीन पटक खोप आयात हुन थालेपछि भण्डारमा समस्या हुन थालेको छ । टेकुस्थित स्वास्थ्य सेवा विभाग परिसरको भण्डारमा सबै खोप राख्‍ने अवस्था नहुँदा खोप भण्डार केन्द्रले ततकालै जिल्ला र प्रदेशमा खोप पठाउन थालेका छन् । भण्डारणकेन्द्रको परिसरमा रहेका फ्रिजसहितका कन्टेनरमा खोप राखिएका छन् । केही सवारीसाधनले भने धमाधम खोप लोड गर्दै खोप लगेको दृश्य परिसरमा देख्‍न सकिन्छ ।

भण्डारमा खोप थुप्रियो, धमाधम जिल्ला र प्रदेश लगिदैँ

खोप भण्डारणमा समस्या हुन थालेपछि भण्डार खाली भएपछि मात्र खोप निर्यात गर्न सम्बन्धित मुलुकलाई सरकारले आग्रह गर्न थालेको पाइएको छ । विभागअन्तर्गत खोप भण्डारण शाखाका प्रमुख बडेबाबु थापाले सहजै खोप भण्डार गर्न समस्या हुन थालेपछि भण्डारण खाली भएपछि मात्र खोप आयात गर्न थालिएको बताए ।

'भण्डारण खाली भएपछि सम्बन्धित मुलुककलाई खोप पठाइदिनलाई आग्रह गर्छौ,' थापाले भने, 'दैनिक खोप ल्याउन थालिएमा भण्डारणमा समस्या हुन सक्‍ने देखिएको छ । 'खोप ल्याइनसाथ विभिन्‍न जिल्ला तथा प्रदेशका भण्डार केन्द्रमा खोप पठाउन थालिसकिएको थापाले जानकारी दिए । 

विभिन्‍न मुलुकले अनुदानस्वरुप प्रदान गरेको खोप भण्डारण केन्द्रमा आउन थालेपछि थप जटिल बन्दै गएको छ । खोपलाई सुरक्षित तरिकाले राख्‍ने स्थान तयार गर्न नसक्दा आयात गर्नुपर्ने मिति सारिनु पर्ने बाध्यता भएको छ ।

एक वर्षमा तीन वटा प्रदेशमा ६ वटा खोप भण्डार केन्द्र तयार भएका छन् । प्रदेश १ को विराटनगरमा एक, प्रदेश २ को जनकपुरमा २, बागमती प्रदेशको हेटौडामा एक र काठमाडौँको टेकुमा २ वटा भण्डार निर्माण गरेको विभागले जनाएको छ । एउटा भण्डार केन्द्रमा १० देखि १२ हजार लिटर खोप संग्रह गर्न सकिन्छ ।

पोखरा,धनगढी, बुटवल र सुर्खेतमा भने भण्डार केन्द्र बन्न बाँकी थापाले जानकारी दिए । 'निर्माण कार्य धमाधम जारी छ,' उनले भने,' खोप भण्डार निर्माण भइरहेको स्थानमा आवश्यकता अनुसार जिल्ला-जिल्लाले खोप लगेर भण्डार गरिरहेका छन् ।'

फाईजर खोप राख्‍न माघमा फ्रिज ल्याइँदै

त्यसैगरी सरकारले बालबालिकालाई लगाउनका लागि फाईजर खोप खरिद गर्ने भए पनि अहिलेसम्म ल्याइ पुर्‍याएको छैन । थापाकाअनुसार खोप खरिद गर्ने भए पनि तत्कालै आइपुग्‍ने अवस्था छैन ।

सरकार फाईजर खोप आयात गर्ने तयारीमा लागे पनि यता भण्डार केन्द्र समेत तयार नगरी अनुदानमा प्राप्‍त गर्ने फ्रिजमा भर परेको छ । युनिसेफ र युएसएडले प्रदान गरेको अल्ट्रा ड्यु फ्रिजमा फाईजर खोप भण्डार गर्ने भएको हो ।

फाईजर खोप राख्‍न माघको पहिलो सातासम्म फ्रिज आइपुग्‍ने थापाले बताए । खोपका लागि सिरिन्ज र फ्रिज तयार भएपछि मात्र कम्पनीले खोप पठाउन लागेको उनले प्रस्ट पारे ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x