घटना-दुर्घटना

‘प्रभावितको उद्धार सक्यौँ, के खुवाउने, कहाँ सुताउने भन्ने चिन्ता छ’

इकागज |
कात्तिक १८, २०८० शनिबार १७:१७ बजे

फाइल फोटो

चन्द्रप्रकाश घर्ती, प्रमुख, भेरी नगरपालिका, जाजरकोट

हामीले उद्धार सक्यौँ । अब राहतका लागि दौडिरहेका छौँ । विस्थापित परिवारलाई कहाँ राख्ने, के खुवाउने, कसरी सुताउने भनेर लागिपरेका छौँ । नगर क्षेत्रका प्रायः घर क्षतिग्रस्त भएका छन् । लत्ता कपडा, भाँडाकुडा, खाद्यान्न नष्ट भएका छन् । प्रभावितलाई बेलुकीको खाना कसरी खुवाउने तथा कसरी बसाउने भन्ने चिन्ता थपिएको छ । भूकम्पबाट प्रभावित सबै जना खुला चौर तथा सडकमा बसिरहनुभएको छ । राहतका लागि ध्यान केन्द्रित गरेका छौँ । 


भूकम्पबाट सबैभन्दा बढी भेरी नगरपालिकामा मानवीय तथा भौतिक क्षति भएको छ । नगरपालिकाको वडा नं १ र ३ मा बढी क्षति भएको छ । अहिलेसम्म ४५ जनाको मृत्यु भइसकेको छ । अझै केही शव संकलनकै क्रममा छ । अझै १०/१५ वटा शव थपिन सक्ने देखिएको छ । भेरी नगरपालिकामा मात्रै ५५ देखि ६० जनाको मृत्यु भएको अनुमान गरिएको छ । एक सय ३४ जनाभन्दा बढी घाइते हुनुभएको छ ।

गए राति ११ः४७ मा भूकम्प गयो । हामी राति १२ बजेदेखि नै उद्धारमा खटियौँ । स्थानीय सरकार, जिल्ला सदरमुकाममा केन्द्रित सम्पूर्ण सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, राजनीतिक दलका नेता तथा कार्यकर्ता, नागरिक समाज, युवालगायतको सहभागितामा उद्धार गर्‍यौँ  । सबैको सामूहिक प्रयासबाट उद्धार सम्भव भयो । घाइतेको खोजी, प्रारम्भिक उपचार गरी थप उपचारका लागि सुर्खेत र नेपालगन्जका अस्पतालमा पठाउने काम बिहान ७ बजेसम्म गरिसकेका थियौँ । रातभर नसुती सबै टोली खटियौँ । सबैको सामूहिक प्रयासबाट त्यो सम्भव भयो । 

सम्पूर्ण घाइतेको उपचार भइरहेको छ । मृतकको शव परीक्षण जारी छ । परीक्षण भइसकेका शव परिवारको जिम्मा लगाइएको छ । मृतकको सङ्ख्या ठूलो भएकाले शव परीक्षणमा संलग्न चिकित्सक दबाबमा हुनुहुन्छ । अस्पतालमा औषधिको कुनै कमि हुन दिइएको छैन । संघ र प्रदेशबाट चिकित्सकसहित औषधि प्राप्त भएको छ । संघ र प्रदेश सरकारको सहयोगलाई हामी सम्मान गर्छौँ ।

अब राहतको तनाव भएको छ । विस्थापितलाई खाने बस्नेको व्यवस्था मिलाउन लागिएको छ । बेलुकी खुला आकाशमा कसरी सुताउने, के खुवाउने, कम्बल, त्रिपाल कसरी व्यवस्था गर्ने भनेर लागि रहेका छौँ । पूर्ण र आंक्षिक क्षति भएका घरको तथ्यांक संकलन भइरहेको छ । भौतिक क्षतिको विवरण संकलनका लागि वडा कार्यालयलाई परिचालित गरेका छौँ । 

मृतक र घाइतेको सङ्ख्या साँझसम्म पुष्टि भइसक्छ । भौतिक क्षतिको विवरण आउन केही दिन लाग्न सक्छ । वडा नं ४ मा रहेका पूराना घरहरु सबै क्षतिग्रस्त भएका छन् । अन्य घरमा पनि आंशिक क्षति पुगेको छ । घरमा फर्केर जान जनता चाहिरहेका छैनन् । 

पहिलो चरणमा प्रभावितलाई राहत विरतण गर्छौं । पीडितलाई मलहमपट्टी लगाउँदै छौँ । त्यसपछि पुनःस्थापनामा ध्यान दिनेछौँ । राहतका लागि विभिन्न संघसंस्थालाई अनुरोध गरेका छौँ । नगरपालिकाले आफ्नो साधनस्रोत परिचालन गरी जनतालाई सहयोग गर्छ । संघ र प्रदेश सरकारलाई पनि सहयोगको अनुरोध गरेका छौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रभावित क्षेत्रको अवलोकन गरेर फर्कनुभएको छ । विश्वास छ, संघीय सरकारले ठूलो सहयोग गर्नेछ । रासस

र, यो पनि

- जाजरकोट र रुकुम पश्चिममा एक/एक हजार थान त्रिपाल, म्याट्रेस र कम्बल पठाउने कोशी सरकारको तयारी

भूकम्प पीडितका लागि बागमती सरकारले १ कराेड ५० लाख रुपैयाँ सहयोग गर्ने

‘भूकम्पको केन्द्रबिन्दुमा कुनै मानवीय क्षति भएन’

पाँच तस्बिरमा भूकम्पले ध्वस्त जाजरकोट र रूकुम पश्‍चिम

१६ जना स्वास्थ्यकर्मी लिएर प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा

भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड जाँदै

जाजरकोट र रुकुम पश्चिममा भूकम्पले मृत्यु हुनेको संख्या ७३ पुग्यो

भूकम्पले सानीभेरीमा पाँच जनाको मृत्यु, १० घाइते

भूकम्प अपडेट : जाजरकोटमा ३७ जनाको मृत्यु, सयौँ घाइते


Author

थप समाचार
x