घटना-दुर्घटना

चिसोले मुसहर बस्तीको जनजीवन कष्टकर, घरमा न ढोका छ न त झ्याल

इकागज |
पुस १२, २०८० बिहीबार ९:५८ बजे

फाइल तस्बिर

नवलपरासी - चिसो बढ्दै जाँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–२ मुसहर बस्तीको जनजीवन कष्टकर बन्दै गएको छ । मुसहर बस्तीमा करिब एक सय १३ घरधुरी बसोबास गर्छन् । उनीहरु दैनिक ज्याला मजदुरीबाट गुजारा गर्ने जनाइएको छ  ।

स्थानीय शान्ति मुसहरले भनिन्, 'जाडोमा न लगाउने न्यानो कपडा छ, न पेटभरि खाने अन्न । जाडो छल्न घामको पार ताप्नु परेको छ।' ब्लकले बनाएको सानो घरमा न ढोका छ न त झ्याल । 'घरमा ओड्ने ओछ्याउने छैन्, पराल ओछ्याएर सुतेका छौँ, श्रीमान्ले काम पाउनुभएको छैन', उनले भनिन्, 'यो चिसोमा बिहान बेलुकाको छाक टार्न पनि मुस्किल भएको छ ।' झुप्रो घरभित्र परालमा सुतेर रात कटाउने शान्ति जस्तै यहाँ धेरै छन् । 


स्थानीय जितनी माझी उमेरले ६५ वर्ष पुगिन् । अहिले काम नभएपछि अन्न र लत्ताकपडा किन्ने पैसा नभएको उनले बताइन् । 'पेटभरि खान पाएको छैन, जाडोमा केटाकेटीले छिनछिनमै खान खोज्छन्, तर खान दिने अन्न छैन', उनले भनिन्, 'मजदुरी  गर्न काम पाइएको छैन , कति दिन भई सक्यो एक छाक खान्छौ ।'

देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले मुसहर बस्तीमा लत्ताकपडा र खाद्यान्न तत्काल व्यवस्था गर्ने जानकारी दिए । उनले भने, 'केही लत्ताकपडा, खाद्यान्न नगरपालिकाको तर्फबाट तत्काल व्यवस्था गर्छौँ । ती समुदायको आर्थिक स्तर माथि उठाउन नगरपालिकाले विभिन्न कार्यक्रम कार्यान्वयन समेत गर्ने छ ।'
 


Author

थप समाचार
x