घटना-दुर्घटना

पोखरामा बस दुर्घटना : एकको मृत्यु, तीनजना घाइते

इकागज |
पुस १४, २०८० शनिबार १६:२६ बजे

काठमाडौँ- पोखरामा सडकमा गुडिरहेको बस ब्रेक फेल भई दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ । बसमा सवार तीन जना घाइते भएका छन् ।

बागलुङबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बस पोखरा महानगरपालिका वडा नम्बर २७ डाँडाकोनाकस्थित सडकमा गुडिरहेको अवस्थामा अचानक ब्रेक फेल हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।


ब्रेक फेल भएपछि बस सडकको दायाँ किनारमा रहेको माटोको ढिस्कोमा ठक्कर खान पुगेको थियो र बसको ठक्करबाट भारतीय नागरिक ३० वर्षीया इश्रावती कुमारीको ज्यान गएको प्रहरीको भनाइ छ ।

पोखरा-२७ स्थित लेखनाथमा जारी लेखनाथ महोत्सवमा बाटा (गमला) बिक्री गर्न जाँदै गर्दा महोत्सवस्थलको गेट अगाडि उनलाई बसले ठक्कर दिएको थियो । बसको ठक्करपछि घाइते भएकी उनलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा चेकजाँचका क्रममा मृत घोषणा गरिएको थियो ।

घाइते हुनेमा तनहुँको म्याग्दे गाउँपालिका–८ घर भएका ३६ वर्षका रामजी गन्धर्व र उनकी श्रीमती ३० वर्षकी विष्णु गायक तथा पर्साको दिप नगरपालिका-१ की ४६ वर्षीया चिजमाया गन्धर्व रहेकी छिन् ।

उनीहरूमध्ये रामजीको बायाँ खुट्टमा, विष्णुको दायाँ हातमा र चिजमायाको दायाँ खुट्टामा चोट लागेको छ । बसमा २० जना सवार रहेकामा अन्य यात्रुको अवस्था सामान्य रहेको छ ।

घटनापछि खटिएको इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले बस र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।


Author

थप समाचार
x