नेकपा (माओवादी केन्द्र) महाधिवेशन विशेष

दाहालको प्रतिवेदनले माथिमाथि उडान गरेको छ, तर जमिनमा खुट्टा टेकेकाे छैन: न्याैपाने

इकागज |
पुस १५, २०७८ बिहीबार १५:३७ बजे

काठमाडौँ - नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले अध्यक्ष पुष्पकमल दाहालको प्रतिवेदनले जमिनमा खुट्टा नटेकेको बताएका छन् । समूहगत छलफलपछि आज १० बुँदै फरक मत राख्दै न्यौपानेले दाहालको प्रतिवेदन माथिमाथि उडान गरेको तर जमिनमा खुट्टा नटेकेको बताएका हुन् ।

 'जमिनमा खुट्टा टेकाउनको लागि नेपाली समाजको आजको चरित्र अथवा अन्तरविरोधहरु, वर्गहरुबीचको सम्बन्ध र संघर्ष, उत्पादन प्रणाली, उत्पादनका साधनमाथिको स्वामित्व र वितरण प्रणालीबारे अनिवार्य विश्लेषण हुनुपर्छ', उनले भने । 


 प्रतिवेदनले नेपाल र नेपालीको समस्या प्रति केही नबोलेको न्यौपानेको ठहर छ । उनले भनेका छन्, 'तीव्र रुपमा भइरहेको आन्तरिक बसाइसराइ र यसले उत्पादन र राजनीतिक आन्दोलनमा पारेको दोहोरो नकारात्मक प्रभाव, विश्व श्रम बजारमा जाने नेपाली जनशक्ति र यसले पैसासँगै राजनीतिक धारणा एवं मतदानमा परिरहेको प्रभाव, विदेश पढ्न जाने विद्यार्थीको बढ्दो संख्या र राम्रो जीवनको खोजीमा विश्वका विभिन्न देशमा जाने नेपाली युवाको एक मात्र लक्ष्य, देशभित्र रहेका किसान, श्रमिक, अति गरीबीको रेखामुनि (२३ प्रतिशत) र गरीबीको रेखामुनि (५६ प्रतिशत) एवं हामीले भन्ने गरेको सर्वहारा वर्गको आकार र अवस्था आदिबारे खोज, अध्ययन र निष्कर्ष विना न प्रतिवेदन जमीनमा टेकेको हुन्छ न त प्रतिवेदनको शीर्षक ‘समाजवादको नेपाली बाटो’ लाई सही सिद्ध गर्न सकिन्छ ।'


Author

थप समाचार
x