संगीत

परिजितालाई भ्वाइसमा पहिलो ‘स्ट्यान्डिङ ओभेसन’

इकागज |
कात्तिक २९, २०७९ मंगलबार १२:३५ बजे

लसएन्जल्स- नेपाली मुलकी परिजिता बास्तोलाले अमेरिकी गायन प्रतियोगिता ‘दि भ्वाइस’को २२ औँ संस्करणमा पहिलो दिनदेखि प्रभाव पार्दै आएकी छिन् । टिम लिजेन्डको हिस्सा रहेकी परिजिताले सोमबारको प्रस्तुतिमा पहिलोपल्ट चारैजना कोचबाट ‘स्ट्यान्डिङ ओभेसन’ पाइन् । १७ वर्षीया परिजिताले ‘स्टार इज बर्न’ फिल्ममा लेडी गागाले गाएको ‘आइ विल नेभर लभ अगेन’ गीत प्रस्तुत गरेकी थिइन् । 

सोमबारको सोमा गायिका तथा नायिका क्यामिला काबेलोले परिजिताको गायनमाथि टिप्पणी गर्ने अवसर पाएकी थिइन् । ‘तिमीले गीतको भावलाई मज्जाले टिपेको पाएँ र तिमी जम्मा १७ वर्षकी छ्यौँ,’ काबेलोको भनाइ थियो, ‘तिम्रो गायकी उच्चकोटिको थियो ।’


उनका कोच जोन पनि काबेलको टिप्पणीप्रति सहमत थिए । ‘उनको गायन भावुक बनाउने र इमानदार थियो । यसले हामी सबैलाई छोयो,’ जोनले भने, ‘तिमीले हामीलाई मुग्ध पार्यौ र यो जादुई थियो ।’

परिजिता १ सय, ६०, ४० हुँदो टप १६ मा पुगेकी हुन् । टप १६ सम्म कोचले छनौट गरेर ल्याएपनि यहाँभन्दा त लभने प्रतियोगिता नकआउट रहन्छ । अर्थात् जसले भोट ल्याउन सक्छ ऊ प्रतियोगितामा रहन्छ । टप १५ हुँदै विजेता बन्नलाई परिजिताले हरेक प्रस्तुतिपछि भोट तान्न सक्नुपर्नेछ । 

परिजिता अहिले मेरिल्यान्डमा सिनियर हाइस्कुल पढिरहेकी छिन् र भविष्यमा बु्रकलिन म्युजिक कलेजमा पढ्ने योजनामा छिन् । परिजिताले नेपालीलाई पनि भोट हाल्न अपिल गरिरहेकी छिन् तर उनी अहिलेसम्म पनि नेपाल भने आउन पाएकी छैनन् । केही दिनअघि काठमाडौँका मेयर बालेन शाहसँग अनलाइनमा कुरा गर्दै उनले भ्वाइस सकेपछि नेपाल आउने सोच बनाएको बताएकी थिइन् ।

सो अवसरमा उनले बालेनको ‘स्याभेज’ बोलको गीत आफ्नो फेवरेट गीत भएको बताएकी थिइन् । परिजितालाई जिताउन अमेरिकामा बस्ने नेपालीहरूले भोटिङ क्याम्पेन पनि चलाइरहेका छन् । 


Author

थप समाचार
x