संगीत

प्रकाश सपुतको ‘सकम्बरी’लाई दिनको १ लाख दर्शक

इकागज |
बैशाख २६, २०८० मंगलबार १४:३० बजे

काठमाडौँ - सबैभन्दा चाँडो करोड क्लबमा छिरेर इतिहास बनाएको प्रकाश सपुतको ‘सकम्बरी’गीतको हेरिने रफ्तार कम भएको छैन । रिलिजको २५ दिनसम्म आइपुग्दा गीतले २ करोड ५३ लाख भ्युज पाएको छ । गीतले पहिलो हप्ता नै एक करोड भ्युज पाएर छोटो समयमा नै करोड क्लबमा इतिहास बनाउन सफल भएको थियो । २५ दिनमा २ करोड ५० लाख दर्शक पाउनुले गीतले हरेक दिन १ लाखका दरले भ्युज पाएको आँकलन गर्न सकिन्छ । 

मंगलबार प्रकाश सपुतले गीतले पाएका दर्शकको आँकडा सेयर गर्दै २५ दिनमा २५ मिलियन दर्शक पाएको जानकारी गराएका छन् । उनले जानकारी सेयर गर्दै लेखेका छन् – ‘२५ दिनमा २५ मिलियन बढि पटक हेरिएको छ – सकम्बरी । साँच्चिकै हाम्रो सोच, हाम्रो प्रयास र हाम्रो अपेक्षा भन्दा कैयौ गुणा माया हामीले प्राप्त गरेका छौँ । यो एउटा इतिहास हो । सबै – सबै नेपाली दर्शक स्रोता, शुभेच्छुक , शुभचिन्तकहरुमा मुरी मुरी धन्यबाद , मायाको साटोमा धेरै माया ।’


सार्वजनिक भए लगत्तै प्रकाश सपुतको गीत विवादमा परेको थियो । महिलालाई भोग्य वस्तुको रुपमा भिडियोमा चित्रित गरिएको भन्दै यसको विरोध भएको थियो । गीतले प्रकाश सपुतको चेतनाको स्तर देखाएको भन्दै विरोध हुँदा सपुतले गीतले समाजमा विद्यमान अवस्था प्रस्तुत गरेको दाबी गरेका थिए । तर पछि तीव्र विरोधपछि आफूबाट प्रस्तुतिका क्रममा गल्ती भएको भन्दै माफी मागेका थिए । 


Author

थप समाचार
x