प्रमुख समाचार

के–के काम गर्‍यो प्रदेश सभा-१ को हिउँदे अधिवेशनले ?

लीलावल्लभ घिमिरे |
बैशाख ६, २०७८ सोमबार २१:४ बजे

विराटनगर : प्रदेश सभा–१ का अघिल्ला ६ वटा बैठकले ४९ वटा विधेयक पारित गर्‍यो भने  ५ वटा विधेयकको संशोधन गर्‍यो । अन्य प्रदेशको तुलनामा धेरै विधेयक बनाएको प्रदेश–१ सातौं बैठकमा आइपुग्दा एकै दिन पनि पूर्णरूपमा बैठक सञ्चालन नगरी अन्त्य गर्नु पर्ने अवस्थामा पुग्यो । सातौं तथा हिउँदे अधिवेशन तीन महिनासम्म चल्यो । अधिवेशनमा ८ बैठक बसे । तर, कुनै बैठक पूर्णरूपमा बस्न पाएनन् । 

अधिवेशनको अन्त्य पनि नाराबाजीबीच गर्नु पर्‍यो । आइतबार सातौं हिउँदे अधिवेशनको अन्त्य सभामुख प्रदीप भण्डारीले विपक्षी दलको नाराबाजीबीच प्रदेश प्रमुखको कार्यालयबाट आएको अधिवेशन अन्त्यसम्बन्धी पत्र पढेर गरे । 


प्रदेश सभाका यसअघिका ६ बैठक बिना अवरोध सञ्चालन हुँदै आएका थिए । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सदनमा विरोध नगरेको भन्दै सार्वजानिक आलोचन समेत खेप्नु परेको थियो । तर सातौं अधिवेशनमा आइपुग्दा एक दिन पनि पूर्णरूपमा सञ्चालन नभइ अधिवेशनको अन्त्य गर्नु पर्ने अवस्था आइपुग्यो ।
 
माघ ७ गते सुरु भएकोसातौं अधिवेशन मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गरेका हुन् । प्रतिपक्षी दलहरूले सदन अवरुद्ध गरी राख्ने रणनीति बनाएको भन्दै सरकारको सदनको अन्त्य गर्ने बाटो रोजेको हो ।
 
मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गतेको लागि बोलाइएको थियो । 

पटक–पटक स्थगित भएको प्रदेशसभाको बैठकमा फागुन ९ गते सरकारी पक्षको बहिष्कारबीच अविश्वास प्रस्ताव पेश भएको थियो । तर, प्रस्तावमाथि प्रदेशसभाले छलफल अगाडि बढाएन । सर्वोच्च अदालतले नेकपाको एकता भंग गरेपछि भने अविश्वास प्रस्ताव फिर्ता भएको थियो ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीले चालू वर्षका लागि स्वीकृत कार्यक्रमहरू सुचारू गर्नुपर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका बहुवर्षे विकास आयोजनाको काम सुचारु गर्नुपर्ने माग गर्दै पछिल्ला बैठक अवरुद्ध गदै आएका थिए । 

विधेयक अधिवेशनको रूपमा चिनिने हिउँदे अधिवेशनमा एउटा पनि विधेयक प्रदेश सभामा टेबलसमेत भएन । प्रदेश सरकारले कृषि अनुदानसम्बन्धि एउटा विधेयक प्रदेश सभा सचिबालयमा लगेको भए पनि प्रवेश पाएन । 

२०७४ सालमा सुरु भएको प्रदेश सभाको पहिलो बैठकले जम्मा ११ वटा विधेयकहरु पारित गर्‍यो । यसका साथै पहिलो बैठकले प्रदेश १ को सभा निमावली समेत बनायो । २०७५ सालमा बसेको प्रदेश सभाको दोस्रो बैठकले १२ वटा विधेयक पारित गर्‍यो । यसै गरी तेस्रो बैठकले ६ वटा विधेयक पारित गर्नुका साथै प्रदेश सभा नियमावलीको पहिलो संशोधन समेत गर्‍यो । 

यसै गरी चौथो तथा बजेट अधिवेशनले १४ वटा विधेयकहरु पारित गरेको थियो । २०७६ सालमा आइ पुग्दा पाचौं तथा हिउँदे अधिवेशनले जम्मा एउटा मात्र विधेयक पारित गर्‍यो । अधिवेशन चली रहदा प्रदेश सभा सचिवालयमा ६ वटा विधेयक दर्ता भएका थिए । 

२०७७ सालको छेटौं तथा बजेट अधिवेशनमा आइ पुगेर प्रदेश सभाले संशोधन सहितका १० वटा विधेयकहरु पारित गर्‍यो । तर सातौं तथा हिउँदे अधिवेशनले नत कुनै विधेयक नै पारित गर्‍यो । त न छलफललै भयो । 
 


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x