प्रमुख समाचार

ओलीमा संविधानभन्दा माथि छु भन्‍ने भ्रम छ : खाण

दबाबमा अदालतको निर्णय आए देशव्यापी बहिस्कार गर्ने चेतावनी

बिक्रम खड्का |
माघ १९, २०७७ सोमबार १८:१३ बजे

बुटवल : नेपाली कांग्रेसका नेता वालकृष्ण खाणले ओलीलाई संविधानभन्दा माथि छु भन्‍ने भ्रम नपाल्न चेतावनी दिएका छन् । रुपन्देहीमा सोमबार पार्टी भ्रातृसंस्थाको विरोध सभामा खाणले ओली योजनाबद्ध रूपमै संविधानविपरीत अधिनायकवादको वाटोमा अघि बढेको आरोप लगाए । 

‘धेरै नउठ्नुस, आकासमा उठिरहेको चंगा पनि हातको घागो चुडिएमा खस्‍ने भुईमै हो । सत्ताबाट बाहिरिनु पर्दा तपाईंको हालत त्यस्तै हुन्छ,’ खाणले भने । 


ओलीले दिन प्रतिदिन अधिनायकवादी शैली अपनाइरहेको बताएका छन् । उनले मिडिया विधेयक,  गुठी विधेयकजस्ता जनविरोधी विधेयकबाट अघि बढेका ओली प्रतिनिधि सभा विघटनसम्म आइपुग्दा जनताको कलंकित पात्रका रूपमा चित्रित हुँदै गएको बताए । 

‘दोस्रो कार्यकाल प्रधानमन्त्री भएकै दिनदेखि ओलीले गरेका मिडियाको घाटी निमोठ्न मिडिया विधियक, संस्कृतिमाथी हस्तक्षेप गर्न गुठी विधेयक ल्याए, त्यति मात्र होइन, नीति कार्यक्रममा मेरो सरकार भने, संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन नै गरे, उनि निरन्तर अधिनायकवादको वाटोमा अघि बढेका छन्,’ खाणले भने, ‘ अहिले ओलीले आफूमाथि कसैले बोल्न नपाओस् भनेर सदनको हत्या गरे ।’

कांग्रेसले सुरुदेखि नै ओलीको कदमको विरोध गरेको भन्दै अहिले विघटनविरुद्ध आन्दोलन गर्ने विषयमा विषयमा कुनै विवाद नभएको खाणले बताए । ओलीले सबैलाई अपमान गर्दै हिडेको भन्दै उनले जनतालाई खिसिट्युरी गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको बताए । 

खाणले अदालत सरकारको छाँया नभएकाले कानुन र संविधानका आधारमा फैसला गर्नेमा आफू विश्वस्त रहेको बताए । उनले कसैको दबाब र प्रभावमा दिने फैसला जनताले मानिदिन्छन् भन्‍ने भ्रममा नरहन पनि सुझाए । संविधानभन्दा बाहिर गएर अदालतले फैसला आए फैसला बहिस्कार गरिने उनको भनाइ छ । 
 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x