संसद्

बाढीका कारण अवरुद्ध सडक पुल निर्माण कार्य आजैदेखि सुरु भएको छ : मन्त्री ज्वाला

इकागज |
असार ३, २०८० आइतबार १५:३३ बजे

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बाढीका कारण अवरुद्ध सडक पुल निर्माण कार्य आजैदेखि थालनी गरिने बताएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै शनिबार राति हेवा खोलामा गएको बाढी पहिरोको विषयमा जानकारी दिँदै मन्त्री ज्यावाले संखुवासभा र पाँचथरको उत्तरी क्षेत्रमा आएको बाढीका कारण अवरुद्ध सडक पुल निर्माण कार्य आजैदेखि थालनी गरिने बताएका हुन् । उनले सरकारले बाढीका कारण अवरुद्ध सडक खुला गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको जिकिर गरे ।


बाढी पहिरोका कारण भौतिक पूर्वाधार सडक र पुलको मात्रै करिब ५० करोड र केही मानवीय क्षति समेत भएको उनले बताए । उनले क्षति भएको हेवा खोलाको पुल भत्किएको ठाउँमा बेलिब्रिज बनाउने काम आजैदेखि सुरुवात गरेको बताए । उनले १० दिनभित्रमा बेलिब्रिज जडान गर्नेगरी कामलाई अघि बढाएको बताए ।

मन्त्री ज्वालाले बाढीको कारण क्षति भएको विभिन्न स्थानको अवरुद्ध भएको सडक खुलाउनका लागि सडक डिभिजन कार्यालय इलाम, यान्त्रिक कार्यालय फिदिम, तमोर करिडोर योजना कार्यालय र मध्यपहाडी सडक कार्यालयका पदाधिकारीहरूलाई मन्त्रालयले निर्देशन दिएको उल्लेख गरे । उनले सडक विभागबाट आकस्मिक रुपमा काम गर्ने गरी बेलिब्रिज निर्माण गर्न डिभिजन कार्यालय इलामलाई निर्देशन दिइएको पनि बताए ।

बेलिब्रिज नबनेसम्म जमिनको सतहबाट नै डाइभर्सनको माध्यमबाट सडक खुलाउने तयारी सरकारको रहेको मन्त्री ज्वालाकाे भनाइ छ । उनले वर्षायाम सुरु भएसँगै बाढी पहिरोको कारण सडक अवरुद्ध हुने विषयलाई ध्यानमा राखेर पूर्वतयारीको कामलाई अघि बढाएको जानकारी दिए ।

शनिबार राति संखुवासभाको हेवा खोलामा आएको बाढीमा मात्रै १६ जना बेपत्ता भएका छन् । चैनपुर नगरपालिका–४ स्थित हेवा खोलामा निर्माणाधीन जलविद्युत आयोजनामा १९ जना कार्यरत रहेकोमा १६ जना बेपत्ता भएका छन् । बाढी पहिरोका कारण मेची राजमार्ग अवरुद्ध भएको छ ।

बाढीले जिल्लाका पाँच वटा पुल बगाएको छ । मेची राजमार्गस्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोला पुलसमेत बगेको छ । तमोर करिडोरको ‘बेलिब्रिज’ पनि बाढीले बगाएको छ । फालेलुङ गाउँपालिका–३ मच्छेबुङमा मोटरेबल पुल बगाएको छ ।

 


Author

थप समाचार
x