संसद्

शून्य समयमा सांसदहरूले के बोले ?

इकागज |
कात्तिक १६, २०८० बिहीबार १४:२६ बजे

फाइल फोटो

काठमाडौँ- राष्ट्रिय सभाका सांसदहरूले चाडपर्वका समयमा बजारमा खाद्यान्न र चिनीको अभाव देखिएको जनाउँदै खाद्यान्नको आपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । 

बैठकको शून्य समयमा सांसद इन्दिरादेवी गौतमले इजरायलमा हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली विद्यार्थी विपिन जोशीलाई छुटाउन सरकारबाट भएको पहलका बारेमा जानकारी माग गरिन् । साथै उनले वैदेशिक रोजगारीका लागि मेनपावर कम्पनीले निःशुल्क पठाउने भने पनि सर्वसाधारणबाट रकम उठाइरहेको जनाउँदै सरकारको ध्यानाकर्षण गराए । 


सांसद गङ्गाकुमारी वेल्वासेले चाडपर्वका बेला बजारमा देखिएको खाद्यान्न र चिनीको अभाव तथा कालोबजारी नियन्त्रण गर्न माग गरिन् । सांसद गोपाल भट्टराईले चाडपर्वका समयमा जनता महँगीको मारमा परेको र आधारभूत आवश्यकताको अभाव भएको, महँगी बढेको, चिनीको अभाव देखिएको भन्दै उचित व्यवस्थापन गर्न माग गरिन् । 

सांसद तुलसाकुमारी दाहालले धनुषाका आरती साहको गत जेठ ६ गते ससुरालीमा हत्या भएको र आफन्तले न्यायका लागि माइतीघरका एक सय ३९ दिन धर्नामा बस्दासमेत न्याय नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । 

सांसद वामदेव गौतमले राष्ट्रिय सभाबाट पारित भएको राष्ट्रिय मर्यादासम्बन्धी विधेयकका बेला आफू अनुपस्थित रहेको जनाउँदै सो विधेयकमा गम्भीर त्रुटी रहेको बताए ।  साथै उनले उक्त प्रावधानले नेपाली जनतालाई विभाजन गर्ने धारणा व्यक्त गरे । 

सांसद भगवती न्यौपानेले तनहुँमा सुविधा सम्पन्न अस्पताल नभएको र उपचार नपाएर जनताले ज्यान गुमाउनुपरेको उल्लेख गर्दै सो सम्बन्धमा सरकारको  ध्यानाकर्षण गराए । 

सांसद राधेश्याम पासवानले धनुषाकी आरती साहको हत्या भएको पाँच महिना भइसक्दा पनि न्याय नपाएको भन्दै तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे । सांसद विमला घिमिरेले कपिलवस्तु–अर्घाखाँची सडकअन्तर्गत बाणगङ्गा नदीमा पुल निर्माणका लागि पाँच लाख मात्र विनियोजन गरिएको र यसले टेण्डर हुन नसेकेको भन्दै टेण्डर हुने गरी बजेट विनियोजन गर्न माग गरे । 

सांसद शारदादेवी भट्टले बझाङ र धादिङमा गएको भूकम्पबाट पीडित जनतालाई क्षतिपूर्ति दिन र उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराइन् ।  बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले 'विद्युतीय व्यापार विधेयक, २०८०' सम्बन्धी समितिको प्रतिवेदन पेस गरेकी थिइन् । रासस


Author

थप समाचार
x