दल

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार असफलताको दिशामा गइरहेकाे छ : शेखर कोइराला

इकागज |
असोज १८, २०८० बिहीबार २१:५१ बजे

बुटवल- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकार असफलताको दिशामा गइरहेको बताएका छन् ।  नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर ४ को क्षेत्रीय सम्मेलनलाई बिहीबार मायादेवी गाउँपालिका–६ स्थित बेथरीमा सम्बोधन गर्दै डा. कोइरालाले यस्तो बताएका हुन् ।

उनले वर्तमान सरकार दिनप्रतिदिन आलोचित भइरहेको भन्दै अब धेरै दिन यसरी बस्न नसकिने दाबी गरे । उनले कांग्रेस ९ मन्त्रालयसहित सरकारमा रहे पनि संसदीय व्यवस्थामा प्रधानमन्त्रीले जे भन्यो त्यही हुने बताए । उनले मुलुकको विकासका लागि कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेकोमा जोड दिए ।


वर्तमान सरकार सच्चिनुपर्ने कोइरालाको भनाइ छ । प्रधानमन्त्रीले कसको विरुद्ध मानिस सडकमा ल्याउने भन्दै प्रश्न उनले गरेका छन् । उनले प्रचण्डले दुई महिनाभित्र दुई लाख मानिस सडकमा जम्मा गर्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति समेत जनाएका छन् । उनले भने, ‘प्रचण्ड पार्टीको अध्यक्ष मात्र भएको भए मैले यो कुरा स्वीकार्थे, तर उहाँ तपाई हाम्रो प्रधानमन्त्री पनि हुनुहुन्छ । देशको प्रधानमन्त्रीले कसको विरुद्ध मानिस सडकमा ल्याउने ?’

प्रधानमन्त्री प्रचण्डले २०८४ मा माओवादीलाई जिताउ म तपाईंहरूलाई जातीय राज्य दिन्छु भनेको भन्दै उनले आपत्ति व्यक्त गरे । उनले भने, ‘हामी जातीय राज्यमा जान सक्दैनौँ । नेपाल बहुभाषिक, बहुजातीय, बहुधार्मिक मुलुक हो । यहाँ कुनै जातजातिको बाहुल्यता छैन । पहिला पनि मुलुकलाई जातीय राज्यमा लग्न खोजेकै हुन् । तर, सकेनन् । ’

नेता कोइरालाले २०८२ मंसिरभित्र नेपाली कांग्रेसको महाधिवेशन हुने गरी लाग्न नेता कार्यकर्ताहरूलाई आग्रह पनि गरे । उनले आफू सभापति पदमा पराजित भए पनि पार्टी सभापतिसँग सौहार्दपूर्ण सम्बन्ध रहेको बताए । ‘विधि र विधानसम्मत अगाडि बढ्नुपर्ने हाम्रो माग हो, ४० प्रतिशत भाग खोजेका छैनौं,’ उनले भने ।

पुराना र लामो समयदेखि योगदान पुर्याउने मान्छेलाई पाखा लगाउने र नयाँ मान्छेलाई केन्द्रीय सदस्य बनाउने हो भने यसले कांग्रेसलाई कमजोर बनाउने डा. कोइरालाको भनाइ छ । पार्टीमा गुट–उपगुट हुने र ऊर्जाका लागि पनि त्यो आवश्यक भए पनि गुट–उपगुटले एकआपसमा कुरा हुनु नै बन्द गर्नु भने गलत रहेको उनले बताए ।


Author

थप समाचार
x