दल

देउवालाई शेखरको प्रश्न : कोशीमा संसदीय दलको नेता किन परिवर्तन नगरेको ?

बाबुराम भण्डारी |
कात्तिक ३, २०८० शुक्रबार १८:३१ बजे

विराटनगर- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कोशी प्रदेशमा अहिलेसम्म संसदीय दलको नेता परिवर्तन नगरेको भन्दै सभापति शेरबहादुर देउवा समक्ष असन्तुष्टि पोखेका छन् । कोशीमा संसदीय दलका उद्धव थापा दुई पटक अदालतबाट बर्खास्त भइसकेपछि सभापति देउवालाई दलको नेता परिवर्तन गर्न गरेको आग्रह नमानेका कारण अहिलेको अवस्था उत्पन्न भएको बताए ।

शुक्रबार विराटनगरमा संचारकर्मीहरूसँगको संवादमा नेता कोइरालाले संविधानको धारा १६८ को उपधारा (५) बमोजिमको सरकार बन्नुअघि नै दलको नेता परिवर्तन गर्ने विषयमा सुझाव दिएको तर देउवाले बेवास्ता गरेको दाबी गरे । 


‘वहाँ (देउवा) आफैले के भन्दै हुनुहुन्थ्यो भने उद्धव जीले दुई पटक भइसक्यो सफल हुन सक्नुभएन, एकपटक त के पनि भन्नुभयो भने उद्धव जीले नै आएर भन्नुभयो म त उठ्दिन होला भनेर भन्नुभयो,’ कोइरालाले भने, ‘मलाई फेरि सोध्नुभयो के गर्ने भनेर, त्यसो भए संसदीय दलको नेता चेन्ज गर्नुस् सभापतिज्यू भन्दाखेरी वहाँले त्यो त्यति रुचाउनु भएन । चेन्ज गरेको भए भइहाल्थ्यो जो बनेको भए पनि ।’

देउवाले दलको नेता परिवर्तन गर्न रुची नदेखाएका कारण उपधारा (५) बमोजिमको सरकार गठनको छलफल सुरु भएको कोइरालाले संकेत गरे । कोशी प्रदेशको समस्यालाई लिएर आफू र सभापति देउवाबीच ३–४ पटक छलफल भएको जानकारी दिए ।

सभापति देउवाले पुनः आफूलाई के गर्ने भनेर सोधेको दाबी गर्दै कोइरालाले भने, ‘फेरि छलफल हुँदै गयो, मलाई सोध्नुभयो के गर्ने भनेर, मैले नाम (केदार कार्कीको) दिएँ कुरा त्यति हो ।’

उनले कोशी प्रदेशको स्थिति भिन्नै रहेकोले संघीय सरकारमा यसको कुनै पनि असर नपर्ने बताए । कोइरालाले कोशी प्रदेशमा अहिले जे अवस्था छ त्यसैलाई सबैले मिलाएर लानुपर्ने बताए । 

विगतदेखि नै कुनै पनि राजनीतिक दलको गठबन्धन गर्दा पनि नभएकोले १० महिनादेखि यसैमा लागेको र जसका कारण कोशी प्रदेश अरु प्रदेशभन्दा धेरै पछाडि परेको बताए । दुविधा बढ्दै गएका कारण आफूले दुविधालाई हामीले सुल्ट्याइएको नेता कोइरालाले दाबी गरे ।

सबै दलहरूले कोशी प्रदेशको विषम परिस्थितिलाई बुझेर मात्रै निर्णय गर्नुपर्ने बताए । कोशीमा सर्वदलीय सरकार बन्छ त ? भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘दसैँसम्म वेट गर्नुस्, अहिले को भित्र घुस्यो, को बाहिर भनेर नहेर्नुस्, हेर्दै जानुस् दसैँपछि आफैँ हुन्छ ।’

गठबन्धनकै देशको अवस्था सुध्रिने र नसुध्रिने भन्ने कुरा नभएको बताए । देश सुधार गर्नका लागि सबैभन्दा ठूलो कुरा देश चलाउन नेतृत्व गर्ने व्यक्तिहरूको इच्छा शक्ति हुनुपर्ने बताए । अहिले पनि देशको अर्थतन्त्र सहि बाटोमा नरहेको टिप्पणी गरे । उनले भने, ‘अर्थतन्त्र जसरी जाँदैछ त्यसलाई हामीले म्यानेज गर्न सकेका छैनौं, यसमा अर्थमन्त्री र प्रधानमन्त्रीको पनि दोष होला ।’ 

कोइरालाले आफू कांग्रेसबाट प्रधानमन्त्री बन्ने भन्ने कुरा सजिलो नभएको बताए । समय आए पनि केन्द्रीय सरकार आफैँ परिवर्तन हुने दाबी गरे ।

‘प्रधानमन्त्री भन्ने कुरा त्यसै हुने होइन, प्रधानमन्त्री हुनलाई संख्या महत्वपूर्ण हुन्छ,’ उनको भनाइ थियो, ‘केन्द्रीय सरकार परिवर्तनको कुरा समय आएपछि आफैँ हुन्छ ।’

साथै प्रदेशमा १६८ को (५) र संघमा ७६ को उपधारा (५) नै ‘डिफेक्टिभ’ भएको दाबी गरे । संविधानको यस्तो व्यवस्था राख्नै नहुने कोइरालाको भनाइ थियो । उनले संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई केही पनि अधिकार नदिने हो भने संसदीय व्यवस्था चल्नै गाह्रो हुने भएकोले संविधानको यो प्रावधान नै हटाउनु पर्ने बताए ।

उनले भने, ‘त्यसमा त व्यक्तिबाट संसद भनेर लेखेको छ, व्यक्तिबाट गर्न पाइन्छ भनेपछि त त्यहाँ संसदीय दल नै कहाँ कुरा आयो, संविधान बनाउँदा नै हामीले गल्ती गरेको हो ।’


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x