दल

राजनीतिक नेतृत्वको साँठगाँठ नभएसम्म ठूला भ्रष्टाचार हुनै सक्दैन : शेखर कोइराला

इकागज |
मंसिर ३०, २०८० शनिबार १९:४४ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भ्रष्टाचारमा राजनीतिक दलहरू डुबेका कारण विभिन्न प्रकरणहरू सार्वजनिक भइरहेको बताएका छन् ।

विराटनगरमा शनिबार दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले आयोजना गरेको पुरस्कार समर्पण कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिक नेतृत्वको साँठगाँठ नभएसम्म ठूला ठूला भ्रष्टाचार हुनै नसक्ने बताएका हुन् । उनले अहिले मुलुकका राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा अराजकता बढेको बताए ।


एनसेल प्रकरणमा राजनीतिक दलका नेता, व्यापारी र कर्मचारीको मिलेमतोमा अर्बौं रुपैयाँका भ्रष्टाचार भएको उनले दाबी गरे । नेता कोइरालाले राजनीतिक दलका नेता र नेतृत्वका कारण व्यवस्थाप्रति नै जनताको वितृष्णा बढेकाले सच्चिएर अघि बढ्नुको विकल्प नभएको धारणा राखे ।

कार्यक्रममा ५१ हजार राशीको भाषा साहित्य पुरस्कार वरिष्ठ साहित्यकार भागिरथी श्रेष्ठलाई र २५ हजार राशीको राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई प्रदान गरिएको छ । 


Author

थप समाचार
x