दल

प्रचण्ड सरकारको एक वर्ष काण्डै काण्डमा बित्यो : मोहन श्रेष्ठ

इकागज |
पुस १०, २०८० मंगलबार १३:२७ बजे

फाइल तस्बिर

काठमाडौं - राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले प्रचण्ड नेतृत्व सरकार एक वर्ष काण्डै काण्डमा बितेको बताएका छन् । 

प्रचण्ड सरकारसँग सुशासन, रोजगारी सिर्जना, चलायमान अर्थतन्त्र, महंगी नियन्त्रण, विकासका प्रयासहरूदेखि कमसेकम गरि खान पाउने वातावरणको निर्माण जनताका न्यूनतम् अपेक्षा गरिएको भए पनि एक वर्ष निराशा जनक रहेको बताउँदै उनले सरकार विभिन्न काण्डै काण्डमा परेको बताए । 


‘सुनकाण्ड, नक्कली भुटानी शरणार्थी काण्ड, एनसेल काण्डजस्ता काण्डहरूमा देखिएका तमासा, उच्च राजनीतिक नेतृत्वको संलग्नता, जोगाउने र फसाउने गोलचक्करमै एक वर्ष व्यतीत भएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘घरेलु शक्तिबीचको एकताबाट निर्माण गरिएको समीकरण भत्काएर विदेशी शक्ति रिझाउने गरी बनाइएको गठबन्धनले कसको स्वार्थ पूरा गर्‍यो वा गर्नेछ त्यो क्रमशः देखिँदै जाला, तर सरकारको एक वर्षे अवधिमा नेपाल र नेपाली जनताले उज्यालो महसुस गर्न भने सकेनन्, पाएनन् ।’ 

प्रचण्ड नेतृत्वको सरकार कम्पास हराएको पानी जहाजजस्तो भएको टिप्पणी गर्दै उनले भने, ‘दिशाविहीन सरकार, कम्पास हराएको पानीजहाज जस्तो ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएको मंगलबार एक वर्ष पूरा भएको छ । १० पुस २०७९ मा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनी नेतृत्वको सरकारले एक वर्ष पूरासँगै समीक्षा भइरहेको छ ।  

प्रधानमन्त्रीमा नियुक्त हुँदा राप्रपासहितको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा भएका थिए । तर, पछि कार्यशैलीप्रति चित्त नबुझेपछि राप्रपाले समर्थन फिर्ता लिएको थियो ।


Author

थप समाचार
x