दल

देशी-विदेशी प्रतिक्रियावादी शक्तिहरूले मुलुकमा षड्यन्त्रका तानावाना बुनिरहेका छन् : माधव नेपाल

इकागज |
पुस ११, २०८० बुधबार १४:३६ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशीविदेशी प्रतिक्रियावादी शक्तिहरूले मुलुकमा षड्यन्त्रका तानावाना बुनिरहेको बताएका छन् । बुधबारबाट ललितपुरमा सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष नेपालले प्रतिगामी शक्तिहरूले संविधानमाथि आक्रमण गर्ने काम फेरि सुरु गरेकाले राजनीतिक दलहरूले फेरि गम्भीर भएर अघि बढ्नुपर्ने आवश्यकता पनि औंल्याए । उनले मुलुकलाई फेरि संकटबाट जोगाएर अघि बढ्नका लागि समाजवादी मोर्चामा आबद्ध सबै दलहरू एकताबद्ध भएर अघि बढ्न सहमत रहेको दाबी समेत गरे ।


समाजवादी मोर्चाको संयोजकको हैसियतले आफूले त्यहाँभित्र पनि मुलुकको जटिल राजनीतिक परिस्थितिको बारेमा छलफल भित्र्याएको र त्यसको समाधानका लागि मोर्चामा आबद्ध सबै दलहरू एक भएर अघि बढ्न सहमत रहेको अध्यक्ष नेपालले बताए । उनले संविधान जोगाउनका लागि आफूहरूले विगतमा एमालेभित्रैबाट विद्रोह गर्नुपरेको र त्यसमा सफलता हात लागेको जिकिर समेत गरे ।

अध्यक्ष नेपालले नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाउन, बनाउन र लोकप्रिय बनाउने काममा कसरी लाग्न सकिन्छ भन्नेबारेमा पनि समाजवादी मोर्चाभित्र छलफल सुरु गरिएको बताए । 

 


Author

थप समाचार
x