दल

भन्सारबाट लिने ४५ प्रतिशत पुरस्कारको सूची सार्वजनिक गर्न आजपाको माग

इकागज |
पुस ११, २०८० बुधबार १७:२४ बजे

काठमाडौँ- आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले भन्सारबाट लिने गरेको ४५ प्रतिशत पुरस्कारको सूची सार्वजनिक गर्न माग गरेको छ ।

विभिन्न माग गर्दै आम सम्पर्क मञ्चले सुरु गरेको दोस्रो चरणको आन्दोलन अन्तर्गत आज ११ औं दिन पनि काठमाडौँ त्रिपुरेश्वरस्थित भन्सार विभागमा धर्ना तथा घेराउ गरेको छ ।


आम सम्पर्क मञ्चले 'भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी व्यवस्था खारेजी’ गर्नुपर्ने लगायतका माग गर्दै भन्सार विभागमा धर्ना तथा घेराउ गर्दै आएको छ ।  

आन्दोलनमा सहभागी आजपा उपाध्यक्ष तिलक थापाले भन्सारबाट लिने गरेको ४५ प्रतिशत पुरस्कारको सूची सार्वजनिक गर्नुपर्ने बताए । ‘पुरस्कारको रकम कति कसको नाममा कहिले गएको हो ? यो आम जनताले जान्न जरुरी छ । यो ४५ प्रतिशत पुरस्कारको व्यवस्था खुलेआम लुट हो किनकि यो पैसा गुपचुप सिधै मन्त्रीको खातामा पुग्छन् । यसलाई रोक्न सर्वप्रथम हाम्रो माग सम्बोधन गर्नुपर्छ,’ उपाध्यक्ष थापाले भने ।

यसअघि आन्दोलनमा सहभागीहरूले ‘चोर मन्त्री कुर्सी छोड’ जस्ता नारा लगाउँदै भन्सार विभागमा धर्ना तथा घेराउ गर्दै अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा समेत माग गरेका छन् ।  

आजपाको आह्वानमा सुरु भएको आन्दोलन झण्डै चार महिना पुगी सक्दा समेत सरकारले कुनै सुनुवाइ नगरेकाले आन्दोलनकारीहरू ‘चोर मन्त्री कुर्सी छोड, राजस्व लुट्न पाइँदैन, भन्सार तिम्रो बैटैया हैन, हाम्रो माग पूरा गर’ जस्ता नारा लगाएका छन् ।  

आजपा केन्द्रीय सदस्य एवं भन्सार कानुन सुधार संघर्ष समितिका संयोजक रन्जुकुमारी साहले आफूहरूको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएकी छन् । आफूहरूको शान्तिपूर्ण आन्दोलन निरन्तर जारी रहने उनले बताइन् ।


Author

थप समाचार
x