दल

चन्द, थापा र लोहनी एउटै मञ्चमा, राष्ट्रवादी शक्ति एकै ठाउँमा आउनुपर्नेमा जोड

इकागज |
पुस १४, २०८० शनिबार २२:१ बजे

काठमाडौँ- स्वर्गीय राजा वीरेन्द्रको ७९ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द,राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा निर्देशन समितिका अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले एउटै मञ्चमा उभिएर राजा वीरेन्द्रको स्मरण गरेका छन् ।

उनीहरूले देश विकास र प्रजातन्त्र सुदृढीकरणका लागि चालिएका कदमबारे चर्चासमेत गरेका छन् ।


राप्रपा नेपालद्वारा आज काठमाडौँमा आयोजित ‘स्व. वीरेन्द्रः एक बहुआयामिक व्यक्तित्व’ विषयक विचार गोष्ठीमा सहभागीले सन्तुलित कूटनीतिक माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छवि प्रवर्द्धनमा उनको भूमिका महत्वपूर्ण रहेको चर्चा गरेका छन्  ।

विस २००२ मा जन्मिएका राजा वीरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटी राजदरबारमा भएको घटनामा उनीसहित परिवारको वंशनाश भएको थियो । नेपालको शाह वंशीय  इतिहासमा उक्त घटनालाई रहस्यपूर्ण घटनाका रूपमा हेरिँदै आएको छ ।

कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र विकासको दृष्टिकोणबाट हेर्दा स्वर्गीय राजा वीरेन्द्रको भूमिका र योगदान अतुलनीय रहेको विचार व्यक्त गरे । राष्ट्रिय स्वाभिमानलाई केन्द्रमा राख्ने राजा वीरेन्द्र भएको भन्दै देश भित्रका शक्तिबीचको एकतामा राजा वीरेन्द्रले विशेष जोड दिने गरेको बताए । 

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालको राजनीतिक इतिहासमा मुलुकको आधुनिकीकरण र प्रजातन्त्रको जगलाई बलियो बनाउन राजा वीरेन्द्रबाट महत्वपूर्ण योगदान भएको बताए ।

अध्यक्ष थापाले भने, 'राष्ट्रवादी, विकासप्रेमी र लोकप्रिय राजा वीरेन्द्रबाट अन्तर्राष्ट्रिय समुदायमा नेपालको प्रतिष्ठा अभिवृद्धि गर्न अतुलनीय योगदान भएको छ । पूर्वपश्चिम राजमार्गको पूर्णता, औद्योगिक विकास, अर्थतन्त्र सुदृढीकरण र जिल्ला सदरमुकाममा सडक जोड्ने उहाँको सोच र कार्य महत्वपूर्ण छ ।'

राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्देशन समितिका अध्यक्ष एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले देश विकास र सन्तुलित परराष्ट्र नीतिका लागि राजा वीरेन्द्रले देखाएको बाटो अध्ययन गर्न सरकार र राजनीतिक शक्तिलाई सुझाव दिए । लोहनीले भने, 'राजा वीरेन्द्रले मुलुक सानो छ भन्ने मनोभावना कहिलै नबोक्न र विदेशीसँग हुने भेटवार्ता तथा छलफलमा राष्ट्रिय स्वार्थलाई निर्धक्क अघि राख्न निर्देशन हुन्थ्यो । आज त्यो कुराको कमी देखिन्छ ।' 

कार्यक्रमका राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष रत्नशमसेर राणा र परराष्ट्रविद डाक्टर निश्चलनाथ पाण्डेले इतिहासको अध्ययन नगरी वर्तमानबारे बुझ्न नसकिने हुँदा राजा वीरेन्द्रबाट भएका कतिपय महत्वपूर्ण योगदानबारे आमनेपाली जनताले जान्न र थाहा पाउन जरुरी रहेको बताए ।

सहभागीहरूले राजा वीरेन्द्रले अमेरिका, रुस, चीन र भारतलाई सन्तुलित कूटनीतिकका माध्यमबाट मिलाएर देश विकास र अन्तर्राष्ट्रिय क्षेत्रमा छवि उझिल्याउन ठूलो योगदान भएको चर्चा गर्दै औद्योगिक विकासका माध्यमबाट देशलाई आर्थिक समृद्धिमा पुर्‍याउने सोच देशहितको पक्षमा रहेको समेत टिप्पणी गरे।

राप्रपा नेपालद्वारा आयोजित कार्यक्रममा राप्रपाका नेताद्वय चन्द र लोहनीको उपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ भने । कार्यक्रममा लोहनीले राष्ट्रवादी शक्तिहरू अझ विशेष राप्रपाहरू एकै ठाउँमा बस्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका दिएका छन् ।

प्रत्युत्तरमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश, बिचार र समृद्धिको लागि राष्ट्रवादी शक्ति एकै ठाउँमा हुनुपर्ने आवश्यकता औंल्याउँदै कमी कमजोरीलाई सबैले सुधारेर फराकिलो भई अघि बढ्नु पर्ने आवश्यकता औंल्याए ।


Author

थप समाचार
x