दल

गठबन्धनको राजनीति सत्तादेखि सत्तासम्म मात्रै हो : केपी ओली

इकागज |
माघ २०, २०८० शनिबार १४:५२ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको ध्यान सत्ता टिकाउनेमा मात्रै केन्द्रित रहेको बताएका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा शनिबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले देश र जनताका लागि केही गर्न नसकेको र गठबन्धनको ध्यान सत्ता टिकाउनेमा मात्रै केन्द्रित रहेको बताएका हुन् । गठबन्धनको राजनीति सत्तादेखि सत्तासम्म मात्रै भएको उनको भनाइ छ ।


अध्यक्ष ओलीले सरकारले नै भ्रष्टाचारलाई प्रश्रय दिइरहेको आरोप पनि लगाए । ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाउँदै रामग्राम परियोजना निजी कम्पनीलाई दिँदा ठूलो भ्रष्टाचार भएको उनले बताए ।

ओलीले जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीलाई हिरासतमा नभइ अस्पतालमा राखिएको भन्दै आपत्ति जनाए ।

एमाले नेतृत्वमा तस्करीमा छानबिन गरेर जेल हालेकालाई पनि अहिले सरकारले छुटाइरहेको उनको भनाइ छ । उनले दिगो विकास लक्ष्य भेट्न अघि बढिरहेका बेला रेमिटेन्समा सरकारको ध्यान रहेको तर्क गरे ।

अध्यक्ष ओलीले सरकारलाई सत्ताको दुरुपयोग गर्न नदिन एमाले सांसदहरूको भूमिका प्रभावकारी हुनुपर्ने धारणा राखे । संसदीय बैठक दुई दिनसम्म चल्ने एमालेले जनाएको छ । 


Author

थप समाचार
x