दल

उपनिर्वाचन, इलाम-२

इलामको मैदानमा पत्रकार, विरासत र पहिचानको लडाइँ

कांग्रेस र माओवादीलाई लडाकु तयार पार्न सकस

दुर्गा आचार्य |
चैत २०, २०८० मंगलबार १७:५ बजे

काठमाडौँ- इलाम २ बाट निर्वाचित सांसद सुवास नेम्वाङको गत भदौ २६ गते मृत्यु भयो । भदौदेखि उक्त क्षेत्र प्रतिनिधि सभा सदस्य विमुख छ । उनको मृत्यु भएपछि रिक्त रहेको स्थानमा निर्वाचन आयोगले  वैशाख १५ गते उपनिर्वाचन गर्ने निर्णय गर्यो । इलाम २ मा यतिखेर चुनावी सरगर्मी बढ्दो छ । 

मौसम बद्लिँदो छ । बिस्तारै तापक्रम बढ्दै गइरहेको छ । बदलिएको मौसमले भन्दा पनि चुनावको माहोलले उक्त क्षेत्रलाई अहिले तताएको छ । चुनावको माहोलले चिसिएको इलामलाई तताउँदै लगेको छ । 


केही राजनीतिक दलबाहेक अन्य दलले आफ्नो उम्मेदवार टुंगो लगाइसकेका छन् । केही दल भने प्रचारप्रसारमासमेत लागिसकेका छन् । राजनीतिक दलका उम्मेदवारहरू चुनावी घरदैलोमा हाेमिएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा), नेकपा एमालेका उम्मेदवारहरू प्रचारप्रसारमा लागिसकेका छन् । उपनिर्वाचनका निम्ति यही चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ता गराइँदैछ ।

इलामको उपनिर्वाचनका निम्ति नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उम्मेदवारको टुंगो लगाइसकेका छन् । तर, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले अझै उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ । पत्रकारिकताबाट राजनीतिमा होमिएका लिम्बुलाई पार्टीले उम्मेदवार बनाएपछि चर्चा छ । रास्वापामा उम्मेदवार बन्नका लागि ६ जनाले दरखास्त हालेका थिए । अन्तिममा उनी रास्वापाकाे राेजाइमा परे । लिम्बू इलामका सोही क्षेत्रका स्थानीय हुन् । 

लिम्बू पूर्व पत्रकार हुन् । लिम्बूले दृष्टि साप्ताहिकमा सम्पादक भएर काम गरिसकेका छन् । उनले एबीसी टेलिभिजन, न्यूज २४ लगायत केही टेलिभिजनमा समाचारवाचकको रुपमा पनि काम गरेका थिए ।

उनी नेकपा माओवादी केन्द्रनिकट पत्रकार संगठन प्रेस सेन्टरमा आबद्ध थिए । केही दिन अघि पार्टी परित्याग गर्दै इलाम– २ का लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै निर्वाचन क्षेत्रमा अभियानसमेत थालेका उनलाई रास्वापाले आफ्नो उम्मेदवार बनाएको हो । चुनावी घरदैलाेमा उनले आफू इलामकाे अकबरे उम्मेदवार भएको बताउने गरेका छन् ।

नेकपा एमालेले स्वर्गीय नेता सुवास नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ । इलाम एमालेले चैत ५ मा सुहाङसहित ६ जनाको नाम केन्द्रमा उम्मेदवारका लागि सिफारिस गरेको थियो । केन्द्रीय सचिवालयको ३० औं बैठकले सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

३२ वर्षे सुहाङ कानुन व्यवसायी हुन् । उनी पार्टीको केन्द्रीय कानुन विभाग सदस्य पनि हुन् । बुबाको निधन पछि सुहाङ राजनीतिमा हाम फालेका थिए । उनी निर्वाचन जितेर बुबाको विरासत फर्काउने ध्याउन्नमा छन् । इलामकाे सेवा गर्न  निर्वाचनमा हाेमिएकाे सुहाङले घरदैलाे कार्यक्रममा बताउने गरेका छन् । 

नेकपा एकीकृत समाजवादीले जितबहादुर राईलाई उम्मेदवार बनाएको छ । राई इलामकै माइजोगमाई गाउँपालिकाको निवर्तमान अध्यक्ष हुन् । उनी समाजवादीका जिल्ला सचिवालय सदस्य समेत हुन् । 

कोशी प्रदेशको नाम सच्याउन माग गर्दै आन्दोलनरत पहिचान पक्षधरले ६८ वर्षे डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाएकाे छ । विभिन्न ४१ संस्थाले उनलाई साझा उम्मेदवार बनाएका छन् ।

किराँत याक्थुङ चुम्लुङ र किराँत राई यायोक्खासहितका संस्थालेसमेत उनलाई समर्थन गरेका छन् । थेगिम कोशी प्रदेशको नाम पहिचानका आधारमा राख्न माग गर्दै आन्दोलनरत अभियानका अध्यक्ष पनि हुन् । एमालेमा आबद्ध उनले उम्मेदवार भन्ने भएपछि केही दिनअघि एमाले त्यागेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले इलाम क्षेत्र नं २ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाएकाे छ । उपनिर्वाचनमा गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

यता, जनमत पार्टीले इलाम—२ को उपनिर्वाचनमा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाएको छ । थाम्सुहाङ पछिल्लो समय कोशी प्रदेश नाम खारेजी अभियानमा सक्रिय थिए । विगतमा उनी मधेस केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टीमा पनि आबद्ध थिए ।

यता, सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादीले इलाममा छुट्टै उम्मेदवार दिने बताएको छ । माओवादीबाट नेता धिरेन्द्र शर्मा (रमन)को नाम चर्चामा छ । उनी पूर्व प्रदेशसभा सदस्यसमेत हुन् । 

तर, उम्मेदवारबारे टुंगो नै भने लागिनसकेकाे माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव प्रसाद सापकाेटाले जानकारी दिए । 'इलाम र बझाङकाे उम्मेदवारबारे सत्ताधारी दलबीच छलफल भइरहेकाे छ', उनले भने, 'इलाममा एमालेलाई सहयाेग गरेर बझाङमा  माओवादीले लिने कुरा पनि भइरहेकाे छ ।' बझाङमा समाजवादीकाे पनि दाबी रहेकाले कुरा टुंगाेमा पुग्न नसकेकाे उनले बताए । 

अन्य पार्टीले प्रचारप्रसार थाल्दासमेत नेपाली काँग्रेसले अझै उम्मेदवार टुंगाे लगाउन सकेकाे छैन । काँग्रेस कोशी प्रदेशले सात जनाको नाम केन्द्रमा पठाएको छ । भेषराज आचार्य, पूर्वसांसद केशव थापा, जिल्ला सभापति डम्बर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम केन्द्रमा पठाएको छ । जसमध्ये आचार्य र अर्यालको नाम चर्चामा छ । आज काँग्रेस कार्यसम्पादन समितिकाे बैठक बसेर उम्मेदवार टुंगाे लगाउने भने पनि अहिलेसम्म बैठक बस्न सकेकाे छैन । 

 २०७९ को निर्वाचनमा कसले कति मत पाएका थिए ?

 २०७९ को निर्वाचनमा प्रत्यक्षतर्फ सुवास नेम्वाङ्गले ३० हजार २० मत ल्याएका थिए । गठबन्धनबाट चुनाव लडेका कांग्रेसका डम्बर खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए । नेम्वाङले ११४ मतान्तरले चुनाव जितेका थिए ।​​​ रास्वपाबाट चुनाव लडेका प्रकाश सापकोटाले एक हजार ३८० मत ल्याएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।

२०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ नेपाली कांग्रेसले २२ हजार ३ सय ३३, नेकपा एमालेले २६ हजार ५ सय ६२, माओवादी केन्द्रले पाँच हजार १ सय ५३, जनता समाजवादीले ९ सय ६, एकीकृत समाजवादीले ५ सय ८६ र स्वतन्त्र पार्टीले ४ हजार ६ सय ८६ मत प्राप्त गरेकाे आयाेगले जनाएकाे छ । 


Author

थप समाचार
x