दल

पूर्वमन्त्री गुरूङको निधनप्रति कांग्रेसद्वारा दु:ख व्यक्त

इकागज |
बैशाख २७, २०८१ बिहीबार १३:३९ बजे

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य, संविधान सभा सदस्य एवं पूर्व मन्त्री सूर्यमान गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । आज आकस्मिक बसेको केन्द्रीय कार्यसमिति बैठकले दुःख व्यक्त गरेको हो ।

गुरुङको बैशाख २५ गते बिहान १०:३० बजे काठमाडौँ ज्ञानेश्वरस्थित हिमाल अस्पतालमा उपचारका क्रममा भएको निधन भएको थियो । वि.सं. २०१४ को भद्र अवज्ञा आन्दोलनमा सहभागी भई नेपाली कांग्रेसको राजनीतिक यात्रा प्रारम्भ गरेका गुरुङलाई वि.सं. २०१७ मा प्रजातन्त्र अपदस्थपछि तत्कालीन व्यवस्थाले पक्राउ वारेण्ट जारी गरेको थियो ।


त्यसपछि उनी भारतको दार्जलिङ निर्वासित भई सशस्त्र कांग्रेसमा सक्रिय रहेको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

'वि.सं. २०१८ फागुन २२ गते च्याङथापुमा श्रीजंग गुल्ममा आक्रमण गरी कब्जा गर्दाको समयमा र वि.सं. २०१८ चैत्र १७ गते ताप्लेजुङ अदालत, प्रहरी कार्यालय र जेल कब्जा गरी कैदीहरुलाई मुक्त गरेको अभियोगमा उहाँलाई ट्रिबुनलले जन्म कैदको फैसला गरेको थियो' जारी विज्ञप्तिमा भनिएको छ 'लोकतन्त्र स्थापनाका लागि गरिएका संघर्षका क्रममा स्वर्गीय गुरुङले पटक-पटक जेल जीवन, भारत निर्वासन, नजरबन्द, सम्पत्ति रोक्का जस्ता विविध व्यवधानहरु बेहोर्नु भएको थियो ।'

कांग्रेस ताप्लेजुङको पटक–पटक जिल्ला सभापति, नेपाल आदिवासी जनजाति संघका पूर्व केन्द्रीय सभापति, नेपाल किसान संघका पूर्व केन्द्रीय महासचिव, नेपाली कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिको पूर्व सदस्य जस्ता विभिन्न पदीय जिम्मेवारीमा रहेर उनले कुशलतापूर्वक निभाएका थिए ।   

वि.सं. १९९८ बैशाख १० गते पिता भगीमान गुरुङ र माता मनमाया गुरुङको सुपुत्रका रुपमा जन्मिएका गुरुङले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको जारी विज्ञप्तिमा भनिएको छ । 


Author

थप समाचार
x