राजनीति

हेटौंडाको पहिलो महिला मेयर बन्दै मीना

प्रत्यासी पौडेलले दिए सुन्दर हेटौंडा बनाउन शुभकामना

सरिता दाहाल |
जेठ ६, २०७९ शुक्रबार १६:३८ बजे

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले पहिलो महिला मेयरको रूपमा मीना लामालाई पाउँदैछ । संघीयता कार्यान्वयनपछिको दोस्रो स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उनले सत्ताधारी गठबन्धनको तर्फबाट हेटौंडाको मेयर जित्ने निश्चित भएकाे हाे ।

बागमती प्रदेशको राजधानी रहेको एकमात्र हेटौंडा उपमहानगरपालिकाको पहिलो नगर प्रमुख महिला बन्दै गर्दा लामाले महिला शक्तिमाथिको विश्वासलाई व्यवहारमा देखाउने बताइन् । "जितबाट हौसिएर हैन, संयमित भएर नगरवासीको हितमा काम गर्नेछु" उनले भनिन् ।


उनको मतान्तर एमालेबाट मेयरका उम्मेदवार अनन्त पौडेलसँग २ हजारभन्दा बढी भएपछि प्रत्यासी पौडेलले र एमालेबाट उपमेयरको उम्मेदवार सुमित्रा काफ्लेले लामा र गठबन्धनबाट उपमेयरका उम्मेदवार राजेश बानियाँलाई बधाई दिए । लामा र बानियाँलाई मत गणना स्थलमै आएर सुन्दर र नमुना हेटौंडा बनाउन भन्दै बधाई दिएका थिए ।

लामो समय एमालेको लालकिल्ला रहेको हेटौंडा उपमहानगरपालिका सत्तारुढ पाँच दलीय गठबन्धनको उम्मेदवार रहेकी मीनाकुमारी लामालाई जित हासिल गर्न कठिन हरेको आँकलन गरिएकाे थियाे । तर मतगणना अन्तिम चरणमा आइपुग्दासम्म उनको जित निश्चित भएको छ । मतगणनाको अन्तिम नतिजा आएको छैन, यद्यपि मत गणनाका क्रममा लामालाई आएको मतको अवस्थालाई र उनको अग्रतालाई हेर्दा हेटौंडावासीले पहिलो महिला नगर प्रमुख पाउने पक्का पक्की देखिएको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरको उपप्रमुखको रुपमा भारी मतले विजयी भएकी थिइन् । नेकपा एमालेको विभाजन पछि नेकपा एकीकृत समाजवादीमा रहेकी उनले गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी छिन् । हालसम्मको मतगणनालाई हेर्दा उनका प्रतिस्पर्धी रहेका एमालेका अनन्‍त प्रसाद पौडेल र राप्रपाका दिपक बहादुर सिंहले कमव्याक गर्ने सम्भावना कम रहेको देखिन्छ ।

सुरुवाती मतगणनामा पौडेल अगाडि भए त कहिले सिंहको अनेपेक्षित मतले हेटौंडाको चुनावी माहोल ततायो । एमालेको लालकिल्ला मानिएको नगरका वडाहरुका अपेक्षित मत पौडेललाई आउन सकेन । अघिल्लो कार्यकालमा उपप्रमुख भएर काम गरेकी लामालाई नगर प्रमुख भएर इतिहास रच्ने र हेटौंडाको मुहार फेर्ने अवसर प्राप्त भएको छ । गठबन्धनबाट नगरप्रमुख भएमा लामालाई काम गर्न भने त्यति सहज देखिन्न् । पाँच दलीय गठबन्धनको स्वार्थ अनुरुप नगरको काम गर्न पर्ने उनमा बाध्यता रहन सक्छ ।


Author

थप समाचार
x