राजनीति

बहुमत हुँदाहुँदै पनि त्रियुगाको कार्यपालिका सदस्य निर्वाचनमा कांग्रेस पराजित

इकागज |
जेठ २८, २०७९ शनिबार २१:४७ बजे

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिकामा बहुमत भएपनि शनिबार भएको कार्यपालिका सदस्यको निर्वाचनमा कांग्रेसले एकजना मात्रै सदस्य जितेको छ । कार्यपालिकाको आठ सदस्यका लागि शनिबार भएको निर्वाचनमा एमाले–माअ‍ेवादी केन्द्रका सात जना निर्वाचित भएका छन् ।

८२ सदस्यीय नगरसभामा मेयर र ९ वडाध्यक्षसहित ४२ जना जित्दै कांग्रेसले बहुमत कायम गरेको थियो । तर कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा आफ्नै जनप्रतिनिधिबाट अन्तरघात भएपछि कांग्रेसले सात सदस्य गुमाएको हो । गत स्थानीय तह निर्वाचनमा त्रियुगा नगरपालिकामा कांग्रेस र एमाले एक्लाएक्लै लडेका थिए । कांग्रेसले गठबन्धन गर्न नमानेको भन्दै माओवादी केन्द्र र नेकपा एसले गठबन्धन गरेका थिए ।


कार्यपालिका सदस्य निर्वाचनमा पनि कांग्रेस एक्लै अघि बढेको भन्दै रुष्ट बनेको माओवादी केन्द्रले एमालेसँग गठबन्धन गरेको हो । कार्यपालिकाको पाँच महिला सदस्यमा एमालेले तीन र माओवादीबाट दुईजनाको उम्मेदवारी दर्ता भएको थियो । शनिबार भएको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई हराउँदै एमाले–माओवादी गठबन्धनका पाँचै जना महिला निर्वाचित भएका हुन् ।

कार्यपालिकाको महिला सदस्यहरुमा एमालेकी रेणुका श्रेष्ठ, सुनिता गजमेर र गीताकुमारी उप्रेती तथा माओवादी केन्द्रकी कुन्ति परियार र रेखा थापा मगर निर्वाचित भएको सहायक निर्वाचन अधिकृत दिलिप मगरले जानकारी दिए । महिला सदस्यमा एमाले–माओवादीका पाँचैजनाले ४१-४१ मत प्राप्त गरे । कांग्रेसका पाँचैजना महिला सदस्यका उम्मेदवारहरु भने एक÷एक मतले पराजित भएका हुन् । कार्यपालिकाको दलित अल्पसंख्यक सदस्यतर्फ एमालेकै डिल्लीसेर राईले ४२ मत र माओवादीका विमल राईले ४२ मत पाएर निर्वाचित भएका हुन् । माओवादीबाट दलित अल्पसंख्यक सदस्यकै उम्मेदवार रहेका प्रल्हाद विश्वकर्मा र कांग्रेसका बलदेव विश्वकर्माले ४१÷४१ मत पाएपछि बराबर भएको थियो । गोलाप्रथाबाट कांग्रेसका बलदेव विश्वकर्मा निर्वाचित भए ।

स्पष्ट बहुमत हुँदाहुँदै कार्यपालिकामा कांग्रेसका उम्मेदवार पराजित भएसँगै त्रियुगाका मेयर बसन्त बस्नेत कार्यपालिकामा अल्पमतमा परेका छन् । २६ सदस्यीय कार्यपालिकामा कांग्रेस ११ सिटमा सिमित बनेको हो । कार्यपालिकामा उपमेयरसहित ५ सिट रहेको एमालेको अब ९ सिट पुगेको छ । त्यस्तै माओवादी केन्द्र तीन सिटबाट कार्यपालिका सदस्य निर्वाचनको परिणामपछि ६ सिट पुगेको छ ।

स्थानीय तह निर्वाचनदेखि कार्यपालिका निर्वाचनसम्म नै कांग्रेसले गठबन्धन गर्न नमानेका कारण माओवादी केन्द्र अब एमालेसँग नजिक बनेको छ । परिणामस्वरुप कार्यपालिकामा पनि एमाले–माओवादी केन्द्रबीचको गठबन्धन नै कायम रहने अवस्था सिर्जना हुँदा कांग्रेस अल्पमतमा पर्ने निश्चित भएको हो ।


Author

थप समाचार
x