राजनीति

प्रदेश १ मा १२ प्रतिनिधि सभा क्षेत्रको परिणाम बाँकी

बाबुराम भण्डारी |
मंसिर ९, २०७९ शुक्रबार १७:२ बजे

विराटनगर- प्रदेश १ का १४ जिल्लाका २८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र मध्ये अझै १२ वटा निर्वाचन क्षेत्रको परिणाम आउन बाँकी रहेको जनाइएको छ ।

निर्वाचन आयोगका अनुसार मोरङको १, २ र ३, उदयपुर १, तेह्रथुम, संखुवासभा, इलाम १ र २, सुनसरीको १, २, ३ र ४ नम्बर निर्वाचन क्षेत्रको मत गणना जारी छ ।जसमध्ये कांग्रेस संखुवासभा, उदयपुर १ र मोरङ ३ मा अगाडि छ भने नेकपा एमाले मोरङको १ र २, इलाम १ र २, सुनसरीको २, ३ र ४ मा जिततर्फ उन्मुख रहेको जनाइएको छ ।


प्रतिनिधिसभामा प्रदेश १ बाट शुक्रबार अपरान्हसम्म नेपाली कांग्रेसले झापा १, मोरङ ६, ओखलढुंगा गरी तीनवटा निर्वाचन क्षेत्रमा जित दर्ता गराइसकेको छ । त्यसैगरी नेकपा एमालेले ताप्लेजुङ, झापा २, ४ र ५, धनकुटा, सोलुखुम्बु, उदयपुर २ र पाँचथर गरी ८ वटा प्रतिनिधिसभा क्षेत्र जितिसकेको छ ।

नेकपा माओवादी केन्द्रले मोरङ ४, भोजपुर र खोटाङ जितेको छ । सत्ता गठबन्धनमा भएको सिट बाँडफाँट अनुसार प्रदेश १ का तीन सिट पाएको नेकपा (एकीकृत समाजवादी) ले भने उदयपुर २ मा पराजय चाखिसकेको छ भने इलामको १ र २ मा पनि पछि परेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सुनसरी १ मा अग्रता कायम गरिरहेको छ । राप्रपाले झापा ३ मा जित दर्ता गरेको छ । त्यस्तै एमालेसँगको तालमेलमा प्रतिनिधिसभातर्फ प्रदेश १ मा दुई सिट पाएको जनता समाजवादी पार्टी पनि जित निकाल्न नसक्दा निरास देखिएको छ । मोरङ ५ मा स्वतन्त्र उम्मेदवारसँग तेस्रो बनेको जसपा सुनसरी १ मा पनि दोस्रो स्थानबाट माथि उक्लिन सकेको छैन ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x