राजनीति

काभ्रेका दोङ र बास्कोटा : दोस्रोपटक संसद‍्‍मा ‘इन्ट्री’

इकागज |
मंसिर १०, २०७९ शनिबार २२:३ बजे

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सूर्यमान दोङ (लालध्वज) विजयी भए । आज बिहान सम्पन्न मतगणनाअनुसार उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का रेशम लामालाई तीन हजार नौ सय १६ मतान्तरले पछि पार्दै जित हासिल गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दोङले ३२ हजार आठ सय ६४ मत ल्याई विजयी भए भने लामाले २८ हजार आठ सय ४८ मत प्राप्त गरेका छन् । यस जितपछि दोङलाई दोस्रोपटक संसदीय यात्रामा प्रवेशको बाटो खुलेको छ । दोङ विसं २०६४ मा सम्पन्न पहिलो संविधानसभा सदस्य निर्वाचनमा २८ हजार आठ सय मत ल्याई विजयी भएका थिए । उनले तत्कालीन माओवादीका केन्द्रीय नेता डा बाबुराम भट्टराईपछिको लोकप्रिय मत प्राप्त गरेका थिए । विसं २०६८ मा ऊर्जा राज्यमन्त्री बनेका दोङले ऊर्जा क्षेत्रमा उल्लेख्य काम गरेको बताइन्छ ।


तेमाल गाउँपालिका–९ मुक्पामा विसं २०२७ वैशाखमा जन्मिएका दोङ विसं २०४४ मा नेकपा (मशाल) अर्थात् ‘मोटो मशाल’ (पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको) पार्टीको सम्पर्कमा पुगेका थिए । लगत्तै उक्त पार्टीको ‘सेल कमिटी’को सदस्य बनि पञ्चायतविरोधी आन्दोलनमासमेत सहभागिता जनाएका दोङले विसं २०४६ पछि नेकपा (मशाल), सर्वहारावादी श्रमिक सङ्गठन र नेकपा (चौम)बीच पार्टी एकता भई नेकपा (एकता केन्द्र) निर्माण भएपछि २०४८ मा नेकपा (एकता केन्द्र)को तेमाल इलाका कमिटी सदस्य भए । विसं २०४९ मा सम्पन्न जनवादी युवा लिग जिल्ला भेलाबाट जिल्ला सदस्यमा निर्वाचित दोङ २०५० मा अखिल नेपाल थाङ्का कला मजदुर सङ्गठनको केन्द्रीय सदस्य बने ।

विसं २०५१ मा पार्टी विभाजनपछि नेकपा (माओवादी)को पूर्वाञ्चल ब्यूरोको कार्यालय स्टाफ भएर काम गर्दागर्दै दोङ पार्टीले ‘सशस्त्र जनयुद्ध’ गर्ने रणनीति लिएपछि २०५२ फागुन १ गतेदेखि ‘जनयुद्ध’को पहिलो मोर्चामा सहभागी हुँदै विभिन्न स्थानमा गरिएका गतिविधिमा अग्रमोर्चामा लागकेा थिए । उनले मुख्यतः काभ्रेपलाञ्चोकको तेमाल, महाभारत, खानीखोला र ललितपुरको दक्षिणी इलाकामा पार्टी र आन्दोलनलाई स्थापित गर्ने काममा गरे ।
 
कठोरपूर्ण ‘भूमिगत अवस्था’मा समेत पार्टीको सङ्गठन निर्माण, विस्तार र सुदृढीकरणमा लागेका दोङ २०५५ मा इलाका सेक्रेटरीको भूमिकामा रहेर कुशल नेतृत्व गरेका थिए । विसं २०५७ मा उपक्षेत्रीय ब्यूरो सदस्य, २०५८ मा क्षेत्रीय ब्यूरो सदस्य, २०५८ मा जिल्ला सेक्रेटरीको समेत जिम्मेवारी सम्हालेका थिए । तत्कालीन जनमुक्ति सेनाको कम्पनी कमिसार, बटालियन कमिसार हुँदै २०५९ मा रामेछाप, सिन्धुली र काभ्रेपलाञ्चोकको जनमुक्ति सेना नेपालको रेजिनल कमाण्डको कमिसारको भूमिकासमेत उनले निर्वाह गरेका थिए ।
 
विसं २०६३ मा पार्टीको केन्द्रीय सदस्य भई निरन्तर केन्द्रीय सदस्य हुँदै पोलिटब्यूरो सदस्यको जिम्मेवारीमा रहेका दोङ काभ्रेपलाञ्चोकको इन्चार्जसमेत हुन् । 

यस्तै काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का गोकुलप्रसाद बास्कोटा आफ्नो मुख्य प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईँसँग पाँच हजार आठ सय ६३ मतान्तरले विजयी भए । बास्कोटाले ४५ हजार तीन सय ४५ मत प्राप्त गरेका छन् भने हुमागाईँले ३९ हजार चार सय ८२ मत प्राप्त गरेका हुन् । पूर्वमन्त्रीसमेत रहेका बास्कोटा यसपटकको निर्वाचनबाट दोस्रोपटक संसदीय यात्रामा छन् ।

बास्कोटा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा ५४ हजार चार सय २७ मत (तकालीन निर्वाचनमा नेपालमै दोस्रो भारी मत) प्राप्त गरी विजयी भएका थिए । विसं ०७४ चैतदेखि २०७६ फागुनसम्म सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका बास्कोटाले केही समय सहरी विकासमन्त्रीको रूपमा पनि कार्यभार सम्हालेका थिए ।

विसं २०२३ मा मण्डन देउपुर नगरपालिका–४ मा जन्मिनुभएका बास्कोटाले स्थानीय डेडीथुम्का उच्च माविबाट (एसएलसी), काठमाडौँको रत्नराज्य बहुमुखी क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह तथा रत्नराज्य क्याम्पसबाटै कला र साहित्यमा स्नातक उत्तीर्ण गरेका छन् ।

विसं २०३८ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)मा आवद्ध भई राजनीतिक यात्रा सुरु गरेका बास्कोटा विसं २०४३ मा अनेरास्ववियुको जिल्ला सचिव र २०४५ मा जिल्ला अध्यक्ष निर्वाचित भएका थिए । विसं २०४५ मै युवासङ्घको सदस्य बनेका बास्कोटा २०४७ देखि २०५० तथा २०५४ देखि २०५८ सम्म एमाले काभ्रेपलाञ्चोकको जिल्ला कमिटी सदस्य रहे ।

यस्तै विसं २०५३ देखि २०५९ सम्म काभ्रे–काठमाडौँ सम्पर्क मञ्च जिल्ला कमिटीको सचिव बनेका उनी २०५९ देखि २०६३ सम्म एमाले जिल्ला कमिटीको सहसचिव तथा २०६४ देखि २०६६ सम्म जिल्ला कमिटीको सचिव हुँदै २०६७ देखि २०७१ सम्म दुई कार्यकाल एमाले जिल्ला कमिटीको अध्यक्ष बने । बास्कोटा यसअघि एमाले केन्द्रीय सदस्य रहँदै हाल पोलिटब्यूरो सदस्य छन् ।

पत्रकारिता क्षेत्रमासमेत स्थापित बास्कोटा प्रेस चौतारी नेपालको संस्थापकसमेत हुन् । आन्दोलन र राजनीतिक सक्रियताका कारण उनीपटक–पटक पक्राउसमेत परे ।


Author

थप समाचार
x